
विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७ हजार ७०० वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा (वान युथ, वान प्लान्ट) अभियानको शुरूवात गर्दै एनसेल र युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’को दिन देशभर बृहद् रुपमा वृक्षारोपण गरिने भएको हो ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत युवा परिषद्सँग गरेका समझदारी अनुरुप एक युवा एक विरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक विरुवा गर्नेछन् र यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ । ‘वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारीसहितको राष्ट्रियस्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिश्चित गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ,’ एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरूको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।
“आज विश्व वातावरण दिवसको अवसरमा नेपाल युवा परिषद्सँगको सहकार्यमा ७७ वटै जिल्लामा युवाहरुको साथ देशै वृक्षारोपण गर्नका लागि भएको यस उदाहरणीय कार्यको घोषणासँगै यस पहलको शुरूवात गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौँ,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखालक्ष्मी खड्काले भनिन्, ‘यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुँदा यो अभियानमा परिषदसँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागको छ ।’
नेपालका युवाहरूका बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रुपान्तरणमा एनसेल आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखि नेपाल सरकार, नेपाल युवा परिषद र अन्य सरोकारवाला निकायहरूसँग काम गर्दै आएको छ । सन् २०२४ को ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२४’ मा पनि एनसेलको विशेष सहकार्य रहेको छ ।
सम्मेलनमा सहभागी युवाहरूले प्रादेशिकस्तरको कार्ययोजना निर्माण गरी उक्त कार्ययोजनालाई प्रदेशको मुख्यमन्त्री, सामाजिक विकासमन्त्री लगायतका सरोकारवाला निकायलाई बुझाउँदै आइरहेको छ ।
बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशमा सम्पन्न भइसकेको उक्त सम्मेलन छिट्टै बाँकी २ प्रदेश र केन्द्रमा समेत आयोजना हुने परिषदले जनाएको छ ।