२६ जेठ २०८३, मंगलबार

आज चैते दशैं मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

बैशाख ४, २०८१
काठमाडौं
आज चैते दशैं मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज चैते दशैं पर्व मनाइँदै छ। हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।

चैते दशैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ । यसैगरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रूपमा मनाउने गरिन्छ । रामनवमीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।

गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।  चैते दशैंका अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्