पुस ३, २०८०
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
काठमाडाैं | फागुन ३, २०८०
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।
माओवादीको विधान अधिवेशन उद्घाटनको दिन फागुन १ गते प्रचण्डले दिएको अभिव्यक्तिले प्रमुख सत्ता साझेदार कांग्रेस पनि झस्किएको छ ।
के माओवादीले कांग्रेससँगको गठबन्धन ‘कम्फरटेबल’ महसुस गर्न छाडेको हो ? के माओवादी एमालेसँग फेरि नजिकिन थालेको हो ? ‘कांग्रेसबाट धोका भएको’ प्रचण्डको अभिव्यक्ति किन आयो ? यी लगायत समसामयिक विषयमा माओवादी उपाध्यक्ष पम्फा भुसालसँग लोकान्तरका लागि सुशील पन्तले बिहीबार बिहान कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सार :
माओवादीको विधान सम्मेलनअघि प्रचण्डले कांग्रेसबाट धोका भयो भन्ने कुरा गर्नुभयो । गठबन्धनमा खटपटको संकेत हो ?
त्यस्तो होइन । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशका सन्दर्भमा जे परिणाम आयो, त्यसप्रति इंगित गरेर बोलिएको कुरा हो । मिडियाले समग्रमा बुझ्नुभएन वा एजेन्डा त्यस्तै भएर हो ।
प्रसंग के थियो भने– गठबन्धनको एउटा उम्मेदवारले जित्ने अर्कोले हार्ने अवस्था भयो । त्यसप्रति उहाँले बोल्नुभएको हो ।
कांग्रेससँग सरकार चलाउन कम्फरटेबल भइरहेको छैन ?
केही अप्ठ्यारो भएको छैन । गठबन्धनको हो, गठबन्धन दलका आ–आफ्ना इन्ट्रेस्ट हुन्छन् । तर, प्रचण्ड यस्तो नेतृत्व हो, जोसँग धेरैलाई समेटेर जान सक्ने नेतृत्व क्षमता छ ।
सामान्य असन्तुष्टि हो भने त्यसरी सार्वजनिक अभिव्यक्ति किन ?
होइन, त्यहाँ (विधान सम्मेलनमा) हाम्रा देशभरिका कार्यकर्ता छन् । त्यही प्रदेश जहाँ हाम्रा उम्मेदवारले चुनाव हारे, त्यहाँका कार्यकर्ता छन् ।
माओवादीले उठाएको ६ वटामध्ये एउटा उम्मेदवारले हार्छ । गठबन्धनले उठाएका १९ उम्मेदवारमध्ये एउटाले मात्र हार्छ भने हाम्रो राष्ट्रिय सम्मेलनमा त्यो विषय उठ्ने नै भयो । त्यसको समीक्षा नगर्ने भन्ने त कुरै हुन्न नि !
प्रचण्डले भन्नुभएको मात्र हो कि एमालेसँग भित्र–भित्र कुरा भइरहेको छ ?
नाईं नाईं, त्यो समीक्षा त स्वयं गठबन्धनका दलहरू र कांग्रेससँग पनि भएको छ । भर्खरै भएको परिघटना सम्बन्धमा देशभरका कार्यकर्ता भेला भएको ठाउँमा समीक्षा नगर्ने कुरा त हुन्न नि, त्यही भएर गरिएको हो । घटना विशेषको कुरा हो ।
समग्र गठबन्धनको विकल्प खोज्ने बेला भएको छैन ।
कहिलेसम्म हुँदैन ?
यो ५ वर्ष जान्छ ।
कांग्रेसले आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने भनिरहेको छ नि !
हामी पनि एक्लै लड्ने तयारी गरेका छौं । मैले यसअघि पनि एक्लै चुनाव लड्नुपर्छ भनेकी थिएँ । हाम्रो निर्वाचन प्रणालीले गर्दा एउटै दलको बहुमत आउन सक्दैन । सरकार बनाउने बेला गठबन्धन गर्ने हो, चुनाव एक्लै लड्नु पर्छ ।
प्रचण्डको अभिव्यक्तिले भित्रभित्रै एमालेसँग कुराकानीको संकेत गर्दैन ?
