![पार्टी कसले फुटायो देखिएकै छ, सर्वोच्च जान्छौं– उपेन्द्र यादव [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Upendra_Yadav_XVyn1bkI9H.jpg)
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् ।
अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले देश र जनताको हितका लागि नभएर अरू कसैको हितका लागि पार्टी फुटाएको आरोप लगाए । निर्वाचन आयोगले गरेको दल दर्ताको निर्णयविरुद्ध आफूहरू सर्वोच्च अदालत जाने उनको भनाइ छ ।
वर्तमान सरकारमा रहने कि नरहने भन्ने विषयमा पार्टीको बैठक बसेर निर्णय गर्ने उनको भनाइ छ । प्रस्तुत छ, जसपा नेपालका अध्यक्ष यादवसँग लोकान्तरकर्मी अजय अनुरागीले गरेको छोटो कुराकानीको सम्पादित अंश:
तपाईं देशबाहिर रहेका बेला पार्टी विभाजन भयो,यसलाई कसरी लिनुभएको छ?
उहाँहरूले आफैं केही गर्नुभएको होइन, अरू कसैले गराएको हो । देश, जनता र आदिवासीको हितमा होइन । उहाँहरू अरू कसैको खेलौना बनेको मात्र हो । अरू कसैको 'गेम प्लान'को गोटी बन्नुभएको छ । पार्टी फुटेकै होइन । केही व्यक्तिहरू गएका हुन् । ३९० केन्द्रीय सदस्यमा १२/१३ जना गएका छन् । सबै संगठन यथावत नै छ । केही व्यक्ति अरू कसैको स्वार्थको गोटी बनेका हुन् ।
कसको स्वार्थको गोटी बनेको हो ?
त्यो समयले बताउँछ । सबैले बुझेकै छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मिलेर तपाईंको पार्टी फुटाएको भन्न खोज्नुभएको हो ?
त्यो उजागर भइसक्यो नि ! अशोक राईले कसको हितमा काम गर्नुभयो भन्ने कुरा त्यसबाटै देखिन्छ । आफ्नो हितभन्दा अरूको हितका लागि काम गरेको देखियो ।
प्रधानमन्त्री नै लाग्नु भएको हो वा ओलीजी मात्र लाग्नु भएको हो भन्ने विषयमा हामीले छानबिन गरिरहेका छौं ।
विभाजित दलले निर्वाचन आयोगबाट मान्यता पाइसक्यो,अब तपाईंको'मुभ'के हुन्छ ?
निर्वाचन आयोगले जसरी हतार गरेर दल दर्ताको प्रमाण पत्र दिएको छ, त्यसले पनि यो काम कसले गराएको हो भन्ने कुरा बुझिन्छ । निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध हामी रिट लिएर सर्वोच्च अदालत जान्छौं ।
तपाईं अहिलेको सरकारमा बस्ने कि समर्थन फिर्ता लिने ?
त्यस विषयमा पार्टीमा छलफल हुन्छ । पार्टीमा छलफल गरेर निर्णय लिन्छौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र तपाईं कांग्रेससँग मिलेर आलोपालो प्रधानमन्त्री बन्ने खेलमा लागेकाले पार्टी फुटेको भनिएको छ । त्यस विषयमा के भन्नुहुन्छ ?
त्यो सबै गलत हो । अफबाह हो ।
वैकल्पिक गठबन्धन बनाउन तपाईंले प्रयास गरेको होइन ?
त्यो केही पनि होइन । त्यो सबै अफबाह हो ।
नेकपा एकीकृत समाजवादीसँग एकता गर्न लाग्नुभएको हो?
एकता होइन, समाजवादी मोर्चामा सहकार्य गरि नै रहेका छौं ।