
ललितपुरको महालक्ष्मी नगरपालिका– १७ सातदोबाटोका ५२ वर्षीय धर्मराज ओझा गत वैशाख १७ गतेबाट सम्पर्कबिहीन भए । नेपाल टेलिकममा कार्यरत ओझाले स्नातकोत्तर सम्मको अध्ययन गरेका थिए । उनी हराएपछि श्रीमती भीमा ओझाले प्रहरीमा उजुरी दिइन् । ओझा हराउनुको कारणबारे सोध्दा भीमा भन्छिन्, ‘सबै कुरा ठीकठाकै थियो, एक्कासि सम्पर्कविहीन हुनुभयो, अहिलेसम्म भेटिनुभएको छैन ।’
महोत्तरी खयरमारा घर भएर ललितपुर बस्दै आएका कमलकुमार तामाङ गत साउन २७ गतेदेखि बेपत्ता छन् । उनकी श्रीमती छिरिमाया तामाङले प्रहरीमा उजुरी दिएकी छन् । छिरिमायाका अनुसार कमल १० वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका थिए । कमलले ‘डिभोर्स’ मागेका थिए । छिरिमायाले मानिनन् । सामान्य घरझगडामा कमल घरै छाडेर हिँडे । छिरिमायाको एउटा सन्तान छ । कमल अहिलेसम्म उनको सम्पर्कमा आएका छैनन् । ‘विदेशबाट फर्किएपछि मलाई डिभोर्स चाहियो भन्नुभयो, मैले दिन्नँ भने, रिसाएर घर आउनुभएन,’ छिरिमाया भन्छिन्, ‘अहिलेसम्म उहाँ सम्पर्कमा आउनुभएको छैन ।’
पूर्वी नवलपरासीस्थित मध्यबिन्दु नगरपालिका– ७ की २५ वर्षीया सुकमाया बोटे सामान्य झगडामा घरै छाडेर भागिन् । उनका श्रीमान् कृष्ण बोटेले प्रहरीमा उजुरी दिए पनि हालसम्म भेटिएकी छैनन् । गत साउन २ गते ७ वर्षीय छोरासहित उनी परिवारसँग सम्पर्कविहीन भएकी थिइन् । कृष्ण भन्छन्, ‘मैले माया गर्थेँ नै, कहिलेकाहीँ त ठाकठुक परिहाल्छ नि ! एक्कासि छोरालाई पनि लिएर कता गइन्, थाहा भएन ।’
कञ्चनपुर वेदकोटकी– १९ वर्षीया निशा दमाई गएको साउन २६ गते परिवारलाई थाहै नदिई घरबाट भागिन् । उनका बाबु रमेश दमाइले ‘छोरी हराएकाले खोजी पाऊँ’ भन्दै प्रहरीमा उजुरी हाले । आफन्त, छरछिमेक सबैतिर खोज्दा निशा नभेटिएपछि रमेशका परिवारले धेरै पीडा खेपे । गएको वैशाखको अन्तिममा छोरी नेपाल–भारत सीमा वनवासामा रहेको थाहा पाएपछि रमेश उतै पुगे । ‘हामीले धेरै खोज्यौं, भेटिएन । शुरूमा प्रहरीले खोज्छन् भनेर दिल्लीदेखि मुम्बईसम्म पुगेका रहेछन्,’ रमेशले भने, ‘१० दिन अघिमात्रै छोरी वनवासामा रहेको थाहा भयो । आफूले मन पराएको केटासँग गएकी रहिछ ।’
आफन्त हराएपछि खोजी गरिदिन प्रहरीमा परेका निवेदनका यी केही उदाहरण मात्रै हुन् । विगतमा मानिस हराउँदा फोन सम्पर्क नहुँदा खोजतलासका लागि प्रहरीलाई धेरै सकस हुन्थ्यो । अहिले सूचना प्रविधिसँगै एउटा सामान्य मोबाइल बोक्ने हैसियत सबैजसो नागरिकमा हुँदा पनि हराएका मानिस भेट्टाउन प्रहरीलाई हम्मेहम्मे पर्दै आएको छ ।
