
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावापानी र मौसम साँच्चिकै प्रशंसा गर्न लायक छ ।
रारा ताल नेपालको प्रसिद्ध र सबैभन्दा ठूलो ताल हो । १६७ मिटर गहिराइ रहेको यो ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको अधिकतम लम्बाइ ५ किमी र अधिकतम चौडाइ ३.२ किमी छ ।

मौसमअनुसार दिनमै ५–६ चोटी रङ्ग फेर्छ राराले । कहिले निलो, कहिले बैजनी, कहिले खैरो त कहिले सिम्रिकजस्तो देखिन्छ । अवलोकनका लागि पुगेका पर्यटकहरू राराको प्राकृतिक सुन्दरता देख्दा मन्त्र मग्न हुन्छन् ।
रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने रारा तालको सुरक्षाको जिम्मा पनि नेपाली सेनाले लिएको छ ।

निकुञ्ज क्षेत्रमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । विश्वकै दुर्लभ ‘स्नो टाउट’ प्रजातिको माछा लगायतका जीवजन्तुहरू यहाँ पाइन्छन् । रारा ताल आन्तरिक तथा वाह्य पर्यटकहरूको मुख्य रोजाइमा पर्ने गर्दछ । रारामा बिहान र बेलुकीको समयमा बोटिङ र डुङ्गा चल्ने गर्दछ । दिउँसोको समयमा भने हावा चल्ने भएका कारण डुङ्गा चल्ने गरेको छैन । राराको अवलोकनका लागि पुग्ने पर्यटकहरू प्राकृतिक सुन्दरताले भरिपूर्ण निश्चल अनि कञ्चन तालको पानीमाथि डुङ्गा सयर गर्दा प्रसन्न हुन्छन् ।

तालजस्तै यहाँ बसोबासका लागि वातावरण पनि प्राकृतिक छ । प्रकृतिको काखमा तालको क्षेउमै बसेर खान–बस्न मिल्ने डाँफे रेष्टुरेन्ड छ । ताल क्षेत्रबाट १० देखि १५ मिनेट हिँड्यो भने वास बस्नका लागि रारा होमस्टे पुग्न सकिन्छ । त्यहाँ हुन्छ आथित्यताको शुरूवात । मौलिक पन अनि रहन–सहन, मार्सी चामलको भात, कोदो र फापरको रोटी छानी–छानी खान पाइन्छ ।

रारा जानका लागि हवाई, सवारीसाधन तथा स्थलमार्गको प्रयोग गर्न सकिन्छ । पछिल्लो समयमा मोटरसाइकलमा पनि रारा पुग्न सकिन्छ । तर मोटरसाइकलको यात्रा गर्दा धुलोका कारण मान्छे नै चिन्न नसक्ने अवस्था भने आउँछ । काठमाडौंबाट रारा जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज विमानस्थलमा ओर्लिएपछि हवाइमार्गबाट रारा पुग्न दुईवटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राँजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ ।

हवाइमार्गबाट जाँदा भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घण्टा हिँडेपछि रारा ताल पुगिन्छ ।
स्थलमार्गबाट आफ्नै सवारीसाधनमा जाने हो भने सुर्खेत हुँदै दैलेख, कालिकोट र जुम्लापछि मुगु पुग्न सकिन्छ ।

समुद्र सतहबाट दुई हजार ९९० मिटरको उचाइमा यो तालको पूरा आकृति हेर्न समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो ।
रारा ताललाई तत्कालीन राजा महेन्द्र (कवि मवीवि शाह) ले २०२० सालमा ‘स्वर्गकी अप्सरा’ भनेर नामकरण गरेका थिए ।