
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ।
टिजरमा चौधरीलक्षित संवाद छ । जसमा दयाहाङ राईले माओत्से गुरुङलाई भन्छन् : त्यो सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि । त्यसले मलाई मासिक चार लाखको अफर गर्या थियो ।
माओत्से भन्छन् : तैंले किन खाइनस् त ?
दयाहाङ जवाफ फर्काउँछन् : चौधरी आफैं धनी छ, धनीमाथि धनी के बनौँ ?
फिल्मको उक्त संवादलाई लिएर सिजी ग्रुपका अध्यक्ष चौधरीले प्रतिक्रिया दिएका हुन् । उनले टिजरको उक्त संवादको भिडियो क्लिप्स सामाजिक सञ्जालमा राख्दै लेखेका छन् ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट ।’
चौधरी उक्त पोस्टमा दयाहाङलाई समेत मेन्सन गरेका छन् । उक्त स्टाटसलाई लिएर थुप्रैले प्रतिक्रिया दिइरहेका छन् । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’मा दयाहाङसहित आँचल शर्मा, माओत्से गुरुङ, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ लगायतको अभिनय छ ।
निर्माण घोषणादेखि नै यो फिल्म चर्चामा छ ।