
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपालन ‘असल अभ्यास’ अन्तर्गत स्वच्छ दूध उत्पादनका लागि मापदण्ड तयार गरेको छ । पशुपालन ‘असल अभ्यास’ कार्यान्वयनका लागि तयार पारेको निर्देशिकामा सो मापदण्डको व्यवस्था गरेको कृषि मन्त्रालयले जनाएको छ ।
मापदण्ड अनुसार दूध दुहुने व्यक्तिको कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरी क्षयरोगलगायतका कुनै पनि सरुवा रोगबाट ग्रसित नभएको र स्वास्थ्य जाँचको कागजात फार्ममा राखेको हुनुपर्ने छ । दूध दुहुने स्थान वा सो क्षेत्र वरपर र दुहुने बेला धूमपान गर्न, सुर्ती, खैनी, गुट्खा आदि सेवन गर्न नहुने मापदण्डमा उल्लेख गरिएको छ ।
जुनसुकै समयमा दूध दुहे पनि गर्मी हुने स्थानमा दूध दुहेको एक घण्टाभित्र र अन्य स्थानमा दूध दुहेको दुई घण्टाभित्र चिस्यान केन्द्रमा पुर्याइसक्नुपर्ने मापदण्डमा उल्लेख छ । दैनिक पाँच सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने किसानले फार्म परिसरभित्रै वा नजिकै दूधका लागि चिस्यान केन्द्र स्थापना गर्नुपर्ने हुन्छ ।
त्यस्तै बिगौती दूधलाई बिक्री गर्ने दूधमा मिसाउन नहुने कृषि मन्त्रालयको मापदण्डमा उल्लेख छ । गोरखापत्रमा खबर छापिएको छ ।