नेपाल प्रहरीमा दैनिक कम्तीमा ३४ जना मानिस (बालबालिकासमेत) हराएको निवेदन पर्दै आएको छ । प्रहरी मुख्यालयको अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७९/०८० मा मात्रै पुरुष र महिला गरी १५ हजार १ सय ८० जना मानिस हराएको उजुरी परेको थियो । त्यसमध्ये प्रहरी र सम्बन्धित परिवारको आफ्नै पहलमा ९ हजार २ सय २७ जना फेला परिसकेका छन् ।
विभागका अनुसार यो आर्थिक वर्षको वैशाखसम्म १२ हजार ६ सय ३० जना मानिस हराएको निवेदन परेका थिए, जसमध्ये ७ हजार ५ सय ५० जना भेटिएका छन् । यी २ आर्थिक वर्षको आँकडा हेर्दा १० हजार ९ सय ८३ जना मानिसहरू अझै भेटिएका छैनन् ।
विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङका अनुसार हराएर भेटिएका अधिकांश मानिससँग बुझ्दा घरपरिवारभित्र हुँदै आएको कलह, श्रीमान् श्रीमतीबीचको झगडा, गरिबी तथा कमजोर आर्थिक अवस्था, मन पराएको व्यक्ति रोजेर जानेलगायत कारण देखिन्छन् ।
एआईजी तामाङले भने, ‘हराएका मानिस प्रहरी अनुसन्धानका क्रममा फेला परे भने अभिलेखमा बस्छ, तर, आफैं परिवारको सम्पर्कमा पुगेकाले प्रहरीमा जानकारी नगराउँदा भेटिए कि भेटिएनन् थाहा हुँदैन ।’
मानेविद् करुण कुँवर विष्टको बुझाइमा मानिसहरू विभिन्न कारणले हराएर वा सम्पर्कविहीन भएर बस्छन्, जुन उमेरमा भरपर्छ । जहिल्यै हुने कलहबाट मुक्त हुन भन्दै एकाथरि मानिस परिवारबाट टाढा बस्न रुचाउँछन् । ‘किशोरावस्थामा एकआपसमा मनपराएर केटाकेटी परिवारलाई थाहै नदिई भाग्ने गरेको पनि देखिन्छ,’ विष्टले लोकान्तरसँग भनिन्, ‘केही मानिसमा यो संसार यस्तै रहेछ, अब शान्ति रोज्ने हो भनेर डिप्रेसनमा पुगेर परिवारबाट टाढा बस्ने गरेको पनि देखिन्छ ।’
प्रहरीमा खोजतलासका लागि परेका उजुरीको विवरण हेर्दा पनि श्रीमान् श्रीमतीबीच हुने घर झगडाका कारण श्रीमती अन्य केटासँग भाग्ने गरेको देखिन्छ । कतिपय अवस्थामा श्रीमान् पनि अर्की महिला लिएर सम्पर्कविहीन हुने गरेका छन् । विष्टका अनुसार आर्थिक अवस्था धेरै कमजोर भएपछि र ऋण लागेर तिर्न नसकेपछि सामाजिकरूपमा प्रतिष्ठा गुम्ने डरले पनि परिवारबाट सम्पर्क विहीन हुन्छन् ।
हराएको निवेदन दिएका तर, भेटिएपछि प्रहरीमै खबर गर्दा केही मानिस भने नेपालमा आम्दानी नभएर भारत छिरेको, एक छाक मीठो खान पाइन्छ भनेर घरबाट टाढा अरू नै परिचय बनाएर काम गर्ने गरेको, केटाले केटी मनपराएको तर, परिवारले विवाह गर्न नदिने भएपछि भागेर सम्पर्कविहीन भएको लगायतका कारण देखिएका छन् ।