
एक्सन स्टार विराज भट्टको आगामी फिल्म ‘१२ गाउँ‘मा न्यान्सी खड्का अभिनेत्री बन्ने भएकी छन् । ‘हामीले स्क्रिप्ट सुनायौँ, उहाँले मन पराउनुभयो । हाम्रो फिल्मको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं‘, विराजले भने ।
खड्का मिस नेपाल इन्टरनेशनल–२०२२ हुन् । विराटनगर घर भएकी न्यान्सी व्यवसायीक मोडलसमेत हुन् भने उनले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् ।
उनी केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेश्नल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन । यसका अलावा न्यान्सीले मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन् । यसै फिल्मबाट विराज आफ्ना छोरा समीर भट्टलाई डेब्यू गर्ने योजनामा छन् । त्यसैले फिल्ममा न्यान्सी कसको जोडी बन्छिन् भन्ने बारेमा निर्माण पक्षले हालसम्म केही खुलाएको छैन ।
केही समय अगाडि विराजले छोराको तस्विर सार्वजनिक गरेपछि अन्य धेरै नेपाली निर्माता उनको छोरालाई फिल्म खेलाउन लालायित भएको बताइन्छ । हाल प्रि-प्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ‘ ठूलो बजेटमा तयार हुनेछ । फिल्म चैत १५ बाट छायांकनमा जाने भएको छ ।

सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । फिल्मलाई विराज आफैंले निर्देशन गर्नेछन् । सन् २०२४ मा रिलिज हुने फिल्ममा विराजले नेपाली फिल्मको इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् । उनले यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन् ।
नेपाली फिल्ममा एक्सन भूमिकाहरूबाटै सुपरस्टार बनेका विराज पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त छन् । उनी भोजपुरी फिल्ममा ‘ए’ लिस्टर स्टार हुन् । ‘१२ गाउँ’ फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।
विराजले ‘१२ गाउँ’लाई आफ्नो करियरको महत्वाकांक्षी फिल्म मानेका छन् ।