
विभिन्न आध्यात्मिक र आयुर्वेदिक कार्यक्रम गर्दै आएको द गडेश जोनले आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न ४ दिनको आवासीय कार्यक्रम आयोजना गरेको छ ।
मेलम्ची नगरपालिकाको ३ नम्बर वडामा स्थित प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्ममा यही असार ५ गतेदेखि ८ गतेसम्म ४ दिन तीन रातका लागि राखिएको आवासीय कार्यक्रममा योग, ध्यान र आध्यात्मिक प्रवचन गरिने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा प्रशिक्षकका रूपमा लागि भारतको निला मिस्तिक स्कूलकी संस्थापक निल सहभागी हुनेछिन् भने नेपाल, भारत र पाकिस्तानका झन्डै १ सय भन्दा बढी प्रशिक्षार्थीका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
नेपालमा आध्यात्मिक पर्यटनको सम्भावना देखेर आफूहरूले यस्तो कार्यक्रम आयोजना गर्न लागेको गडेश जोनका प्रतिनिधि हेमन्त सापकोटाले जानकारी दिए ।
'देवभुमि नेपालमा आध्यात्मिक पर्यटनको प्रचुर सम्भावना छ,' उनले भने, 'हामीले आयोजना गरेको आध्यात्मिक कार्यक्रममा ध्यान र योग मार्फत मानसिक तथा शारीरिक शान्ति खोज्न आउने पर्यटकहरू सहभागी हुनुहुनेछ ।'
कार्यक्रम पर्यावरण मैत्री, जैविक, र उद्देश्यपूर्ण हुने आयोजकले जनाएको छ ।
यससँगसँगै नेपालमा रहेका जैविक विशेषतासँगै जडिबुटी उत्पादन र बिक्रीवितरणलाई पनि आयोजक गडेश जोनले प्रवर्द्धन गर्दै आइरहेको छ ।