![८ अर्ब झ्वाम पार्ने सीबीको नालीबेली : पत्रकार, ओभरसियर हुँदै सहकारी ठगीसम्म [भिडियो]](https://lktcdn2.prixacdn.net/media/CB_Lama_5_XJ9D4HT1XG.jpg)
सीबी लामा उर्फ चन्द्रबहादुर तामाङ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दा तामाङले आफ्नो टाउकोमा लगाएको क्यापटोपी खोलेर हातमा लगाएको हतकडी छोप्ने प्रयास गर्दै थिए ।
उनी तिनै सीबी हुन्, जसले कुनै समय पत्रकारदेखि सरकारी ओभरसियर हुँदै सहकारी अध्यक्षसम्मको पहिचान बनाइसकेका छन् । उनै सीबी नेपाल प्रहरी र अदालतको फरार अभियुक्त बन्न पुगे ।
चन्द्रबहादुर विक्रम संवत् २०४९ सालतिर एक सञ्चार माध्यममा समाचार संकलनको काम गर्थे । केही वर्ष सञ्चारमाध्यममै काम गरेपछि तामाङ २०५२ सालमा तत्कालीन श्री ५ को सरकारको स्थानीय विकास मन्त्रालयमा प्राविधिक सहायक तहको ओभरसियर पदमा बहाल भए । त्यहाँ उनले ८ महिना काम गरेर छाडेको देखिन्छ ।
अनि शुरू हुन्छ तामाङको सहकारी सञ्चालनको यात्रा । तामाङ आफैं अध्यक्ष बनेर २०५५ सालमा कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड सञ्चालनमा ल्याए । सहकारी व्यवसायसँग लोभिएर होला, उनले सोही वर्ष अर्को नयाँ सहकारीसमेत स्थापना गरे, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ।
समानान्तर हिसाबले दुवै सहकारीको अध्यक्ष रहँदै आएका तामाङले २४ वर्षपछि अर्थात्, २०७६ पुस २४ गते कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको अध्यक्षबाट राजीनामा दिए । कारण थियो, त्यतिबेला एउटै व्यक्ति दुई संस्थामा अध्यक्ष हुन नपाउने भनी आएको सरकारी नियम । उक्त नियम लागू भएपछि तामाङ एउटा संस्थाबाट राजीनामा दिन बाध्य भएका थिए ।

उनीविरुद्ध सहकारीका बचतकर्ताको ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ–कान्तिपुर सहकारीको ६ अर्ब र पशुपति सहकारीको २ अर्ब ।
त्यसो त, कान्तिपुर सहकारीमा १ अर्ब ५१ करोडको मात्र लिखित उजुरी आएको थियो । त्यो अझै बढ्ने अनुमान प्रहरीको छ । हालसम्म कान्तिपुर सहकारीका ८ सय ५२ बचतकर्ताको १ अर्ब ५१ करोडभन्दा धेरै निक्षेप अपचलन भएको उजुरी प्रहरीमा परेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पशुपति सहकारीविरुद्ध ५४ जनाले १२ करोड रुपैयाँको माग दाबीसहित जाहेरी हालेका छन् । यस मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ ।
तामाङविरुद्ध नेपाल प्रहरीका विभिन्न इकाइमा चार वटा बैंकिङ कसुरको मुद्दा पनि छ ।
उनी तीन वटा मुद्दामा फरार अभियुक्त रहेको प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम सीआरएसमा देखिएको छ । काभ्रे घर भई ललितपुर महानगरपालिकास्थित वेस्टर्न अर्पाटमेन्टमा बस्ने चन्द्रबहादुर प्रहरीले आफूलाई खोजिरहेको पत्तो पाएपछि सम्पर्कविहीन बनेका थिए ।
पछिल्लो एघार महिनायता धादिङदेखि चितवनसम्म फ्याल्याट सर्दै प्रहरीको आँखा छलिरहेका थिए ।
२०८० साउन १ गते पशुपति सेभिङ एन्ड क्रेडिट को– अपरेटिभविरुद्ध सहकारी व्यवस्थापन समितिको कार्यालयमा निवेदन परेको थियो ।

त्यस्तै, बचतकर्ताले प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएपछि काठमाडौं जिल्ला अदालतले गत फागुनमा पक्राउ अनुमति दिएको थियो । लुकेर बसेको अवस्थामा उनलाई चितवनको भरतपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
तामाङले सहकारीको रकम अपचलन गरी विभिन्न ठाउँमा घरजग्गा, अस्पताल तथा कलेजहरूसम्म लगानी गरेका थिए । २०५९ सालमा उनले तीनकुनेमा कान्तिपुर अस्पताल स्थापना गरेका थिए । तीनकुनेमै कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स प्रालि नामको कलेज पनि खोलेका थिए ।
त्यस्तै, सहकारीकै पैसाबाट तामाङले काठमाडौं, खोटाङ, मकवानपुरलगायत ३२ ठाउँमा ४ सयभन्दा बढी रोपनी घर जग्गामा लगानी गरेको विवरण छ ।
भिडियो :