
मोरङ जिल्लामा यही फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय मोरङले आज राष्ट्रिय खोप कार्यक्रम र दादुरा–रूबेला खोप अभियान सञ्चालनबारे जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुको बैठक तथा छलफल कार्यक्रममा फागुन १३ देखि खोप लगाइने जानकारी दिइयो ।
मोरङका १७ वटै स्थानीय तहका एक सय ५९ वडाका नौ महिना देखि १५ वर्षसम्मका दुई लाख ८१ हजार दुई सय ६३ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले बताए। उनका अनुसार नौ महिना देखि ५९ महिनाभित्रमा ८० हजार चार सय ५५ र पाँच वर्षदेखि १५ वर्षसम्मका दुई लाख आठ सय आठ गरी दुई लाख ८१ हजार दुई सय ६३ जनालाई खोप लगाइने भएको हो ।
मोरङमा एक हजार पाँच सय ८८ खोप केन्द्र, तीन हजार एक सय ७० स्वास्थ्यकर्मी र चार हजार सात सय ६४ जना स्वयंसेवक परिचालन हुने बताइएको छ । दादुरा रुवेलाविरुद्धको राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गतेसम्म भए पनि मोरङमा चैत २ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।