
दार्चुलाको टाटे नगरपालिका– ३ का ४७ वर्षीय गणेश दत्त बडू सुन तस्करी प्रकरणमा पुनः पक्राउ परेका छन् । एक किलो ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद घटनामा बडूसहित ७ जना पक्राउ परेका हुन् । बडू यसअघि २०७४ भदौ १९ मा धोविचौरबाट बरामद भएको ८८ किलो सुनमा पनि जोडिएका थिए । तत्कालीन समयमा पक्राउ परेर जिल्ला अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर छुटेको बडूले प्रहरी बयानमा खुलाएका छन्। तर, प्रहरीले खोजी गर्दा उक्त प्रमाण भेटिएको छैन ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा बडू पछिल्लो घटनाका मुख्य योजनाकार रहेको बताइएको छ । चिनियाँ नागरिकले दिएको सुन ल्याएर बिक्रीका लागि राखेको बडूले प्रहरी बयानमा खुलाएका छन् । काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलबाट पक्राउ परेका बडूसँगै उनका छोरा आयुष पनि पक्राउ परेका छन् । आयुष भर्खरै २१ वर्षका छन् । उनी स्नातक तह पढ्दै गरेका विद्यार्थी पनि हुन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार बडूको घर बाफलमा छ । उनका दुई छोरी र आमा पनि छन् । बडूका बाबुछोरासहित पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली आटपाही थाना बस्ने अमोल विभुते, उनका भाइ ऋषिकेशप्रसाद विभुते, गणेश सतिश बाल्टे, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल छन् ।
सुन तस्करीको डिलिङ गर्नै कोठा भाडामा
सुन तस्करीका लागि खरिद/बिक्री गर्न बडूले काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलमा लामो समयदेखि कोठा भाडामा लिएको पाइएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार गोप्यरूपमा बडूले कोठा भाडामा लिएका थिए ।
‘घरबेटीलाई कहिलेकाहीँ अफिसको मिटिङ गर्ने हो भन्दै बडूले कोठा भाडामा लिएका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘तर पटक–पटक भारतीय नागरिकहरू आउने/जाने गरेको देखेपछि स्थानीयले प्रहरीलाई सुराकी दिएपछि अनुसन्धान अघि बढेको हो ।’
पैसा ल्याएर डिलिङ गर्दै गर्दा भारतीय पक्राउ
शुरूमा प्रहरीमा सूचना आउँदा भारतीय नागरिकहरू लगातार आउजाउ गरेकाले शङ्कास्पद योजना बनाएको हुन सक्नेतर्फ इंगित थियो । जब प्रहरीले नजिकबाट नियाले उनीहरूको धन्दा सुन तस्करीमा रहेको खुल्यो । भारतीय नागरिकले प्रयोग गर्ने मोटरसाइकललाई समेत पिछा गरेर प्रहरीले उनीहरूको रेकी शुरू गर्यो । पक्राउ परेकामध्ये अमोल, ऋषिकेश र गणेश लामो समयदेखि कोटेश्वरमा डेरा गरी बस्दै आएका थिए ।
उनीहरूले बडूसँग मिलेर यसअघि पनि सुनको कारोबार गरेको आशंका प्रहरीको छ । गणेशका बाबुछोरा, दिनेश र भरतले चिनियाँ नागरिकसँगको सेटिङमा काठमाडौंमा सुन ल्याउने र त्यसको बिक्रीका लागि अमोल, ऋषिकेश र गणेशले डिल गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिन्छ । उनीहरूले नै भारतीय गिरोहबाट पैसा ल्याएर बिहीबार राति डिल गर्दैगर्दा डीएसपी सुरक्षा केसी नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको जानकारी अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले दिए ।
अब के हुन्छ ?
प्रहरीले अहिले तत्कालका लागि सुन र पक्राउ परेका व्यक्तिहरूलाई राजस्व अनुसन्धान विभागमा पठाएको छ । विभागले आफ्नो कारबाही सकेपछि उनीहरूविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने जानकारी अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले दिए । उनले भने, ‘अहिले हामीले राजस्वलाई पत्र पठाउँदा संगठित अपराधमा पनि मुद्दा चलाउने राय व्यक्त गरेका छौं ।’
प्रहरीले यो घटनामा चिनियाँ गिरोहको पनि खोजी गर्ने जानकारी रेग्मीले दिए । यो सँगै यो गिरोहले यसअघि गरेका सुन तस्करीका घटनाबारे पनि थप अनुसन्धान गर्ने अनुसन्धान कार्यालयले जनाएको छ ।