
ओटी (अप्रेसन थिएटर) ड्रेसिङ टेबल १ रुपैयाँमा पाइन्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, सरकारी निकायले नै यसलाई १ रुपैयाँमा खरिद गरेको छ ।
नेपाली बजारमा त्यत्तिको टेबलको मूल्य न्यूनतम् १५/२० हजार पर्ने जानकारहरू बताउँछन् । तर, न्यू संकल्प इन्टरप्राइजेजले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १ रुपैयाँमा ओटी ड्रेसिङ टेबल आपूर्ति गरेको छ ।
त्यो मात्र हैन, एक्सरे चेस्ट स्ट्यान्ड पनि १ रुपैयाँमै आपूर्ति गरिएको छ ।
सर्जिकल सिजरलाई बजारमा कम्तीमा २५० देखि ५५० रुपैयाँ पर्ने गरेको छ । तर, उक्त आपूर्तिकर्ताले शुक्रराज अस्पताललाई १ रुपैयाँमै आपूर्ति गरेको पाइएको छ ।
चिकित्सकले लगाउने एप्रोन कोटको मूल्य पनि ५ सयदेखि १ हजार रुपैयाँ पर्छ, तर उक्त कम्पनीले १ रुपैयाँमै उपलब्ध गराएको छ ।
अस्पतालको बेड सीट पनि एक रुपैयाँमै आपूर्ति गरिएको छ ।

सिरिन्जको मूल्य बजारमा कम्तीमा ५ देखि १० रुपैयाँ पर्छ, तर उक्त आपूर्तिकर्ताले १० पैसा देखि ४० पैसासम्ममा सिरिन्ज उपलब्ध गराएको छ ।
गज पिसको मूल्य प्रतिपिस ९ देखि १० रुपैयाँ पर्छ, कटन रोलको २ सयदेखि २५० रुपैयाँ पर्छ, तर सो आपूर्तिकर्ताले १ रुपैयाँकै दरमा आपूर्ति गरेको पाइएको छ ।
माथि उल्लेख गरिएकाबाहेक सर्जिकल मास्क, एक्जानिमेसन ग्लोब्स, सर्जिकल ग्लोब्स, विभिन्न साइजका सिरिन्ज, बार कोड स्टिकर, स्यानिटाइजरसहित १२१ प्रकारका सर्जिकल आइटम १ रुपैयाँ वा सोभन्दा कम दरमा आपूर्ति गरिएको छ ।
सामान्यतया सरकारी अस्पतालमा औषधि, सर्जिकल उपकरणलगायतका सामग्री आपूर्ति गर्दा बजारको प्रचलित भाउभन्दा बढी दरमा किन्ने गरेको पाइन्छ । तर, यहाँ ठीक उल्टो भएको छ । हरेक आइटम १ रुपैयाँको दरमा आपूर्ति गरिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले विभिन्न परिणाममा १२१ प्रकारका सर्जिकल आइटम खरिद गर्नका लागि २०८० साउन २६ गते सूचना प्रकाशन गरेको थियो । ती सामग्री खरिदका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
आठ आपूर्तिकर्ताले बोलपत्र प्रस्ताव पेश गरेका थिए । श्री बासुकी मेडिसिन सप्लायर्सले १ करोड २० लाख ४० हजार ३०२ रुपैयाँ प्रस्ताव गरेको थियो भने क्रिमोनी इन्टरनेशनल ताहाचलले ६८ लाख ६१ हजार ७३३ रुपैयाँ प्रस्ताव गरेको थियो ।
त्यसैगरी सुप्रिम ट्रेडिङ्सले ५६ लाख ८ हजार रुपैयाँ, आरवाई ट्रेडर्स प्रालिले ५२ लाख १३ हजार ९६४ रुपैयाँ, केबलेश्वर मेडिसेल्स प्रालिले ४८ लाख ६२ हजार ७३४ रुपैयाँ प्रस्ताव गरेको थियो ।
त्यसैगरी न्यू पाथिभरा सर्जिकल हाउस प्रालिले ५ लाख ६१ हजार १६१ रुपैयाँ र न्यू संकल्प इन्टरप्राइजेजले ५ लाख १८ हजार ८३१ रुपैयाँ प्रस्ताव गरेका थिए ।
