
गत माघ ९ गते सुनसरीको इनरुवाका शिवनन्दन मेहताले आफ्नो बैंक खाताबाट ९ लाख रुपैयाँ अर्कै बैंकमा ट्रान्सफर भएको म्यासेज पाए ।
उनले यस्तो म्यासेज राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा अनुमति पाएको नेपाल क्लियरिङ हाउस अर्थात 'कनेक्ट आईपीएस'मार्फत पैसा ट्रान्सफर भएको भनेर पाएका थिए ।
आफ्नो अनुमतिविना पैसा ट्रान्सफर भएपछि उनी बैंकमा पुगे । बैंकले रकम ट्रान्सफर भइसकेकाले जुन बैंकमा ट्रान्सफर भएको हो, त्यहाँ जान सुझायो ।
उनी तत्काल पैसा ट्रान्सफर भएको बैंकमा पुगे । विडम्बना, सो बैंकबाट चेकमार्फत पैसा निकालिइसकिएको थियो । बैंकका कर्मचारीले आफूले केही गर्न नसक्ने जवाफ दिए । त्यसपछि मेहताले कनेक्ट आईपीएसलाई फोन गरे ।
कनेक्ट आईपीएसले चेकमार्फत बैंकले भुक्तानी गरिसकेको भन्दै आफूले केही गर्न नसक्ने जवाफ दियो ।
डिजिटल भुक्तानी प्रणाली सञ्चालकको अनुमति लिएको कनेक्ट आईपीएसले यस्तो गैर-जिम्मेवार जवाफ दिएपछि अहिले उनले नेपाल राष्ट्र बैंकमा उजुरी गरेका छन् ।
उनको खाताबाट कनेक्ट आईपीएस प्रयोग गरेर गैरकानूनी रूपमा ९ लाख ट्रान्सफर भएको एक महिना बित्दा पनि उनले कहीँ कतैबाट चित्त बुझ्ने जवाफ पाएका छैनन् । मेहताले लोकान्तरसँग भने, 'पैसा हराएको एक महिनासम्म मैले न्याय पाएको छैन । त्यो पैसा खोज्न म अब कहाँ जाऊँ ?'
राष्ट्र बैंकले उनको उजुरीउपर अनुसन्धान भइरहेको बताएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका एक निर्देशकले लोकान्तरसँग भने, 'कनेक्ट आईपीएस प्रयोग गरेर गैरकानूनी रूपमा रकम भुक्तानी गरिएको भन्ने उजुरी आएको छ । हामीले त्यसमा मुख्य दोषी को हो भनेर हेरिरहेका छौं ।'
उनले कनेक्ट आईपीएस कसरी ह्याक भयो, त्यसको प्राविधिक पक्षबारे पनि अध्ययन भइरहेको बताए ।
यता कनेक्ट आईपीएसका सीईओ निलेशमान सिंह प्रधानले भने केस प्रहरीमा गैसकेकाले उतैबाट छानबिन हुने बताउँदै आफू जिम्मेवारीबाट उम्कने प्रयास गरेका छन् ।
प्रधानले लोकान्तरसँग भने, 'त्यो केस प्रहरीले हेरिरहेको छ । उतैबाट छानबिन भएपछि हामीले केही गर्ने कुरै भएन ।'
आफ्नो खाताबाट ह्याक पैसा चोर्ने गिरोहले सोही कनेक्ट आईपीएसको एकाउन्टमार्फत उनको आमाको नाममा रहेको खाताबाट पटक-पटक गरी १ लाख १० हजार अनाधिकृत रूपमा अन्तै ट्रान्सफर गरेको मेहताको आरोप छ ।
त्यस्तै कनेक्ट आईपीएसकै प्रयोग गरेर राष्ट्रिय वाणिज्य बैंक वीरगञ्जको पोखरिया शाखाबाट १ करोड ३७ लाख चोरी गर्ने रोहितकुमार ओझालाई आइतवार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । ओझा सोही बैंकमा कनिष्ठ सहायकको भूमिकामा काम गर्थे ।
प्रहरीका अनुसार उनले दक्षिण कोरियामा वैदेशिक रोजगारीका लागि गएका एक युवाको खातामा पैसा जम्मा मात्र भइरहेको, तर ननिकालिएको देखेपछि विगत ५ महिनादेखि पैसा चोर्ने योजना बनाएका थिए ।
त्यसका लागि उनले कनेक्ट आईपीएसकै कमजोरीलाई प्रयोग गरे । वैदेशिक रोजगारीमा रहेका ती युवाको नागरिकता सिस्टमबाट प्रिन्ट गरे, खातावालाको नम्बर पहिल्यैदेखि त्यहीँ थियो । अनि सिम हराएको भन्दै सोही नागरिकता प्रयोग गरेर वीरगञ्जस्थित टेलिकम शाखाबाट नयाँ सिम लिए ।
'त्यही सिमबाट कनेक्ट आईपीएसको नक्कली एकाउन्ट बनाए अनि कनेक्ट आईपीएस र बैंक एकाउन्टको पासवर्ड सोही सीममार्फत रिसेट गरेका रहेछन्,' सीआईबी स्रोतले लोकान्तरसँग भन्यो, 'अनि कनेक्ट आईपीएस प्रयोग गरेर २१ पटक गरी १ करोड ३७ लाख अर्कै एकाउन्टमा ट्रान्सफर गरियो ।'
सजिलै पासवर्ड परिवर्तन गर्न सकिने र सुरक्षाको अतिरिक्त मापदण्ड नभएको भन्दै कनेक्ट आईपीएसमार्फत हुने आर्थिक अपराधको शृंखला पछिल्लो समय बढ्दै गइरहेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कनेक्ट आईपीएस प्रयोग गरेर हुने ठगी र गैर-कानूनी क्रियाकलापबारे परेका उजुरीहरू छानबिनका क्रममा दर्जनौंपटक कनेक्ट आईपीएसकै कर्मचारीलाई बोलाएर सोधपुछ गरिएको छ ।
'हामी उनीहरूलाई बोलाएर पटक-पटक सोधपुछ गरिरहेका हुन्छौं,' कार्यालयका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, 'जस्तो व्यक्तिलाई पनि खाता खोल्न दिएको छ । जस्तोसुकै नागरिकता र फोटो प्रयोग गरे पनि भेरिफाइ गर्दिएको छ । एउटै मान्छेले सयौं सिम किनेर फर्जी नागरिकता बनाएर आईडी खोल्ने गरेको विषयलाई उनीहरू आफैंले नियमन गर्न सक्नुपर्ने हो, तर अटेर गर्छन् ।'