×

माधव नेपालको छटपटाहट

माधव नेपालको विरोधाभाष : आफ्नै दलभित्र कमजोर, बाहिर ‘दोहोरो बार्गेनिङ’ !

काठमाडाैं | जेठ २२, २०८१

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पार्टीमा मात्रै होइन संसदीय दलमा समेत कमजोर स्थितिमा छन् । तर, उनको ‘बार्गेनिङ’ भने ठूलो र बलियो छ । प्रतिनिधि सभामा जम्मा १० सिटको प्रतिनिधित्व गर्ने नेपालले एकपटक होइन पटकपटक सत्तालाई धम्क्याएर दबाबमा राख्दै आएका छन् । 

प्रदेशमा पनि उनको उपस्थिति कमजोर नै छ । तर, ‘निर्णायक दबाब’ दिन छोडेका छैनन् । नेपालले सत्ता समीकरणमा ठूलै बार्गेनिङ गरेर केन्द्रमा मन्त्रीदेखि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसम्म लाभ पाएका छन् । तर, उनी अझै पनि सन्तुष्ट छैनन् । 


Advertisment

गत फागुन २१ मा नेपाली कांग्रेस सत्ताबाट बाहिरिएर नेकपा (एमाले)सहितको नयाँ समीकरणमा भित्रिँदादेखिकै नेपालको असन्तुष्टि अझै साम्य भएको छैन । 


Advertisment

नयाँ समीकरण बन्दा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग उनले प्रधानमन्त्रीकै बार्गेनिङ गरे । बार्गेनिङ मात्रै होइन तीन नेताबीच नेपाललाई प्रधानमन्त्री नै दिनेगरी सहमति भएको समाजवादीका नेताहरू बताउँछन् ।

नेपालले अहिले प्रचण्ड–ओलीलाई सहमति कार्यान्वयनका लागि दबाब दिएको स्रोतको दाबी छ । ‘हो, उहाँ पार्टी केन्द्रको पदाधिकारी र संसदीय दलमा मतले कमजोर नै हुनुहुन्छ । तर, जतिसुकै कमजोर र संकट भए पनि आफ्नै क्रियाशीलताले टिक्छु भन्ने उच्च मनोबल उहाँमा छ । यसैले उहाँले ठूला र बलिया दलका नेतालाई पनि लतारिरहनुभएको छ,’ समाजवादीका एक नेताले लोकान्तरसँग भने, ‘यसअघि कांग्रेससँगको सहमतिमा पनि उहाँलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । गठबन्धन तोड्ने शर्तमा उहाँलाई पनि एकपटक प्रधानमन्त्री दिने समझदारी नयाँ समीकरण बन्दा पनि भएको हो । तर, प्रचण्ड र ओलीबाट सहमति कार्यान्वयन नगर्ने छाँट देखेपछि फेरि दबाब दिन थाल्नुभएको हो ।’

एमाले विभाजन नगरी बसेको भए त्यतै बहुमत आर्जन गर्न सक्ने अवस्थामा पनि अपमानित भएको महसुस गरेर नेपालले पार्टी विभाजन गरेको ती नेता बताउँछन् । ‘कुर्दा र धैर्य गर्दा पाइन्छ भन्ने बुझाइ नेपालको छ । यसअघि पनि धैर्यता देखाउँदा पद पाएको देखिन्छ । पार्टी फुटाउँदा मात्रै उहाँले नकुरेको हो’, समाजवादीका ती नेता भन्छन्, ‘आफूसँग १० सिट भए पनि यो महत्वपूर्ण र मूल्यवान मत भएकोले झुक्नेभन्दा गलाउने र आफू अनुकूल बनाउने धुनमा उहाँ हुनुहुन्छ ।’

एमाले विभाजनपछि गत निर्वाचनमा एमाले पहिलो दल हुनबाट चुक्यो । त्यसैले ओलीले नै अग्रसर भएर ‘पार्टी एकता पनि गरौं, तपाईं प्रधानमन्त्री बन्नुस् भनेको हुन सक्ने उनको भनाइ छ ।

