
बलिउड अभिनेता सञ्जय दत्त केही न केही विवादका कारण चर्चामा आइरहने पात्र हुन् । यिनै विवादमा आइरहने सञ्जय एक समय अपहरणबाट जोगिएको तथ्य सार्वजनिक भएको छ ।
आफूलाई डाकाले अपहरणको कोशिस गरेको खुलासा सञ्जय आफैँले गरेका छन् । यसको खुलासा उनले केही समयअघि कपिल शर्माको शोमा आएर गरेका थिए ।
सञ्जयका अनुसार सन् १९६० को दशकको कुरा हो । जब सञ्जय पिता सुनीलको फिल्म ‘मुझे जिने दो’को सुटिङ सेटमा थिए । त्यो बेला रुपा नामका डाकुको आतंक थियो । तिनै डाकु फिल्मको सेटसम्म पुगेका थिए ।
‘म त्यो समय बच्चा नै थिएँ । मेरो बुवा ‘मुँझे जिने दो’को सुटिङ गरिरहनुभएको थियो । उनीहरू आएर र मलाई काखमा बसाए । उनीहरूले मेरो बुवालाई ‘फिल्म बनाउन कति पैसा खर्च भयो ?’ भनी सोधे । बुवाले उनीहरूलाई ‘१५ लाख’ जवाफ दिनुभयो’, सञ्जयले भनेका छन् ।
यसपछि डाकाले बुवा सुनिललाई धम्क्याएका पनि थिए । ‘उनीहरूले मलाई काखमा राखेर बुवालाई ‘यदि हामीले यो बच्चालाई अपहरण गर्यौं भने तपाईं कति पैसा दिनुहुन्छ ?’ भनी सोधेका थिए । यो कुरा सुन्नासाथ बुवा डराउनुभयो र तत्कालै सुटिङ रद्द गरेर आमा र मलाई मुम्बई पठाउनुभयो’, सञ्जयले खुलासा गरेका छन् ।
सञ्जय मुम्बई आक्रमण र लागुऔषध दुर्व्यसन लगायतका विषयका कारण पहिले धेरैपटक विवादमा आएका थिए । अहिले भने यो क्रम अलि रोकिएको छ ।