२८ जेठ २०८३, बिहीबार
जीवनदर्शन

प्रकृतिको नियम

जेठ १९, २०८१
काठमाडौं
प्रकृतिको नियम

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्यहीँ कायम रहन सक्दैनन् । 

बाजहरू आकाशमा उडिरहेका छन्, कावा खाँदै माथिमाथि पुगिरहेका हुन्छन् तर, उनीहरू पनि त्यहीँ कायम रहन सक्दैनन् । बाँसको अवस्था त्यस्तै हो, अरूहरूको अवस्था त्यस्तै हो । सबैले जहाँबाट उठेको हो, उठेको थियो त्यही स्थानमा फर्कनै पर्ने हुन्छ । 

एक जना विश्वविख्यात पर्वतारोहीले भनेका थिए, ‘सगरमाथाको शिखरमा पुग्नुभन्दा त्यहाँ टिक्न गाह्रो हुने रहेछ ।’ यो उनको अनुभव हो, जे भोगेका थिए त्यही बताए । सगरमाथा चड्ने धेरै छन् । धेरैले चडिसकेका छन् । अहिले पनि चडिरहेका छन्, चडी नै रहने छन् तर, शिखरमा टिकिरहन भने कसैले पनि सकेका छैनन्, कसैले पनि सक्दैनन्, सक्ने छैनन्  ।

किनकि चडेपछि ओर्लनै पर्ने र गएको स्थानमा फर्कनैपर्ने प्रकृतिको नियम हो । यसको विरुद्धमा कोही पनि जान सक्दैनन्, जान सक्ने छैनन्  । कसैले त्यस्तो धृष्टता गरे उसले कि टुट्नुपर्छ कि फुट्नुपर्छ ।  

एकपटक समुद्रले नदीहरूलाई सोधेछ, ‘बहिनीहरू हो ! तिमीहरू असपासको ठूलठूला रुखहरूलाई जरैदेखि उठाएर ल्याउँछौ तर, किनारमै भएको स–साना वेतहरूलाई भने ल्याउन सक्दैनौ नि किन ?’ समुद्रको कुरा सुनेर नदीहरूले भनेछन्, ‘रुखहरू प्रकृतिको विरुद्ध जान खोज्छन्  । उनीहरूले झुक्न जानेका छैनन् । जति माथि पुग्यो त्यति  त्यहीँ अडिन चाहन्छन् । त्यसैले उनीहरूलाई ल्याउँछौँ  । यसमा प्रकृतिले नै सघाएको हुन्छ तर, वेतहरू त्यस्ता छैनन् । उनीहरू जति माथि पुग्यो उति झुक्छन्, आफ्नो धरतल बिर्सँदैन । त्यसैले उनीहरूलाई ल्याउन सक्दैनौं ।’ 

यस प्रसङ्गमा केकति सत्यता छ त्यो त थाहा छैन तर, माथि पुगेपछि झुक्नैपर्छ भन्ने कुरा भने सत्य हो । जसले झुक्न जानेको हुन्छ उसले प्राकृतिक नियमलाई सन्तुलनमा राखेको हुन्छ । अनि जसले प्राकृतिक नियमलाई सन्तुलनमा राखेको हुन्छ उसलाई कसैले केही गर्न सक्दैनन् । कसैले केही गर्न खोजे प्रकृतिले नै बचाउने काम गर्छ । यसको अर्थ हो जसले झुक्यो उसले जान्यो अनि जसले जान्यो उसले हान्यो । 

हामीलाई थाहा छ अवस्था कसैको पनि स्थिर हुँदैन । न बालकको हुन्छ, न वयस्कको हुन्छ, न प्रौढको । बालक जवान बन्छ, जवान प्रौढ हुन्छ र ऊ पनि सँधै त्यही अवस्थामा रहन सक्दैन । यस्तो किन हुन्छ थाहा छ ? किनकि उनीहरू जहाँ छन् त्यहीँ रहन चाहन्छन् । चाहे प्रत्यक्ष होस् चाहे अप्रत्यक्ष । बालकहरू बालकै बनेर खेल्न चाहलान् । जवानहरू जवानै रहेर मोजमस्ती गर्न चाहलान् । प्रौढको चाहना आफ्नै होला । अरूहरूको चाहना पनि त्यस्तै होला तर, प्रकृतिले यसलाई मन पराउन्न । किनकि परिवर्तन उसको धर्मको हो । उसले हरेकलाई पठाउँदा आफ्नो धर्म पनि सँगै पठाएको हुन्छ  । त्यही धर्मले नै  सबैलाई पुगेको स्थानबाट कुन सड्को खस्काइसकेको हुन्छ पत्तै हुँदैन । 

आमाहरू भन्ने गर्छन् नानी पाँच वर्षको भयो तर, भएको चाहिँ के हो भने नानी पाँच वर्षको  भएको होइन उसको पाँच वर्ष गएको हो  । पाँच वर्ष हुँदा नहुँदै पाँच वर्ष जाने नियम उसले साथमै लिएर आएको हुन्छ, प्रकृतिले साथै दिएर पठाएको हुन्छ ।    

जसले प्रकृतिको यस नियमलाई बुझेको हुन्छ उसले सुख पाउँछ । जसले बुझेको छैन वा बुझ्ने प्रयास गरेको छैन उसले दुःख पाउँछ । अथवा यसलाई यसरी पनि भनौँ जसले प्रकृतिको उक्त नियमलाई पछ्याएको हुन्छ उसले प्राकृतिक नियमलाई सन्तुलनमा राखेको हुन्छ र सुख पाउँछ । जसले बेवास्ता गर्छ उसले प्राकृतिक नियमलाई बिगार्छ र दुःख पाउनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्