१३ असार २०८३, शनिबार
अनुसन्धानमै खोट

वैदेशिक रोजगार ठगी : मुख्य अभियुक्तमाथि भएन छानबिन, कैदीबाटै प्रहरीमा उजुरी

जेठ २९, २०८१
काठमाडौं
वैदेशिक रोजगार ठगी : मुख्य अभियुक्तमाथि भएन छानबिन, कैदीबाटै प्रहरीमा उजुरी

आकर्षक तलब सुविधासहित वैदेशिक रोजगारीमा जाने प्रलोभनमा नेपाली युवायुवतीहरू ठगिने क्रम बढेको छ ।

युवायुवतीले विदेशमा पुग्ने बित्तिकै काम भेटिहाल्ने र लाखभन्दा माथि तलब पाउने आशामा एजेन्टले भनेजतिकै पैसा खातामा ‘डिपोजिट’ गरी हाल्छन् । एजेन्टको पासोमा परेको तब मात्रै थाहा पाउँछन्- जब भिसा पनि आउँदैन र एजेन्टसमेत सम्पर्कमा हुँदैनन् ।

यस्तै घटनाको अनुसन्धान गरिरहेको छ- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले । पीडितहरूले कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायत मुलुकमा जान भन्दै फेसबूकको म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा रबिन आले मगर, मनोजजंग थापा, महेश थापालगायतका नक्कली आईडीमा कुरा गरेर तीन वर्षको अवधिमा १५ करोड रुपैयाँ खन्याएपछि मात्रै उनीहरूको आँखा खुलेको छ ।

यी तिनै नाम गरेका मुख्य व्यक्ति चितवन भरतपुर नगरपालिका–१८ गुञ्जनगरका २८ वर्षीय राजकुमार भट्ट हुन् ।

तर, यो घटना पीडितहरूभन्दा पनि एउटै केशमा वैदेशिक रोजगार विभागले धरौटी माग्दा तिर्न नसकेर जेल परेका अभियुक्तले प्रहरीमा उजुरी गरेपछि मात्रै बाहिर आएको हो ।

वैदेशिक रोजगार तथा ठगीसम्बन्धी कसुरमा डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका राजुकुमार बस्नेतले कारागारमा उजुरी हाले । कारागारले उक्त उजुरी अपराध अनुसन्धान कार्यालयमा पठाइदियो ।

प्रहरीले थप अनुसन्धान गर्दा पर्दा भित्र लुकेका धेरै रहस्यको पर्दाफास भएको हो । बस्नेत मात्रै होइन पीडित मध्येका नविन चौधरीलगायत १५ जनाले प्रहरीमा उजुरी दिएका थिए । 

यो घटनाको ‘माष्टरमाइन्ड’ भट्ट झट्ट हेर्दा यस्तो अपराध गर्लान् र ? भन्ने भान हुन्छ । तर, यथार्थमा भट्ट धेरै चलाख र ठगी गिरोहका नाइके देखिन्छन् ।

उनले फेसबूकमा ‘वैदेशिक रोजगारीका लागि आकर्षक तलब सुविधा’ भन्दै विज्ञापन गर्छन् । त्यही विज्ञापन हेरेर बेरोजगार रहेका युवायुवती सम्पर्कमा पुग्छन् ।

अचम्म कुरा त भट्टले फेसबूकको फेक आईडीमार्फत आफ्नो, घर तथा व्यापार, व्यवसाय नेपालमा रहेको र त्यसको कारोबार ‘ह्यान्डलिङ’ गर्न एकाउन्टेन्टको जागिर दिने भन्दै कर्मचारी माग्छन् ।

त्यही विज्ञापनलाई आधार बनाएर सुनबहादुर बुढा, हाल जेलमा रहेका राजुकुमार बस्नेत, प्रभाकर भट्टराई, हरिबहादुर कामी, शेरबहादुर तामाङ, राजेश श्रेष्ठलगायतले दरखास्त दिन्छन् ।

भट्टले कर्मचारीमा नियुक्त पनि गर्छन् । उनीहरूलाई मासिक ३० हजारदेखि ४० हजार रुपैयाँ दिने आश्वासन भट्टले दिएका हुन्छन् ।

तर, त्यही कर्मचारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाएर भट्टले आफैं लिन्छन् ।

पीडितहरूले खातामा रकम जम्मा गरेकै कारण बुढा लगायतको नाममा वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि उनीहरू पक्राउ परेका थिए ।

यी आरोपीहरूको पनि नाइके भट्ट भने सम्पर्क विहीन र पीडितहरूको प्रत्यक्ष सम्पर्कमा नरहेका कारण उजुरीमा नाम समावेश हुँदैन । 

कम्पनीको एकाउन्टेन्टको रुपमा  काम गर्ने बुढा लगायतकै खातामा आएको रकम चेकबाट नगदै निकालेर पोखराको सेती पुलमुनि लगायतका स्थानबाट भट्ट लगायतले फरक-फरक नाम बनाएर विगत तीन वर्ष देखि मोटो रकम बुझिरहेको प्रहरी अनुसन्धानबाट देखिन्छ ।

अनुसन्धान कार्यालयले विस्तृतमा अनुसन्धान गर्दा यिनै भट्ट र अन्य व्यक्तिहरूले उठाएको रकम मनी ट्रान्सफर, आइएमइ र ई–सेवाको माध्यमबाट चितवनका पवन पन्तको खातामा ट्रान्सफर गरेको देखिन्छ ।

प्रहरीले पन्तलाई पनि पक्राउ गरेको छ ।

भट्टले पछिल्लोपटक आफ्नो परिचय नखुलोस् भनेर आइएमईहरूमा चिनजान गरी आफ्नो ट्राभल लगायतको कम्पनीमा आर्थिक कारोबार गर्नुपर्छ भनेर एकाघरको परिवारको नाममा रकम पठाउँदै आएको देखिएको छ ।

प्रहरीले यही घटनालाई लिएर कास्की माछापुच्छ्रे गाउँपालिका–८ का नवीन विकलाई समेत पक्राउ गरेको छ ।

‘भट्ट, पन्त र विक मिलेर विगत तीन वर्षयता तीन सय भन्दा बढी व्यक्तिहरूलाई विदेश पठाइदिने नाममा १५ करोडभन्दा बढी ठगी गरेको देखिन्छ,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले भने, ‘पीडित र ठगी गरेको रकम अझै बढ्न सक्ने अनुमान गरेका छौं ।’

अनुसन्धान कार्यालयका प्रहरीका अनुसार वैदेशिक रोजगार विभागबाट गम्भीर छानबिन नहुँदा कर्मचारीको रुपमा काम गरेका व्यक्तिहरू खातामा रकम जम्मा गरेकै भरमा पक्राउ परेका थिए ।

पक्राउ परेका भट्टका विभिन्न २० वटा बैंकमा खाता खोलिएको पाइएको छ ।

उनले नियुक्त गरेका कर्मचारीलाई चेक र रकम बुझ्न लगाएर आफ्नो खातामा पठाउँदै आएका थिए ।

उनको बैंक खाता अनुसन्धान गर्दा यो वर्ष मात्रै तीन करोडभन्दा बढी ट्रान्जिक्सन भएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्