सबैभन्दा कम रकम प्रस्ताव गर्ने न्यू संकल्पले ठेक्का पाएको थियो । २०८० असोज १२ गते अस्पताल र इन्टरप्राइजेजबीच सम्झौता भएको थियो ।
टेन्डर हात पारेको न्यू संकल्प इन्टरप्राइजेजका सञ्चालक राजन गौतमले आफूहरूले कबोल गरेकै मूल्यमा सामान उपलब्ध गराइरहेको बताए ।
'सामान दिइरहेकै छौं । अलिकति घाटा भयो, त्यस्तै हो । कुनै खराब नियत छैन । बजारमा चलिरहेकै आइटम दिएका छौं,' उनले थपे, 'मिल्छ कि भनेर हालेको हो, घाटा लग्यो । ७० प्रतिशत सामान दिइसकेको छु । ३० प्रतिशत मात्र दिन बाँकी छ ।'
ठ्याक्कै कति घाटा लाग्यो भन्ने प्रश्नमा उनले हिसाब गर्न बाँकी रहेको बताए ।
'सर्जिकल आइटम १ रुपैयाँमा आपूर्ति गर्ने भनेर अन्त कतै ठेक्का हालेको छैन,' उनले थपे, 'तर, मेडिसिनतर्फ अन्त पनि १ रुपैयाँमा दिइरहेको छु । खोज्नुस् न तपाईं ।'

आफूहरूको पेसामा यस्तो हुने गरेको उनको भनाइ छ ।
घाटा हुने निश्चित हुँदाहुँदै कुन स्वार्थले ठेक्का हालेको भन्ने उनले खुलाएनन् ।
तर, अस्पतालका कर्मचारी भने अन्य कम्पनीलाई ठेक्कामा छिर्न नदिने घाटामा सम्झौता गरेको हुनसक्ने बताउँछन् ।
'घाटा भएपनि होस्, तर प्रतिस्पर्धीलाई ठेक्का लिन दिन्नँ भन्ने उद्देश्यका साथ त्यसरी ठेक्का लिएको होजस्तो लाग्छ,' अस्पतालका ती कर्मचारीले भने ।
उनले ठेक्का सम्झौता गरे पनि हालसम्म सम्झौताबमोजिम सबै सामान आपूर्ति गरिसकेका छैनन् । अहिलेसम्म झन्डै ५० प्रतिशत सामान स्टोरमा दाखिला भइसकेको स्टोरका कर्मचारी राजन आचार्यले बताए ।
'सबै सामान आपूर्ति भइसकेको छैन । लगभग ५० प्रतिशत जति सामान आपूर्ति भएको छ,' आचार्यले लोकान्तरसँग भने, 'अत्यावश्यक सामग्रीहरू आपूर्तिकर्ताले आपूर्ति गरिसकेको छ । बाँकी माग गर्दै आएका छौं ।'
यसरी सस्तोमा ठेक्का लिँदा आधा सामान दिने र आधा आपूर्ति नै नगरे पनि बिल बनाएर भुक्तानी लिने गरेको पाइएकाले त्यस्तो पनि हुन सक्ने उक्त अस्पतालकै अर्का कर्मचारीले आशंका गरे । 'केही समान दिएर आपूर्ति नगरेका सामानको पनि बिल बनाएर भुक्तानी लिएको हुनसक्छ,' उनले भने ।
माग गरिएको जस्तो गुणस्तर नभएर गुणस्तरहीन सामान आपूर्ति गरिएको हुन सक्ने पनि उनको आशंका छ । यस विषयमा अख्तियारले छानबिन गर्नुपर्ने उनले बताए ।
अस्पतालका प्रमुख डा. युवानिधि बसौला भने आफू आउनुअघि नै उक्त टेन्डर सम्झौता भएको बताउँछन् ।
'यसरी प्रतिआइटम १ रुपैयाँमा आपूर्ति गर्ने भनेर अन्य अस्पतालमा पनि ठेक्का पर्ने गर्छ,' उनले लोकान्तरसँग भने, 'म कान्ति बाल अस्पतालमा हुँदा त्यहाँ पनि यस्तै ठेक्का परेको थियो ।'