०८ असार २०८३, सोमबार
इसेवामार्फत ठगी

पैसा लुट्ने थलो बन्दै इसेवाको क्यूआर: अनलाइनमा सामान देखाउने, पछि ब्लक गरेर टाप !

चैत १९, २०८०
काठमाडौं
पैसा लुट्ने थलो बन्दै इसेवाको क्यूआर: अनलाइनमा सामान देखाउने, पछि ब्लक गरेर टाप !

दैनिक काम गरेर सामान्य गुजारा गरिरहेकी पोखराकी सुजिता गुरुङले इन्स्टाग्राममा स्क्रोल गर्दै जाँदा एउटा राम्रो र सस्तो कुर्ता भेटिन् । 

फेसन क्याटवाक नामको पेजमा भेटेको कुर्ता मन परेपछि किन्नका लागि त्यहाँ भएको नम्बर ९७०६२३२६५१ मा ह्वाट्सएपमा म्यासेज गरिन् । उताबाट पैसा एडभान्समा मागियो र सोही नम्बरको इसेवा एकाउन्टको क्यूआर कोड पठाइयो । 

२ दिनमै कुर्ता पोखरामा डेलिभर हुने विश्वासमा उनले १५ सय रुपैयाँ एकाउन्टमा राखिदिइन् । तर त्यो दुई दिन कहिल्यै आएन । कुर्ता किन आएन भनेर उनले पटक-पटक म्यासेज गरिन्, तर उताबाट कुनै प्रतिक्रिया आएन । 

 गुरुङले लोकान्तरसँग भनिन्, 'बल्लतल्ल गरेको बचत इसेवा प्रयोग गरेर लुटे । भन्नलाई त त्यो जम्मा १५ सय हो तर मेरो लागि ठूलो रकम थियो । सामान आउँछ भन्दाभन्दै मलाई ब्लक नै गरेर भाग्यो ।'

यस्तो घटना यो एउटा मात्र हैन । एउटा कुनै मोबाइल नम्बरबाट जसको नाममा पनि उत्तिखेरै खोल्न सकिने इसेवा एकाउन्टबाट पछिल्लो समय ठगी हुने गरेको भन्दै हजारौं उजुरी परेका छन् । ठगिएको रकम नै वार्षिक २ अर्ब माथि हुने गरेको नेपाल प्रहरी अपराध महाशाखाको तथ्यांकले बताउँछ । 

इलामकी सन्ध्या बरालले आफूलाई मन परेको कपडा देखेर मानसी कलेक्सन नामको पेजमा रहेको नम्बरमा सम्पर्क गरिन् । सुवास खत्री नामको ९७०६०१४८१६ नम्बरको इसेवामा उनले आफ्नो साथीमार्फत ४ हजार ७५० राखिदिइन् । भयो उस्तै, सामान कहिले आउँछ भनेर सोध्दासोध्दै एकदिन, दुईदिन गरेर अन्तिममा म्यासेज नै ब्लक भयो । 

 इसेवामार्फत ठगीमा परेकी अर्की प्रेरणा ओझाले आफ्नो ५ हजार २०० कसैले यसैगरी खाएर भागेको बताएकी छन् भने पेमा लोकु शेर्पाले इसेवाको क्यूआर कोडमार्फत आफू ६ हजार ठगिएको बताएकी छन् । अर्की पीडित शारदा शिवाकोटीले पनि आफू इसेवामार्फत ठगीमा परेको लोकान्तरलाई बताइन् । 

केवाईसी भेरिफाइ नगरिकनै कारोबार गर्न सकिने इसेवा अहिले ठगीको सहज र सर्वसुलभ माध्यम बनेको छ । 

null

रोमन चौधरी (९७०४१०६७९२), सुवास खवास (९७०६४७७७४), सुजन प्रसाईं (९७०६२३२६५१), सुवास खत्री (९७०६०१४८१६) जस्ता सामान्य नाम र नम्बरबाट एकाउन्ट खोल्ने र त्यसमार्फत ठगी गरेर पुनः एकाउन्ट बन्द गर्ने क्रम यतिमा मात्र सीमित छैन । 

