
साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ ।
लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा खगेन्द्रप्रसाद लुइँटेलले विमोचन गरेका हुन् ।
यसअघि ‘पिल्सिएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसकेका साहित्यकार अविनाशीको आज विमोचन गरिएको नियात्रासङ्ग्रह तेस्रो कृति हो ।
उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक संस्मरण सङ्ग्रहित छन् ।
साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ सहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, बिरक्तिँदा खानी खोश्री, आफू गयौं नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली, क्यार्यौ कुन्नी जस्ता आधुनिक गीतहरु श्रव्यदृश्य प्रकाशित भइसकेका छन् ।
सुरभि साहित्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा बोल्दै प्राडा लुइँटेलले नेपाली साहित्य क्षेत्रको विकासमा राम लामाले खेल्नुभएको भूमिका सराहनीय रहेको बताए ।
‘आफ्नो व्यापार व्यवसायबाट आम्दानी गरेको रकम साहित्य क्षेत्रमा लगानी गर्नु नेपाली साहित्य क्षेत्रका लागि गर्वको कुरा हो’, उनले भने ।
उक्त कृतिमा आप्रवासको झल्को पाइएको उनको भनाइ थियो । प्राडा लुइँटेलले कृति सरल र पठनीय रहेको उल्लेख गरे ।