‘ओलीजीले बाहिर भन्नुभएको छैन । तर, पार्टी विभाजनकै कारण एमाले पहिलो दल बन्नबाट चुक्यो भन्ने उहाँको आत्ममूल्यांकन छ । तथ्यांकले पनि त्यही भन्छ,’ ती नेता भन्छन्, ‘सहमति नै त भएको थाहा छैन । तर, निशर्त होइन पार्टी एकता गरौं तपाईं एकपटक प्रधानमन्त्री बन्नुस् भनेर ओलीले भनेका कारण पनि हाम्रो अध्यक्षले दबाब बढाउने र घुर्क्याउने गर्नुभएको हुनसक्छ ।’

समाजवादीको १० सिट जोडिए कांग्रेसभन्दा ठूलो दल बन्ने हिसाब एमालेले पनि निकालेको छ । यसैले अध्यादेश ल्याएर समाजवादीलाई विभाजन गराउनुभन्दा सिंगो पार्टीलाई ल्याउँदा ठूलो सन्देश जाने बुझाइ ओली पक्षको पनि छ । समाजवादीका पूरै सांसद ल्याउन नसके एमाले ठूलो दल हुने सम्भावना छैन । यसैले दुई/चार सांसद चोर्नेभन्दा बलियो पार्टी बनाउनुपर्ने दबाब ओलीलाई छ । 

null

१० सिट रहेको समाजवादीमा नेपालको पक्षमा कम्तीमा तीन सांसद पक्का छन् । जसमा नेपाल आफैं, मेटमणि चौधरी र प्रकाश ज्वाला हुन् । अर्का सांसद राजेन्द्र पाण्डे पनि नेपाल खेमाकै हुन् । तर, पछिल्लो समय उनी दुवैतिरको सम्पर्कमा रहेको नेताहरूको दाबी छ । पार्टी पदाधिकारीमा जयन्ती राई, गङ्गालाल तुलाधर र राजेन्द्र राईलगायत नेता मात्रै नेपालको पक्षमा छन् ।

घनश्याम भुसाल, रामकुमारी झाँक्रीसहितका नेता झलनाथ खनाल पक्षमा छन् । असारमा हुने महाधिवेशनमा कमजोर अवस्थामा रहे पनि नेपालले चिन्ता नगरेको नेताहरू बताउँछन् । यस्तो अवस्थामा असारमा महाधिवेशनमा चुनाव भए खनालले अध्यक्ष जित्ने स्थिति छ । तर, नेपालले हलमै भावुक कुरा गरेर हुन्छ कि प्रधानमन्त्री बन्ने सम्भावना हुँदाहुँदै दिएनन् भनेर हुन्छ, एकपटक फेरि अध्यक्ष खाइदिन सक्ने समाजवादीका एक केन्द्रीय सदस्य बताउँछन् । 

‘एमाले र माओवादी मिलेर जसपा नेपाल विभाजन’ गरे पनि समाजवादीलाई फुटाइहाल्न राजनीतिक दलसम्बन्धी ऐन बाधक छ । एमालेबाट विभाजन भएर बनेको पाँच वर्ष नपुगेकोले अध्यादेश ल्याएर व्यवस्था खुकुलो नबनाएसम्म नेपालको पार्टी फुटाउन सम्भव छैन । यसै कारण नेपालले सत्तारूढ दलमा झन् दबाब बढाएका छन् । ‘समाजवादी फुटाउने भनेर प्रेम आलेसहितका नेताले फर्म नै बोकेर हिँडेको सुनेका छौं,’ समाजवादीका अर्का एक नेता भन्छन्, ‘तर दल विभाजनसम्बन्धी ऐन बाधक भएपछि तत्काल यो सम्भावना देखिएन । यसैले सत्तारूढ दललाई दबाब बढाउनेमा नेतृत्व देखिन्छ ।’

