
नेपालको अग्रणी विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले ‘आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकप’मा नेपाली राष्ट्रिय टोलीका खेलाडीले बनाउने रन बराबर नै बिरुवा रोप्ने घोषणा गरेको छ ।
‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ भन्ने मूल नारासहितको वातावरणीय योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
‘दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्राअन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्नेछ,’ कम्पनीले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस अभियानअन्तर्गत ओमोडाले हरेक रनमा एउटा रुख रोप्ने संकल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’ मा ५, हरेक ‘छक्का’ र हरेक ‘विकेट’ मा १० रुख रोपिने छ ।
‘यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।
यो अभियान दिगो भविष्यप्रति आफूहरूको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम भएको नेपालका लागि ओमाडा ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले बताए ।
यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको उनको भनाइ छ ।
‘विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तनविरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीका लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्याउँछ,’ उनले थपे ।
यस अभियानले सस्टेनेबल मोबिलिटी (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेटप्रेमीबीचको गौरवमय एकताको थालनी गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।
विश्वकपअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल १२ जुनमा अमेरिकाको फ्लोरिडामा हुनेछ ।
मंगलवार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।