म त के चाहन्छु भने यो देशमा एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ । वामपन्थीको सहकार्य त हुनैपर्छ । तर अहिले सत्ता गठबन्धनको काउन्टरमा जाने स्थिति छैन ।
अस्ति प्रचण्डले त्यहाँ बोल्ने क्रममा यो सरकार कांग्रेसले बनाइदिएको होइन, एमालेले बनाइदिएको पनि भन्नुभयो नि ?
पहिला प्रधानमन्त्री त एमालेको सहयोगबाट हुनु भएको हो, पुस १० गते । पछि एमालेले विश्वासको मत फिर्ता लिएपछि फागुनमा कांग्रेससहितको गठबन्धनबाट निरन्तर भएको हो ।
राष्ट्रिय सभा अध्यक्षको चुनावपछि गठबन्धन संकटमा पर्छ भन्ने चर्चा पनि छ नि ?
त्यस्तो हुँदैन । गठबन्धन टुट्दैन । राष्ट्रिय सभा अध्यक्षमा हामी दाबी गर्छौं । निर्णय सहमतिबाटै हुन्छ ।
आलोपालो प्रधानमन्त्रीको समझदारी कांग्रेससँग छ । माओवादीले प्रधानमन्त्री छाड्दाबित्तिकै संवैधानिक परिषद्मा हाम्रो प्रतिनिधित्व हुँदैन । त्यो भएर राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी छ, तर एक्लै त जित्दैनौं । संख्याले पनि अरूभन्दा हामी ठूलो दल छौं । राष्ट्रिय सभा अध्यक्षको कारणले गठबन्धन तोड्ने अवस्थामा भने पुग्दैन ।
पछिल्लो समय प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बारम्बार भेट भइरहेको छ, केका लागि ?
प्रचण्ड त्यस्तो नेता हो, जसले जमेको ताललाई पनि फुटाउन सक्ने र गुम्म भएको वातावरणलाई पनि चहलपहल गराउन सक्ने (क्षमता राख्छ) । सत्तापक्ष मात्र होइन, प्रतिपक्षसँग पनि मिलेर जानुपर्छ भन्ने, साँच्चै राष्ट्रिय सहमति कायम गर्न सक्ने नेता हो उहाँ ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलले लेखा समिति मात्र पाउने संसदीय परम्परा थियो । तर, अहिले एमालेले ३ वटा समितिको सभापति लिएको छ ।
प्रतिपक्षलाई पनि विश्वासमा ल्याउने, सानाठूला दललाई सहमतिमा ल्याउन सक्ने क्षमता भएकै कारण तेस्रो पार्टी, त्यो पनि ठूलो अन्तर भएर पनि प्रचण्ड प्रधानमन्त्री हुन सक्नुभएको हो ।
कांग्रेस–एमालेलाई दबाबमा राखेर प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री बन्ने चर्चा पनि सुनिन्छ नि !
प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति पहिले नै भइसकेको छ । त्यो समझदारीप्रति प्रचण्ड असाध्यै प्रतिबद्ध हुनुहुन्छ । विगतलाई पनि हेर्नुभयो भने प्रचण्डले आफ्नो तर्फबाट सहमति कहिल्यै तोड्नुभएको छैन ।
त्यसो भए अहिले एमालेसँग सहकार्य हुन्न ?
अहिले हामी गठबन्धनलाई पाँचै वर्ष लैजाने भन्नेमा छौं ।
त्यसपछि २०८४ सालको चुनावमा एमालेसँग तालमेल गर्ने ?
