
गायिका एलिना चौहानसँगको विवादलाई लिएर साउण्ड सिस्टम व्यवसायीले जारी गरेको विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले जनाएको छ ।
आइतवार विज्ञप्ति जारी गर्दै दोहोरीगीत प्रतिष्ठानले साउण्ड सिस्टम व्यवसायीको गैरजिम्मेवार र वहिस्कारको सोचबाट उद्धत अभिव्यक्तिप्रति आफूहरूको आपत्ति रहेको बताएको हो ।
‘कलाकार र साउण्ड इञ्जिनियर, टेक्निसियनबीचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने गरि यति संवेदनशील विषयमा एकपक्षीय रुपमा विज्ञप्ति जारी गरि गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने भन्ने जस्ता गैरजिम्मेवार र वहिस्कारको सोचबाट उद्धत अभिव्यक्तिप्रति हाम्रो घोर आपत्ति छ’ – अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अव्यवहारिक र असहिष्णु अभिव्यक्ति सच्याएर कलाकार र साउण्ड सिस्टम व्यवसायीको सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सिर्जना गर्न समेत दोहोरीगीत प्रतिष्ठानले अपिल गरेको छ । एलिना दोहोरीगीत प्रतिष्ठानको आजीवन सदस्य समेत हुन् ।
गत आइतवार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा एलिना र साउण्ड टेक्निसियनबीच भनाभन भएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
उक्त घटनालाई लिएर साउन्ड सिस्टम व्यवसायीले विज्ञप्ति जारी गर्दै एलिनाले माफी नमागे उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका थिए । उक्त चेतावनीपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै एलिनाले माफी मागिसकेकी छिन् ।
यस घटनालाई लिएर विभिन्न गायक गायिकाहरूले गल्ती एलिनाको मात्र नभएकाले साउण्ड टेक्निसियनले पनि माफी माग्नुपर्ने धारणा राखेका छन् ।