
करको जोखिम भार हेर्न छुट्टै निकाय जरुरी रहेको सरकारकै प्रतिवेदनले निष्कर्ष निकालेको छ । कर प्रणालीमा समयानुकूल संशोधनका लागि सरकारले गठन गरेको कर प्रणाली सुधार उच्चस्तरीय समितिले तयार गरेको प्रतिवेदनले सोसहित राजस्व न्यायाधिकरणको विद्यमान संरचनामा पनि परिवर्तन जरुरी रहेको उल्लेख गरेको छ ।
समितिले आइतबार अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको प्रतिवेदनले पछिल्लो दशकमा राजस्व वृद्धि हुन नसक्नुमा छुट पनि एउटा कारण रहेकाले राजस्व छुट नभई करको दायरा बढाउने र कर घटाउने नीति श्रेयस्कर हुने सुझाव दिएको छ । विगतमा लिइएका कतिपय सङ्कुचनकारी नीतिका कारण आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र सार्वजनिक वित्त परिचालनमा अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनले औँल्याएको छ । आर्थिक वृृद्धिमा सङ्कुुुचनको प्रमुख कारण राजस्व सङ्कलन क्षमतामा वृद्धि हुन नसक्नु रहेको ठहर प्रतिवेदनको छ, गोरखापत्रमा खबर छ ।