
मोटरबाटोबाट ठ्याक्कै तल रहेको सानो एकतले घर । बाटोबाट आँगन झरेपछि देखिने दुई कोठा । आँगन छेउमा गुन्द्री ओछ्याएर बसिरहेका वृद्धवृद्धा । यिनै हुन्, बुढेसकालमा एकअर्काका सहारा । बुढ्यौलीमा आफ्नै ज्यानले साथ नदिने जानेर केही रकम जोहो गरेका थिए, भीमप्रसाद चपाईँले । ज्यानले सकुञ्जेल जोगाएको पैसा धेरथोर गरेर सहकारीमा बचत गरे । तर, बुढेसकाललाई साँचेको त्यो पैसा बालुवामा पानीसरह भयो । विश्वास गरेर बचत गरेको सूर्यदर्शन सहकारीका सञ्चालक रकम हिनामिना गरेर फरार छन् ।
साढे तीन वर्षअघि सहकारीका कर्मचारी पोखरा बजारबाट आधा घण्टा माथि उक्लिएर सराङकोट पुगे । भीमप्रसादलाई विश्वास दिलाए । ब्याजको लोभ देखाए । त्यसपछि हो भीमप्रसादले सहकारीमा रकम जम्मा गर्न थालेको । जग्गा बेचेर कृषि विकास बैंकमा राखेको पैसा पनि सहकारीमा नै ल्याए । त्यहाँ उनको ब्याजसहित २० लाख फसेको छ ।

पहिले सानोतिनो सरकारी जागिर थियो । पढाइ साक्षरता । आम्दानी थोरै । घर चलाउन गाह्रो । स्थायी जागिर छाडेर गैरसरकारी संस्थामा काम गरे । आम्दानी राम्रै हुन थाल्यो । घरपरिवार सम्हालेर राख्न उस्तै मुश्किल थियो । त्यताबाट पनि राजीनामा दिए । माथि गाउँ नै उक्लिए । खेतीपाती गर्न थाले । परिवार सँगै थिए । आफ्नै गाउँघरमा जीवन गुजारा भएकै थियो । आफ्नो नाममा जग्गा थियो । पामेमाथि र सराङकोटमा गरी दुई ठाउँको जग्गा बेचे । बैंकमा पैसा राखे । ब्याज आउँथ्यो । बुढाबुढीलाई आइपर्दा टर्थ्यो । दैनिकी कृषिले धानेको थियो । कृषि विकास बैंकमा ब्याज १० प्रतिशत थियो । सहकारीले १२ प्रतिशत दिने भनेर लोभ्यायो । चाहिँदा आफैँ ल्याइदिन्छौं भन्यो ।
‘तपाईँहरूको सहारा हुन्छ, बुढाबुढी हुनुहुँदो रैछ भने । हो क्यारे भन्ठानियो, अनि लगेर राखियो । एक वर्ष पुगेपछि पैसा झिक्नुपर्यो भन्दा नझिक्नुस्, हुँदैन भने । तपाईँलाई चाहिएछ भने एक वर्ष राख्नुस्, सहयोग गर्नुस्, १४ प्रतिशत दिन्छु भने, अनि राखियो,’ उनले सुनाए ।
एक वर्ष बित्यो । त्यतिञ्जेल सहकारीको रकम हिनामिनाको विषय बाहिरिसकेको थियो । सञ्चालक फरार भए । उनीहरूविरुद्ध सहकारीपीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
भीमप्रसाद दम्पतीका दुई छोरा छन् । अशंबण्डा लगाइसकेका । आफ्नो भागमा परेको जग्गा नै हो उनले बेचेको । सबै सन्तानले आफ्नो सुर कसिसके । बेग्लाबेग्लै बस्छन् । कहिलेकहीँ काम पर्दा घरमा कान्छी बुहारी आउँछिन् । के कसो छ, हालखबर बुझ्छिन् । त्यही हो आडभरोसा ।
