२१ असार २०८३, आइतबार

अपराधीविरुद्ध धमाधम ‘रेड’ र ‘डिफ्युजन’ नोटिस– ११३ मध्ये ३७ जनालाई फिर्ता ल्याइयो​

जेठ १७, २०८१
काठमाडौं
अपराधीविरुद्ध धमाधम ‘रेड’ र ‘डिफ्युजन’ नोटिस– ११३ मध्ये ३७ जनालाई फिर्ता ल्याइयो​

जबर्जस्तीकरणी (बलात्कार) मुद्दामा फरार रामेछाप खाँडादेवी गाउँपालिका– ९ का गौरव नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) गुहार्नुपर्‍यो । २४ वर्षीय गौरवलाई रोमानियास्थित इन्टरपोल शाखाको सहयागेगमा गत जेठ ९ गते नेपाल ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत वर्ष वैशाख ११ मा नेपालीविरुद्ध रेड नोटिस जारी भएको थियो । काठमाडौं ल्याइएपछि गौरवलाई रामेछापमा पठाइएको थियो । 

सहकारीको डेढ अर्ब बढी रकम अपचलन गरेको आरोपमा फरार बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध प्रहरीले गत वर्ष जेठ ५ मा रेड नोटिस जारी गरेको थियो । 

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमार बाग्लुङ बजारका मुख्य कार्यालयसहित शाखा कार्यालयहरू गलकोट, बुर्तिवाङ तथा पोखरा शाखा कार्यालयमार्फत जम्मा भएको रकम अपचलन गरि फरार भएका थिए । यो सहकारीको बाग्लुङमा मात्रै ८ सय शेयर सदस्य र ३ हजार २ सय बचतकर्ताको रकम हिनामिना भएको प्रहरी निष्कर्ष छ । 

बलात्कार मुद्दामै फरार सुनसरी बराह क्षेत्र नगरपालिका–११ मधुवनका २५ वर्षीय सेहमान खाँलाई नेपाल प्रहरीले इन्टरपोलकै सहयोगमा कतारबाट नेपाल ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले सेहमानलाई पक्राउ गरि सहयोग गरिदिन प्रहरी मुख्यालयस्थित इन्टरपोल शाखामा पत्राचार गरेको थियो । २०७९ माघ २ गते रेड नोटिस जारी भएका सेहमानलाई इन्टरपोलको सहयोगमा गत वर्ष माघ ११ मा नेपाल ल्याएको थियो । 

नेपालमा अपराध गरेर विदेशमा लुकेर बसेका अभियुक्त/आरोपीलाई नेपाल ल्याउन प्रहरीले जारी गरेका रेड र डिफ्युजन नोटिसमध्येका यी केही उदाहरण मात्रै हुन् । 

विदेशमा लुकेर बसेका फरार अभियुक्त/आरोपीलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहयोग माग्छ । पक्राउपुर्जी जारी भइसकेका आरोपीको हकमा प्रहरीले रेड नोटिस जारी गर्छ । पक्राउ पुर्जी जारी नभएका तर अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि प्रहरीले डिफ्युजन नोटिस जारी गर्छ । 

प्रहरी मुख्यालयको अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म रेट नोटिस जारी भएका ३२ जना र डिफ्युजन नोटिस जारी भएका ५ जनालाई पक्राउ गरि नेपाल ल्याएको छ । त्यस्तै, यही अवधिमा ७४ जनाविरुद्ध रेट नोटिस र ३९ जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।  

विभागका अनुसार बलात्कार, ठगी, मानव तस्करी, बैंकिङ कसुर, साइबर अपराध, वैदेशिक रोजगार ठगी, अपहरण र सुन तस्करीसँग सम्बन्धित आरोपीलाई रेड र डिफ्युजन नोटिस जारी भएको छ । जसअनुसार हत्या आरोपका ८ जना, बलात्कारका     ८ जना, सुन तस्करीका ३ जना, ठगीका ५ जना, बैंकिङ कसुरका २ जना, साइबर अपराधका ३ जना, वैदेशिक रोजगार ठगीका २ जना, लागूऔषध तस्करीका १ जना र अपहरण मुद्दाका १ जना गरि ३७ जनाविरुद्ध रेड र डिफ्युजन नोटिस जारी भई पक्राउ परिसकेका छन् । 

सन् १९२३ मा स्थापना भएको इन्टरपोलको नेपाल १००औं सदस्य राष्ट्र हो । सन् १९६७ मा नेपाल इन्टरपोलको सदस्य बनेको थियो । इटरपोलमा १९६ सदस्य राष्ट्रहरू छन् । ‘हामी इन्टरपोलको सदस्य राष्ट्र भएकाले नेपालमा अपराध गरि विदेशमा लुकेर बसेका अभियुक्त वा आरोपीलाई नेपाल फिर्ता ल्याउन सजिलो भएको छ,’ एआईजी गुरुङले लोकान्तरसँग भने, ‘सम्बन्धित प्रहरी कार्यालयले इन्टरपोलमा सिफारिश गर्न पत्राचार गरेपछि प्रक्रिया पूरा गरेर सहयोग माग्छौं ।’ 

कुन देशबाट कति ल्याइयो ?

अमेरिका – १ (हत्याका आरोपी)

युनाइटेट अरब इमिरेट्स – १२ (सुन तस्करी, हत्या, अपहरण, बलात्कार, मानवतस्करीका आरोपी )

कतार– ७ (हत्या, बलात्कार, ठगीका आरोपी)

मकाउ – २ (मानवतस्करी, ठगी आरोपी)

कुवेत – २ (बलात्कार, लागुऔषध तस्करीका आरोपी)

मलेसिया – १ (साइबर अपराधका आरोपी)

सेसेल्स –  १ (वैदेशिक रोजगार ठगीका आरोपी)

पोर्चुगल – १ (ठगीका अरोपी)

साउदी अरेयिबा – १ (हत्याका आरोपी)

रोमानिया – १ (बलात्कारका आरोपी)

बहराइन – १ (हत्याका आरोपी)

चीन – १ (बैंकिङ कसुर आरोपी)

कमेन्ट गर्नुहोस्