२४ असार २०८३, बुधबार
सहकारी ठगी प्रकरण

‘मेगा ड्रिम’मा डुब्यो बचतकर्ताको २१ करोड : अध्यक्ष फरार, उपाध्यक्षसहित ३ जना पक्राउ

जेठ २७, २०८१
काठमाडौं
‘मेगा ड्रिम’मा डुब्यो बचतकर्ताको २१ करोड : अध्यक्ष फरार, उपाध्यक्षसहित ३ जना पक्राउ

बालाजु माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २१ करोड २ लाख ८४ हजार ६ सय ९२ रुपैयाँ अपचलन गरेको पाइएको छ । 

काठमाडौंका ४ स्थान क्रमशः कालीमाटी, न्युरोड, चाबहिल र जोरपाटीमा शाखा कार्यालय रहेको मेगा विगत १४ वर्षयता सञ्चालनमा रहँदै आएको छ ।

पीडितमध्येका बाबुराम पाण्डे, मातृकाप्रसाद वाग्ले लगायतले २०८० असोज २४ गते बागमती प्रदेशस्थित संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा मेगाविरुद्ध उजुरी दिएपछि ठगी घटनाको पर्दाफास भएको थियो । 

मन्त्रालयले उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि भन्दै गएको मंसिर ४ मा प्रदेशकै पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय (पछि नाम फेरिएको)मा पठायो ।

सहकारी मन्त्रालयले गत फागुन १८ मा सक्कल मिसिलसहित कारबाहीका लागि काठमाडौंस्थित प्रहरी परिसरमा पठाएको देखिन्छ ।

परिसरले पीडित भनिएका रामचन्द्र सिपाईसहितबाट ठगीसम्बन्धी कसुरमा जाहेरी परेपछि मात्रै अनुसन्धान अगाडि बढाएको थियो । 

अनुसन्धानका लागि प्रहरीले गत फागुन ३० मा सहकारीका अध्यक्ष महाशंकर रेग्मी, उपाध्यक्ष वासुदेव भट्ट, सचिव ईन्द्रप्रसाद गेलाल, कोषाध्यक्ष रविनकुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ र सदस्य शरदकुमार अधिकारीको हकमा जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गर्‍यो ।

खोजी गर्दै जाँदा जेठ १ गते काठमाडौंका विभिन्न स्थानहरूबाट मेगाका उपाध्यक्ष वासुदेव भट्ट, सचिव ईन्द्रप्रसाद गेलाल र सदस्य शरदकुमार अधिकारीलाई पक्राउ गर्न सफल भयो । 

जिल्ला सरकारी वकिल कार्यालयले जेठ १४ मै प्रहरीलाई निर्देशन दिँदै लेखा सुपरिवेक्षण समिति संयोजक तथा पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, लेखा सुपरिवेक्षण समिति सदस्य प्रकाश घिमिरे, लेखा सुपरिवेक्षण समिति सदस्य सुभद्रा चौलागाईं लगायतलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको राय दियो । 

प्रहरीले अदालतबाट गत जेठ १७ गते उनीहरूविरुद्ध समेत पक्राउ पुर्जी जारी गर्‍यो ।

अध्यक्ष रेग्मी, कोषाध्यक्ष कार्की, सदस्य शेखर बस्नेत, राजकुमार श्रेष्ठ, लेखा सुपरिवेक्षण समिति संयोजक तथा पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, लेखा सुपरिवेक्षण समिति सदस्य प्रकाश घिमिरे, सुभद्रा चौलागाईं हालसम्म पनि फरार छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हालसम्म मेगाबाट ठगिएको भन्दै १६२ जनाले प्रहरीमा जाहेरी दिएका छन् । 

जाहेरवालाहरूले २१ करोड ५६ दाख ९३ हजार ६६९ रुपैयाँ ठगी गरेको दाबी गरेका थिए । तर, पासबुक तथा आवधिक भौचरअनुसार ५४ लाख ८ हजार ९७७ रुपैयाँ उल्लेख गरिएकाले जम्मा २१ करोड २ लाख ८४ हजार ६९२ रुपैयाँ अपचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘प्रहरीले प्राप्त प्रमाणका आधारमा सरकारी वकिल कार्यालयमा मिसिल बुझाइसकेको छ,’ एसपी अधिकारीले भने, ‘अनुसन्धानका क्रममा अन्य केही खुल्न आएमा वा अन्य कसैको संलग्नता रहेको खुल्न आएमा एकमुस्ट पेस गर्नेछौं ।’ 

प्रहरीले जेठ २३ गते मात्रै अनुसन्धानको मिसिल बुझाएको हो । एसपी अधिकारीका अनुसार बौद्ध प्रहरीले अनुसन्धान गर्दा सहकारीका पीडितहरू थानकोट, चन्द्रागिरि, नैकाप, बालाजु, स्वयम्भू, कालिमाटीलगायत स्थानबाट समेत उजुरी लिएर पुगेका थिए । 

उनका अनुसार चारवटा शाखा कार्यालयबाट कति ठगिए त्यसको उजुरी खुला रहेको र रकम खुलेमा मुद्दा नटुँगिदासम्म मिसिलमा थपिने गरी सरकारी वकिल कार्यालयमा मिसिल बुझाइएको हो । 

बौद्धमा उजुरी लिएर पुगेका पीडितहरू पेशागतरूपमा डाक्टरदेखि उच्च सरकारी ओहोदामा पुगेका कर्मचारीसम्म छन् । त्यस्तै, सामान्य चिया पसल सञ्चालकदेखि ठूला व्यापारीसम्म छन् ।

‘ब्याज राम्रो पाउने आशामा भटाभट रकम जम्मा गरिहाले, अहिले सहकारीले बदमासी गरेपछि धेरैको रुवावासी छ,’ एसपी अधिकारीले भने ।

salt training

कमेन्ट गर्नुहोस्