अर्कोतिर सहमति भएको विषयलाई कार्यान्वयन नगरे कांग्रेसतिर जान्छु भनेर पनि नेपालले धम्क्याएको नेताहरू बताउँछन् । ‘हिजो प्रचण्डदेखि देउवासम्मलाई सहयोग गरेको हो । यता सहमति कार्यान्वयन नगरे उता जान्छु भनेर उहाँले संकेत गरिसक्नुभएको छ,’ समाजवादीका ती नेता भन्छन्, ‘देखिनेगरी मुझ गर्दा पार्टी फुट्न सक्ने जोखिम उहाँले देख्नुभएको छ । यसैले सन्देश दिनेगरी विपक्षीको बैठकमा गएर दबाब बढाउनुभएको देखिन्छ ।’ 

समीकरणमा ओलीलाई हाबी हुन नदिन प्रचण्डले पनि नेपालको चासोलाई पूरा गर्ने र उनलाई विश्वासमा लिइरहने रणनीति लिएका छन् । नेपाल केही दिनअगाडि कांग्रेस, जसपा र लोसपा सम्मिलित विपक्षीको बैठकमा गएका थिए । उनी बैठकमा गएलगत्तै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले उनलाई बालुवाटार बोलाएर यस्तो नगर्न आग्रह गरेका थिए । यसअघि नेपालप्रति अनुदार रहेका ओलीले समेत बालुवाटारमा सत्तामा रहेका बेला विपक्षीको बैठकमा जान हुँदैन भनेर सम्झाएका थिए । 

प्रधानमन्त्रीले पनि ‘यस्तो नगरेको भए हुने’ भनेर बोलेपछि नेपालले आफू सल्लाहमै विपक्षीको बैठकमा गएको बताएका थिए । ‘महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । राजनीतिमा नेताहरूले सम्पर्क गर्न पाउँछन् । हामी पनि यसको लागि स्वतन्त्र छौं । यसरी भेट भएको कुरालाई अन्यथा लिनु हुँदैन । आत्तिन पनि हुँदैन,’ आइतबार नेपालले भने, ‘मेरो भेटका कारण असमझदारी नबढोस् भनेर प्रधानमन्त्रीलाई फोन पनि गरेको थिएँ । उहाँले नै सबैसँग सम्बन्ध राख्नुपर्छ जानुस् भनेपछि गएको हुँ ।’

आफू दुई नाउमा खुट्टा राख्ने पक्षमा नभएको भन्दै नेपाले सुदूरपश्चिममा एमाले सरकारमा आउन नचाहेको, कोशी र कर्णालीमा एमालेले आफूहरूलाई बेवास्ता गरेको गुनासो नेपालको छ । आफ्नो चासो पूरा भए मधेशमा पनि सत्ता समीकरणबाट दायाँबायाँ नगर्ने पक्षमा नेपाल छन् । ‘हामी दुईवटा नाउमा खुट्टा राखेर हिँड्नुपर्छ भन्ने पक्षमा छैनौं । भएका समझदारीलाई सबैले पालना गर्दा समस्या आउँदैन,’ नेपालले भनेका छन् । 

एमालेले प्रदेशमा पेल्न खोजेपछि नेपालले पटकपटक प्रधानमन्त्रीलाई भेटेर आफ्ना गुनासो राख्दै आएका छन् । ‘प्रधानमन्त्रीले त माधवजीसँग नियमित भेट गरिहरनुभएको छ । सोमवार बिहान पनि आउनुभएको थियो । मधेश, सुदूरपश्चिमसहित सरकारको विषयमा कुराकानी भयो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘उहाँ पनि समीकरणको दल भएपछि गुनासो स्वाभाविक नै भयो । तत्काल उहाँ गठबन्धनबाट दायाँबायाँ गर्ने मुडमा हुनुहुन्न ।’

तर, मधेशमा केन्द्रीय गठबन्धनलाई आफ्नो सहयोग चाहिएको हो भने सुदूरपश्चिममा समाजवादीका मुख्यमन्त्रीलाई सहजै काम गर्ने वातावरण बनाउने शर्त नेपालले राखेका छन् ।

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x