आगामी चुनाव हामी एक्लै लड्ने तयारी गर्छौं । अहिले विधान सम्मेलनपछि १६५ निर्वाचन क्षेत्र, प्रदेशका ३३० क्षेत्र र प्रत्येक पालिकास्तरमा संगठन विस्तार गर्छाैं । त्यसले पार्टीको पहिचान बन्छ ।
कहिले रूखलाई, कहिले सूर्यलाई भोट हाल्न लगाउँदा समानुपातिक भोट नआउने र पार्टी सानो भएजस्तो हुने रहेछ । सबै क्षेत्रमा उम्मेदवार उठाएको भए समानुपातिकको भोट दोब्बर आउँथ्यो भन्ने मूल्यांकन गरेका छौं । जीतहार हुन्छ, त्यसैले २०८४ सालमा एक्लै चुनाव लड्ने तयारी गर्छाैं ।
कांग्रेस–एमालेका नेताले माओवादीलाई एक्लै चुनाव लड्न नसक्ने ‘परजीवी पार्टी’ भन्न थाले । माओवादी एक्लै चुनाव लड्न सक्छ ?
अरूले मिसन २०८४ भनेका छन्, हामी २०६४ मा जस्तै देशको पहिलो दल हुन चाहन्छौ । २०६४ सालमा फर्किने आधार छ । हाम्रो पार्टीको जनाधार छ । पार्टीपंक्ति छ । अत्यन्तै जटिल प्रक्रियामा जनयुद्धमा गएर आएपछि पनि पहिलो बनेको पार्टी हो ।
तर, प्रचण्डको अभिव्यक्तिपछि फेरि कम्युनिस्ट मिल्छन् भन्ने चर्चा सुनिन थालेको छ नि ?
अस्ति राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा भएको परिघटनाको समीक्षा हो त्यो, जहाँ धोका भयो । दीर्घकालीनरूपमा र रणनीतिकरूपमा भन्नुपर्दा वामपन्थीहरू नै एक ठाउँमा हुने हो । नेपालमा एउटै कम्युनिस्ट पार्टी बन्नुपर्छ भन्ने माओवादीको धारणा हो ।
राजनीतिको ध्रुवीकरण वामपन्थी र गैर वामपन्थी भएर गर्नुपर्छ । एकीकृत कम्युनिस्ट पार्टी हुनुपर्छ । त्यसका लागि सबै कम्युनिस्ट पार्टीले जिम्मेवार भएर सोच्नुपर्छ ।
त्यो कहिले हुन्छ ?
अहिलेदेखि नै सोच्नुपर्छ । आउने निर्वाचन र निर्वाचनको परिणाम पछि पनि त्यो सहकार्य हुने परिस्थिति बनोस् भन्ने चाहन्छौं ।
चुनावभन्दा अगाडि पनि हुनसक्छ ?
हुनसक्छ । एउटै कम्युनिस्ट पार्टी बनाउने अभियान किन शुरू नगर्ने ? हामीले समाजवादी मोर्चा बनाइसकेका छौं, त्यसमा सबै वामपन्थी र कम्युनिस्ट आउनुपर्छ । र, एउटै कम्युनिस्ट पार्टी हो बनाउने– सैद्धान्तिकरूपमा ।
तर, अहिलेको व्यावहारिक कुरा गर्नु पर्दा सत्ता र प्रतिपक्ष दुवैतिर वामपन्थी भएको एउटा स्थिति छ । यो विडम्बना हो ।
ढिलोचाँडो एमालेसँग माओवादीको एकता हुन्छ ?
अरू वामपन्थी दलसँग पनि । एमाले, माओवादी, साना ठूला वामपन्थी सबैको एउटै कम्युनिस्ट पार्टी भयो भने देशको राजनीतिले पनि सही दिशा लिन्छ ।
यसअघि पनि असफल प्रयास भएको थियो, टिकेन नि ?
बन्नु राम्रो कुरा थियो, तर टिकेन । त्यसको पनि समीक्षा होला । ढिलोचाँडो एउटै कम्युनिस्ट पार्टी बन्नुपर्छ, नेपालमा ।
विस्तृत कुराकानी हेर्नुहोस् भिडियोमा :
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...