‘भएको पैसा सर्लक्क लगेर उतै राखेको । न ब्याज दिए, न सावाँ आयो । मेरो खर्च चलाउने उपाय केही छैन । बुढी नसाको बिरामी छे । यत्तिकै बुढो भैँसी पालिछम् । सन्तानले दया धर्मले पालेछन् र देखेछन् भने ठिकै भयो, नत्र मेरो उपाय केही छैन,’ भीमप्रसादले दुखेसो पोखे ।
उमेरले ७८ कटे । हात चल्दासम्म जोगाएको पैसा बुढेसकालमा सहारा बन्ला भन्ने आशा थियो । रोगले छुन लाग्यो । श्रीमती दीर्घरोगी छिन् । खानलाउन धौ हुने बेलामा उपचार खर्चको जोहो कसरी गर्नु, उनलाई थाहा छैन । कहिलेकाहीँ छोरीले घर व्यवहार धान्न सहयोग गर्छिन् । घरमा आइरहने कान्छी बुहारीले हेर्छिन् ।
****
पृथ्वीचोकको होहल्ला पार गरेपछि बायाँतिरको गल्ली । धुलाम्मे बाटो । मान्छेको भीडभाड उस्तै । सटरैपिच्छे व्यापारीको व्यस्तता । स–साना व्यापरिक सटरको बीचमा छ, एउटा चटपट र पानीपुरी पसल । भर्याङमुनि सानो र कुचुक्क परेको स्थानमा एउटा बेन्च अटेको छ ।
राधिका केशरीले त्यसरी चटपट बेच्न थालेको धेरै भएको छैन । पृथ्वीचोकको सडकमा ठेलामा फलफूल व्यापार गर्थिन्, उनी । पोखरा महानगरले सडकमा व्यापार गर्न प्रतिबन्ध लगाएपछि महिनाको पाँच हजार भाडा तिरेर पसल थापेकी हुन् ।

ठेलामा व्यापार गरेर कमाएको पैसा सूर्यदर्शनमा जम्मा गर्न थालेको १० वर्ष भएको थियो ।
‘शुरूदेखि नै जम्मा गर्न थालेको । बचेको ५०/१०० रुपैयाँ गर्दै जम्मा गरेको पैसा । घरको टेन्सन छुट्टै छ । सहकारीले छुट्टै टेन्सन दिएको छ,’ उनले रुँदै भनिन् ।
उनको नाममा दुईवटा खाता छ । छोरा, आफू र श्रीमान्को खातामा रहेको रकम समेत २० लाख ५० हजार रुपैयाँ सहकारीमा फसेको उनले बताइन् । छोरा रोहित घरमा झ्यालढोका हाल्ने काम गर्छन् । पहिला अर्कै कम्पनीमा जागिरे थिए । कमाएको पैसा सहकारीमा राखे । पछि, जागिर त्यस्तै भयो । अहिले काम आए मात्र हिँड्छन् । आम्दानीको ठेगान हुँदैन । राधिकाका श्रीमान् साइकलमा तरकारी बेच्दै हिँड्छन् ।
घरव्यवहार चलाउने जिम्मा राधिकाले लिएकी थिइन् । उनकै सुझबुझले हो, सहकारीमा पैसा राखेको । यसै विषयमा कहिलेकाहीँ घरमा मनमुटाव हुन्छ । परिवारका सदस्यले राधिकालाई बचन लगाउँछन् ।

२०७९ कात्तिकमा राधिका बिरामी भइन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्दा चिकित्सकले उनको स्तनको अपरेसन गर्नुपर्ने बताए । तत्काल रकम आवश्यक पर्यो । बचत गरेर राखेको रकमको आशा थियो । पैसाकै कारण हतोत्साहित हुनुपर्ने लागेन, किनकि बचत थियो । सहकारी पुग्दा रोहित छाँगाबाट खसेजस्तै भए । सहकारीले पैसा लिनका लागि टोकन थमायो । टोकनको पालो तत्काल हैन, महिना दिन पछिलाई थियो ।
‘आमाको स्तनमा घाउ भयो । डाक्टरले अपरेसन छिटो गर्नुपर्छ, नत्र क्यान्सरको डर हुन्छ भने । विकल्प नभएपछि हुन्छ भनियो । सिरियल नम्बरमा नाम टिपाए । पालो कुर्नुस् भने,’ उनले सुनाए ।
