
नयाँ मुख्यमन्त्री बनेको दुई हप्ताभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ ।
मुख्यमन्त्री जोखबहादुर महराले सत्ता साझेदार सबै दलबाट प्रतिनिधित्व हुने गरी दश सदस्यीय मन्त्रिमण्डल बनाए हुन् । ‘महराको क्याबिनेट’ मा अनुभवी र नयाँको समिश्रण छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । १० सदस्यीय मन्त्रिमण्डलमा प्रमुख सत्ता साझेदार नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित २, जनता समाजवादी पार्टी (जसपा), स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट १/१ जना मन्त्री बनेका छन् ।
एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य दोस्रो वरीयताअनुसार अर्थमन्त्री बनेका छन्।
रुपन्देहीका भूमिश्वर ढकाललाई शहरी विकास मन्त्री, गुल्मीका दिनेश पन्थी गृह मन्त्री, कपिलवस्तुका अर्जुनकुमार केसीलाई वन मन्त्री र बाँकेका रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्री पाउने बताइए पनि मुख्यमन्त्री महराले उनीहरूलाई विनाविभागीय मन्त्रीका रुपमा बिहीवार नियुक्त गरेका छन् ।
एमालेका पाँच जना मध्ये आचार्यबाहेक अरु सबै नयाँ मन्त्री हुन् ।
त्यस्तै यस अघि नै मन्त्री भइसकेका रोल्पाका नेकपा माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
स्वतन्त्र निर्वाचन जितेका पुन माओवादीमा प्रवेश गरेपछि पहिलोपटक मन्त्री बनेका हुन् ।
पश्चिम नवलपरासीका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई उद्योग पर्यटन तथा सहकारी मन्त्री पाउने बताइए पनि अहिले विनाविभागीय रुपमा नियुक्त भएका छन् ।
त्यस्तै बाँकेका जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाल अहिलेलाई भूमि व्यवस्था कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन ।
बर्दियाका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने बताइए पनि उनी पनि अहिले विनाविभागीय छन । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जसपा र नाउपालाई थप एक मन्त्रालय फुटाएर भए पनि भागबन्डा पुर्याउने गरी मुख्यमन्त्री महरा लागेको बताइएको छ । यस अघि माओवादीका कूलप्रसाद केसी नेतृत्वको लुम्बिनी सरकार सबैभन्दा ‘जम्बो’ १७ सदस्यीय बनेको थियो ।
नवनियुक्त मन्त्रीहरूले बिहीवार साँझ प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिनेछन् ।
संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन परिवर्तन भएपछि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार परिवर्तन भएर महरालाई सरकारको नेतृत्व गर्ने अवसर जुरेको थियो । प्रचण्डका विश्वासपात्र मानिने महराले लुम्बिनी सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् ।