इसेवाले अनभेरिफाइड एकाउन्टबाट पनि ५ हजारसम्म एजेन्टबाट क्यास लिन सक्ने सुविधा दिएको छ । फोन नम्बरकै भरमा अन्य कुनै कागजातविना खोलिने यस्ता एकाउन्ट लाखौंको संख्यामा छन् । यस्ता एकाउन्ट प्रयोग गरेर हुने ठगी दिनानुदिन बढिरहेको अपराध महाशाखाका एक अनुसन्धान अधिकृत बताउँछन् । 

null

 'सामानहरूको विज्ञापन राख्ने, विदेश पठाउँछु भन्ने, इसेवाको कर्मचारी हुँ भनेर विभिन्न अन्य ठगी गर्नेजस्ता प्रवृत्तिहरू आजकल निकै बढिरहेका छन्,' उनले लोकान्तरसँग भने, 'इसेवामा आएको पैसा रौतहट र पर्साबाट निकालेको तथ्यांकले देखाउँछ ।'

यसरी ठग्ने प्रयोजनका निम्ति ठगहरूले कुनै फोटोकपी सेन्टर या इसेवाकै क्यास एजेन्टकहाँ आएका ग्राहकको नागरिकता फोटोकपी गरेर लिने र अर्कै कसैको फोटो प्रयोग गर्ने अनि त्यसैका आधारमा मोबाइल सिम निकालेर इसेवा एकाउन्ट खोल्ने सजिलो उपाय अपनाउने गरेको बताए । 

ग्राहकको संख्या बढी देखाउने नाममा जसलाई पनि एकाउन्ट खोल्न दिएकाले यस्तो समस्या आउने गरेको उनले बताए । 'घरको फोटो खिचेर राख्दिए पनि इसेवाले एकाउन्ट भेरिफाइ गरिदएको उदाहरण हामीसँग छन्,' उनले लोकान्तरसँग भने ।

उनले मोबाइल बालेट प्रयोग गरेर गरिएको ठगीविरुद्ध वर्षको २ अर्ब बराबरको बिगो दाबी हुने गरेको लोकान्तरलाई बताए । 'उजुरी नपरेका त कति छन् कति,' उनले भने, 'उजुरी गर्नेहरूले वर्षको करिब २ अर्ब बिगो दाबी गर्ने गरेका छन् । तीमध्ये आधाभन्दा धेरै इसेवासँग सम्बन्धित देखिन्छन् ।'

नेपाल राष्ट्र बैंकमा पनि इसेवा प्रयोग गरेर गरिएका ठगीविरुद्ध टन्नै उजुरी परेका छन् । राष्ट्र बैंकका प्रवक्ता डा. डिल्लीराम पोखरेलले मोबाइल वालेट प्रयोग गर्दा आफू ठगिएको भन्दै राष्ट्र बैंकमा धेरै उजुरी परेको बताए । 

डा. पोखरेलले भने, 'इसेवालगायतमा मोबाइल वालेटमा विभिन्न समस्या आएको भन्दै राष्ट्र बैंकमा उजुरी गर्नेको संख्या प्रशस्त छ र हामीले त्यसको समाधानका निम्ति पहल गरिरहेका छौं । सम्बन्धित पक्षलाई बोलाएर बेलाबेलामा निर्देशनहरू पनि दिएका छौं ।'

राष्ट्र बैंकले लोकान्तरलाई पठाएको उजुरीसम्बन्धी सूचनामा भनिएको छ, 'विभिन्न निकाय तथा व्यक्तिहरूबाट विभिन्न माध्यमहरूबाट मोबाइल वालेट प्रयोगकर्ताहरूबाट जानकारीमा आएकामध्ये आर्थिक वर्ष २०७९/८० मा ४६ र चालू आर्थिक वर्षमा २९ वटा गुनासाहरूको सम्बोधन भएको छ ।' 

कतिपय गुनासा गम्भीर प्रकृतिका रहेको राष्ट्र बैंकले जनाएको छ । 

यसबारे प्रतिक्रिया लिन खोज्दा इसेवाका गुनासो सुन्ने अधिकारी विजय राईसँग टेलिफोन सम्पर्क हुन सकेन । यसअघिको समाचारमा सामान्य प्रतिक्रिया दिएका एक कर्मचारी निशान अधिकारीले इसेवाले यस्तो ठगी कार्य रोक्न धेरै उपायहरू अपनाइरहेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्