
भविष्यमा चुनावअघि राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय कांग्रेसभित्र पेचिलो बनेर उठिरहेको समयमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट यसको टुंगो नलाग्ने जनाउ दिएका छन् ।
महामन्त्री गगन थापाले भविष्यमा कांग्रेसले चुनावी गठबन्धन गर्न नहुने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेपछि अहिलेको सत्ता गठबन्धनभित्रै हलचलको स्थिति सिर्जना भएको थियो । भविष्यमा गठबन्धन गर्ने/नगर्ने विषय त्यतिबेला नै निर्णय गर्न सकिने भन्दै देउवाले त्यो बहस गर्न अहिले इन्कार गरेका छन् ।
सोमवार महासमिति बैठक उद्घाटन मन्तव्यमा गठबन्धनको पक्षपोषण गरेर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आश्वस्त पार्न खोजेका छन् । संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसको निरन्तरताको पक्षमा कांग्रेस रहेको देउवाले बताए ।
‘अहिले हामी गठबन्धनको अभ्यासमा छौं, अहिलेको गठबन्धन सरकार गठनका लागि मात्र बनेको होइन । केही समय पहिले प्रतिनिधि सभालाई असमयमा विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानलाई जोखिममा पार्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि भए,’ महासमिति बैठकको उद्घाटन समारोहमा राखेको लिखित मन्तव्यमा देउवाले भनेका छन्, ‘संविधान रक्षाका लागि नेपाली कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा तत्कालै गठबन्धन बनेको हो । गत निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेन्डाको रूपमा लिएका छौं । महासमितिमा प्रस्तुत हुने सबै दस्तावेजले यस विषयलाई उल्लेख गरेको छ ।’
भविष्यमा कम्युनिस्टसँग गठबन्धन नगर्ने कांग्रेस कार्यकर्ताले सुन्न चाहेको विषय हो, तर देउवाले यो विषय सुन्न चाहेका छैनन् । ‘कांग्रेस कार्यकर्ताले सुन्न चाहेको विषय’ नबोलुन् भनेर उद्घाटन सत्रमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई मन्तव्य राख्न नै दिएनन् । २०८४ को चुनावी गठबन्धन अहिलै निषेध गर्दा केही महिनापछि आउन लागेको सत्तारोहणको अवसर धरापमा पर्न सक्नेमा देउवा चिन्तित छन् ।

भविष्यमा गठबन्धन नगर्ने या अन्य केही विषयले प्रचण्डलाई बिच्काउँदा हुने हविगत देउवाले बुझेका छन् । त्यसैले उद्घाटन समारोहमा देउवाले शब्द–शब्द तौलेर बोले । संविधानको व्यवस्था देखाएर भविष्यमा पनि चुनावी गठबन्धन गर्न सकिने आधार प्रस्तुत गरे ।
‘हामीले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं । मिश्रित निर्वाचन प्रणालीका गुण दोष दुवै छन् । यो निर्वाचन प्रणालीमा कुनै एक मात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना कम हुन्छ । वर्तमान गठबन्धन हामी समेतको अग्रसरतामा संविधान रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ ।’
भविष्यमा चुनावी गठबन्धन गर्ने/नगर्ने विषयमा तत्कालीन परिस्थिति हेरेर निर्णय गर्ने भन्दै देउवाले प्रचण्डलाई थप आश्वस्त पार्न खोजेजस्तो देखिन्छ ।
‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने या नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायत विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ,’ देउवाले भने ।
देउवाको भनाइको बचाउ गर्दै परराष्ट्र मन्त्री समेत रहेका केन्द्रीय सदस्य एनपी साउदले चार वर्षपछि हुने चुनावबारे अहिले नै बेलिराख्नुनपर्ने बताए ।
‘चार वर्षपछिको चुनावबारे अहिल्यै बोल्नु राजनीतिक विषय होइन । अहिले नै बोलिराख्नु पर्दैन । महासमितिबाट त्यस्तो निर्णय हुँदैन,’ साउदले लोकान्तरसँग भने ।

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि गठबन्धन सरकारमा रहेकाले अहिले चुनावी गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा निर्णय लिनु उपयुक्त नहुने धारणा राखे ।
‘गठबन्धन सरकारमा बसेर गठबन्धनकै विरोध गर्नु राजनीतिक चरित्र हुँदैन,’ खतिवडाले लोकान्तरसँग भने ।
उद्घाटन समारोह समापन भइसक्दा समेत महासमिति बैठकमा पेश गर्ने महामन्त्री गगन थापाको प्रतिवेदनले अन्तिम रूप पाएको छैन । गगनको प्रतिवेदनलाई अन्तिम रूप दिन सोमवार देउवाको निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।
सभापतिको इच्छाविपरीत कांग्रेस सम्मेलनले त्यस्तो कुनै क्रान्तिकारी प्रस्ताव पारित गर्ने सम्भावना छैन ।
गोदावरीको सनराइज हलबाट देउवाले एउटा मन्तव्यमार्फत प्रचण्डलाई आश्वस्त मात्र पारेका छैनन्, गगनलाई जवाफ पनि दिएका छन् ।
८० प्रतिशत केन्द्रीय सदस्य र बहुसंख्यक प्रतिनिधि आफ्नो पक्षका रहेको हलबाट प्रचण्डलाई चिढ्याउने प्रस्ताव पारित गर्न दिने पक्षमा देउवा देखिँदैनन् ।