०७ साउन २०८३, बिहीबार
व्यक्ति एक, परिचय अनेक

एसएलसी फेल भएका गोपाल: शिक्षक, असईदेखि सांसदसम्म

फागुन १९, २०८०
विराटनगर
एसएलसी फेल भएका गोपाल: शिक्षक, असईदेखि सांसदसम्म

गोपालबहादुर विश्वकर्माको परिचय कुनै एकमा सीमित छैन । उनी शिक्षक, नेपाल प्रहरीका पूर्वसहायक निरीक्षक (असई)देखि कोशी प्रदेशका सांसदसम्म हुन् । विसं २०१४ भदौ २४ गते जन्मिएका गोपालको शैक्षिक योग्यता भने ‘अन्डर एसएलसी’ मात्र हो । यसर्थ उनको यहाँसम्मको यात्रा रोचक र प्रेरणादायी छ ।  

सामान्य परिवारमा जन्मे–हुर्केका गोपालको बाल्यकाल पनि सामान्य तरिकाले नै बित्यो । पहाडमा आफ्नो उत्पादनले खान नपुग्ने भएपछि उनका बुवा–आमा परिवार लिएर झापाको दूधेमा बसाइँ सरे । उनीहरू २०२१ मा दूधे आएका हुन् । ‘जंगल फडानी गर्न मार्ग खुलेपछि हाम्रो परिवार तराईमा झरेको रहेछ । त्यो बेला म ७ वर्षको मात्र थिएँ,’ गोपालले भने ।

गोपालका बुवा–आमा परम्परागत पेशा गर्थे । उनीहरू खुकुरी, कुटो–कोदालो, हँसियालगायत फलामका कृषिजन्य औजार बनाउने गर्थे । साथै उनीहरूले खेतीकिसानी पनि गर्ने गर्थे । तर यी दुवै पेशाले जीवन धान्ने अवस्था रहेन । त्यतिबेला वैदेशिक रोजगारीमा तेस्रो मूलक जाने चलन पनि थिएन । यसैले गोपालका बुवा पदम गहतराज गजमेर पैसा कमाउनका लागि भन्दै भारततिर हिँडेका थिए ।

‘आफ्नै बारीमा उत्पादन भएको अन्न र यहाँ गरेको कामले खान नपुगेपछि वर्षमा ८ महिनाजति बुवा भारतमा गएर कमाएर ल्याउने गर्नु भएको रहेछ,’ उनले भने । 

गोपालले २०३० सालमा एसएलसी परीक्षा दिएका थिए । सो परीक्षा फेल भएपछि पनि २०३१ सालमा उनले एउटा स्कूलमा शिक्षकको रुपमा काम गरे । त्यहाँ उनले दुई बिताए । सो बेला उनको तलब मासिक ८५ रुपैयाँ थियो । तर शुरूवाती चार–पाँच महिना उनले तलब पाएनन् । त्यसको भरणपोषणस्वरुप गाउँलेहरूले उनलाई पैसा उठाएर दिने गर्थे । पछि एसएलसी फेल भएकालाई शिक्षक नराख्ने भन्ने चर्को आवाज सुनिन थाल्यो । यसपछि उनको यात्रा प्रहरीतिर मोडियो । 

२०३३ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका गोपाल २०५४ सालमा राजीनामा दिएर वैदेशिक रोजगारीमा गएका थिए । असई भएर जागिर छोड्दा उनको तलब २२०० रुपैयाँ मात्रै थियो ।  तलबले मात्रै छोराछोरीलाई पढाउन गाह्रो भएपछि प्रहरीको जागिरबाट राजीनामा दिएर उनी वैदेशिक रोजगारीका लागि २०६९ मा यूएईतिर लागे । दुबईमा सुरक्षागार्डको सुपरभाइजर भए । उनले २०७२ सम्मसुपरभाइजर भएर काम गरेका थिए ।  त्यहाँ उनले सामाजिक सेवाका काम पनि गर्ने गर्थे । 

‘त्यही सुपरभाइजरको कमाइले छोराछोरी पढाएँ,’ उनले भने । उनका एक छोरा र तीन छोरी छन् । छोरा डिप्लोमा इन्जिनियरिङ गरेर साउदी अरेबियामा रोजगारीमा रहेका छन् । एक छोरी स्टाफ नर्स सकेर जापानमा छिन् भने दुईवटै छोरी नेपालमै पढिरहेका छन्  ।

null

‘प्रहरी हुँदा छुवाछुत खासै भोग्नु परेन’ 

गोपालले प्रहरीमा जागिर शुरू गर्दा १४५ रुपैयाँ तलब थियो । रासनको थप पैसा पनि आउने गरेको उनले सुनाए ।  प्रहरी हुँदा उनी उनी झापा, इलाम, पाँचथर र ताप्लेजुङमा बसेका थिए । प्रहरी हुँदा उनीसँग धेरै रमाइला किस्सा छन् । इमानदार प्रहरीहरूलाई पाहुनाको रूपमा जनताले सत्कार गर्ने गरेको उनले सुनाए । दलित समुदायका गोपालले प्रहरीमा हुँदा आफूले छुवाछुतको समस्या भोग्नु नपरेको बताए । ‘सामान्य घटना भए पनि त्यस्तो कुनै अप्रिय छुवाछुतको समस्या मैले झेल्नु परेन,’ उनी भन्छन्, ‘पुलिसको प्रमुख विश्वकर्मा समुदायको भन्नेसम्म चाहिँ भनेको सुनेँ । त्यहाँभन्दा अरू छुवाछुतका बारेमा सुन्नु परेन ।’ २०६२–२०६३ को आन्दोलनले समाजमा धेरै परिवर्तन आएको र धेरै हदसम्म छुवाछुत पनि हटेको उनको बुझाइ छ । ‘झापा दलित समुदायले नै चलाएका ३१ वटा होटेल–रेस्टुरेन्ट रहेको मैले नै देखेको छु,’ उनले भने । 

