
गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर संख्या बढाउने तयारी गरेका छन् ।
मन्त्रिपरिषद्का प्रवक्ता मन्त्री हरिबहादुर चुमानका अनुसार मन्त्रालय फुटाएर ९ वटा बनाउने तयारी भएको हो ।
अहिले गण्डकीमा मुख्यमन्त्रीसहित ७ सदस्यीय मन्त्रिपरिषद् छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य र कानून मन्त्रालय थप्न सिफारिस गरेको मन्त्री चुमानले जानकारी दिए ।
यसअघि तत्कालीन नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले गण्डकीमा मन्त्रालय थपेर १२ पुर्याएको थियो । मन्त्रालयको संख्या बढी भएपछि आलोचनासमेत भएको थियो । त्यसपछि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा निर्वाचित भएर आएपछि आफ्नो नेतृत्वमा मन्त्रालय संख्या घटाउने बताएका थिए । सोहीअनुरुप उनले गण्डकीको मुख्यमन्त्री भइसकेपछि १२ मन्त्रालय घटाएर ७ बनाएका थिए ।
गण्डकीको मुख्यमन्त्रीमा दोस्रो इनिङ्ग सम्हालिरहँदा भने अधिकारीले मन्त्रालयको संख्या थप्ने निर्णय गरेका छन् ।
’अप्ठ्यारो परेको थियो स्वास्थ्य मन्त्रालय अलग्गै मन्त्रालयको रुपमा काम गर्नुपर्ने भयो । आन्तरिक तथा कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा लगेर गाभिएको थियो त्यसलाई बाहिर निकाल्नुपर्छ भनेर सिफारिस भएको छ,’ प्रवक्ता चुमानले लोकान्तरसँग भने ।
मंगलवार बसेको मन्त्रिपरिषद बैठकले गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य बेग्लै मन्त्रालय बनाउने निर्णय गरेको हो । यस्तै, आन्तरिक मामिला मन्त्रालय फुटाएर कानुन मन्त्रालय थप्ने निर्णय भएको छ ।
बुधवार मात्र सर्वोच्च अदालतले गण्डकीमा मुख्यमन्त्री अधिकारीलाई कामचलाउ सरकारको रुपमा रहँदै दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नलिन आदेश दिएको छ ।