०७ साउन २०८३, बिहीबार

सञ्चालनमा आयो बुटवलको पशु बधशालाः दैनिक हजार खसीबोका काट्न सकिने

बधशालाबाहिर काट्न रोक
जेठ १७, २०८१
बुटवल
सञ्चालनमा आयो बुटवलको पशु बधशालाः दैनिक हजार खसीबोका काट्न सकिने

उपभोक्तालाई स्वस्थकर मासु खुवाउने उद्देश्यले निर्माण भएको बुटवलको पशु बधशाला लामो प्रयासपछि सञ्चालनमा आएको छ । रुपन्देहीको बुटवल– १० धागो कारखानानजिकै दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरू जडान गरी परीक्षण गरिएको थियो । यसपश्चात् बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बधशालासँगै सुख्खानगर र होराइजन चोकनजिकै दुईवटा मासु बिक्री कक्ष उद्घाटन गरिएको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मासु बिक्री कक्षको शुभारम्भ गर्दै रुपन्देही र आसपासका जिल्लामा समेत सेवा दिन सक्नेगरी बधशाला निर्माण भएको बताए । उनले बुटवलमा सञ्चालन भएको पशु बधशालामा दैनिक एक हजार खसीबोका बध गर्नसक्ने क्षमता रहेकाले अन्य जिल्लालाई सहज रुपमा सेवा दिन सक्ने बताए । 

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका मासु पसलहरू अनुगमन गर्दा लापरबाही गरेको र खसीबोकाको भनेर बाख्रीको मासु बेचेका धेरै स्थान फेला पारेकोले बधशालाकै मासु उपभोगतर्फ उपभोक्ताले ध्यान दिनुपर्ने बताइन् । पशु बधशालाको सञ्चालक संस्था मुक्तिनाथ लाइभस्टक बैंकका प्रमुख उमेशकुमार आचार्यले आधुनिक प्रविधि र उपकरणसहित दक्ष जनशक्तिले पशु बधशालामा खाद्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर तयार गरिने बताए ।

उनले पशु बधशालाले दिने मासु र बजारमा पाउने मासुको मूल्य एउटै रहेको जनाए । बधशालालाई थप व्यवस्थित गर्दै सुख्खानगर र होराइजन चोकमा बिक्री कक्ष स्थापना गरिएको र अन्यत्र स्थापना गर्ने तयारीमा रहेको उनले बताए । मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ बुटवल उपमहानगरलाई बुझाउने छ । पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए । पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको उनले बताए ।

बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यावसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाइने र बध गरेको पाइएमा कारबाही गर्ने नगरको तयारी छ । बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरूले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् । 

झण्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।  यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्नेगरी प्रशोधन गर्ने योजना छ । 

कमेन्ट गर्नुहोस्