‘बिचौलियाको बिगबिगी पहिलैदेखि’ 

गाउँघरमा प्रहरीलाई भेट्न जाँदा कोशेली (कुखुराको भाले) लिएर जानुपर्छ भन्ने हल्ला सुन्ने सुनिन्थ्यो । यो हल्ला गोपालले पनि सुन्ने गरेका थिए । तर यसमा यतार्थता नभएको उनी स्पष्ट पार्छन् । 

प्रहरीभित्र बिचौलियाको बिगबिग रहेको भने उनी स्वीकार्छन् । बिलौलियाको लोभमा कतिपय प्रहरी फस्ने गरेको उनले बताए । ‘बिचौलियाले देखाएको लालचमा लाग्ने प्रहरीलाई तुरुन्तै कारबाही हुने गरेको थियो,’ उनी भन्छन् । 

गोपालले जागिर खाँदा चोरीमा संग्लग्नलाई भने कुट्ने चलन थियो रे । आफूलले पनि धेरैलाई कुटेको उनी बताउँछन् । ‘त्यति बेला चोरलाई मुड्के सास्ती चाहिँ गज्जबले नै हुने गथ्र्याे,’ उनले सम्झिए । 

गिरिजासँगको त्यो भेट

प्रहरीमा २१ वर्ष जागिर खाए गोपालले । यो अवधिमा उनले एक नेताको सुरक्षामा विशेष ध्यान दिनुपरेको थियो । उनी थिए पटक–पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला । 

२०४५ सालमा आएको भूकम्पको अनुगमन गर्न तत्कालीन कांग्रेस महामन्त्री कोइराला इलाम गएका थिए । उनको सुरक्षाका लागि गोपाल खटिएका थिए । आफूले एउटै कार्यालयमा चार वर्ष बिताएकोबाट कोइराला प्रभावित भएको गोपालको भनाइ छ । ‘त्यहाँका एक नेताले मलाई नेता कोइरालासँग चिनाइदिनु भयो ।  तिनै नेताले उहाँ यहाँ आउनु भएको चार वर्ष भयो भनेर पनि भनिदिनुभयो,’ पुराना दिन सम्झिँदै उनले भने, ‘जवाफमा कोइरालाले एउटै कार्यालयमा चार वर्षसम्म कति इमान्दार ! भनेर अचम्म मान्नुभयो ।’ 

पहिला सांसदहरू वर्षमा एकपटक मात्रै जिल्लातिर जाने गरेकाले उनीहरूको सुरक्षामा खासै ध्यान दिनु नपरेको उनले सुनाए ।  

राजनीतिमा लागेको छोटो समयमै सांसद 

गोपालले राजनीति गरेको लामो समय भएको छैन । जीवनको अधिकांश समय जागिर र वैदेशिक रोजगारीमा बिताएका उनले २०७२ सालदेखि मात्रै राजनीतिमा प्रवेश गरेका थिए । राजनीतिमा जाँदा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रोजे । अध्यक्ष राजेन्द्र लिङ्देनको इमानदारिता देखेर राजनीतिमा प्रवेश गरेको उनी बताउँछन् ।

गोपाल २०७९ को आमनिर्वाचनबाट राप्रपाबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य भएका हुन् । उनले राजनीतिमा लागेको छोटो समय (करिब ७ वर्ष)मै सांसद बन्ने सौभाग्य पाए । उनले सदनमा शिक्षा र स्वास्थ्यका विषयलाई उठाउने गरेका छन् । ‘कक्षा १२ सम्म निःशुल्क अध्ययन र निःशुल्क स्वास्थ्य मेरोसँगै पार्टीको पनि मुद्दा हो,’ उनले थपे । 

खासगरी तीन ‘स’लाई आधार मानेर पार्टी अगाडि बढिरहेको गोपाल बताउँछन् । ‘समन्वय, गर्ने तथा  सडक र सदनबाट आफ्ना मुद्दा उठाउने गरेका छौँ,’ उनी भन्छन् । 

गोपाल सैद्धान्तिक रुपमा राजसंस्था पक्षधर हुन् । तर गणतन्त्रलाई पनि राम्रो व्यवस्था नै मान्छन् । ‘संसारमा सबैभन्दा राम्रो व्यवस्था गणतन्त्र भएको भएपनि नेपालमा भने यो फापेन,’ उनको तर्क छ । राप्रपाको सांसदको नाताले आफू राजासहितको कार्यकारी प्रधानमन्त्री ल्याउने अभियानमा लागेको उनले बताए ।  
 

कमेन्ट गर्नुहोस्