३० जेठ २०८३, शनिबार

८ कक्षाको परीक्षा: ​मैवाखोलाका १ सय ७८ विद्यार्थीमध्ये ५ जना मात्र उत्तीर्ण, ४ विद्यालय 'नील'

चैत २६, २०८०
ताप्लेजुङ
८ कक्षाको परीक्षा: ​मैवाखोलाका १ सय ७८ विद्यार्थीमध्ये ५ जना मात्र उत्तीर्ण, ४ विद्यालय 'नील'

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा ५ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी १ सय ७८ विद्यार्थीमध्ये ५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । 

गाउँपालिकामा आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए ।

जसमध्ये ४ वटा विद्यालयका विद्यार्थी 'नील' भएको मैवाखोला गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने दुई वटा सामुदायिक विद्यालय रहेका छन् ।

दुई वटा विषयमा अनुत्तीर्ण हुने २५ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका हुन् । आउँदो वैशाख १० गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा सञ्चालन गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । उत्तर पुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ ।

'शिक्षा जस्तो संवेदनशील क्षेत्र तथा राज्यको ठूलो लगानी भएका क्षेत्रमा निराशाजनक परीक्षाफलले सिङ्गो सामुदायिक विद्यालयको अवस्था छर्लङ्ग पारेको छ', अध्यक्ष वनेमले भने, 'विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षाप्रेमी र नागरिक समाजले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।'

यो परिणामले सामुदायिक विद्यालयको वास्तविक अवस्था देखिएको र आगामी दिनका लागि योजना बनाउन मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्