उपचारका लागि लागेको पैसा ऋण लिएर जोडजाम गरे । एक वर्षदेखि धाएका हुन्, उनीहरू सहकारीमा पैसा फिर्ताका लागि । यही साउन २२ मा मात्र हो, सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको । गत वर्षको कात्तिकमा आफूहरूले पैसा नपाउँदा समेत सहकारी समस्याबारे उनीहरूलाई भेउ थिए । पछि, बजारमा हल्ला फैलिन थाल्यो । चेक नसाटिने समस्या आयो ।

सहकारी समस्याबारे थाहा पाएपछि सबै रकम फिर्ता मागे । सहकारीले पालो आउनुपर्छ भनेर कुरायो । पालो आएपछि बोलाउँछौं भन्यो । उनीहरू फोनको प्रतीक्षामा बसे । त्यतिबेलासम्म सहकारीका सञ्चालक फरार भइसकेका थिए ।
दैनिक मजदुरी गरेर जम्मा गरेको रकम चाहिएको बेला उपलब्ध छैन । राधिकालाई घरव्यवहार धान्न गाह्रो छ । आमासँगै रोहितका आँखा भरिन्छन्, सहकारी सम्झँदा ।
पारिवारिक परिस्थितिले घर व्यवहारको जिम्मा रोहितकै काँधमा आएको छ । जिम्मेवारीकै कारण स्नातक तहमै पढाइ छाडेका छन् ।
दुई बहिनी स्नातक र ११ कक्षामा पढ्दैछन् । बहिनीहरूलाई पढाउने रकम समेत छैन ।
बचतकर्ताको रकम अपचलन गरेका ५ सहकारी
भीम र राधिका दुई प्रतिनिधि पात्र हुन् । सहकारीका कारण उनीहरू जस्तै हजारौं बचतकर्ता घर न घाटको भएका छन् । दुःख गरेर कमाएको पैसा डुबेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पोखरामा ३६०० बचतकर्ताले पाँच सहकारीविरुद्ध उजुरी दिएका छन् ।
पोखरामा सबैभन्दा पहिला इमेज सहकारीविरुद्ध वैशाख ३१ गते जाहेरी परेको थियो । त्यसका सञ्चालक ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली हुन् । हाल उनी फरार छन् ।
त्यसको अर्को दिन वैशाख ३२ मा शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्ध जाहेरी पर्यो । त्यसपछि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध साउन २२ गते १ हजार ३५ जनाले उजुरी दिएका थिए । सहकारीका सञ्चालक गितेन्द्रबाबु (जिबी) राई फरार छन् ।
यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएका छन् । उनीविरुद्ध समेत सहकारीपीडित संषर्घ समितिले पूरक जाहेरी दिएको छ ।
इमेज र सूर्यदर्शनका अलावा बलिदानी सहकारीविरुद्ध असोज १४ गते जाहेरी परेको थियो । यता, मित्र मिलन सहकारीविरुद्ध मंसिर १६ गते ७ सय १४ जनाले जाहेरी दिएका थिए ।
प्रहरीका अनुसार पाँच सहकारीका ९२ सञ्चालकविरुद्ध उजुरी परेको छ । त्यसमध्ये ३० जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्तिहरू सहकारीका सदस्य, लेखा समिति सदस्य, व्यवस्थापक, अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षलगायत छन् ।
