×

प्रविधिले निम्त्याएको चुनौती

जब बौद्ध भिक्षुणीको फेसबूक ह्याक गरेर स्टोरीमा नग्न तस्वीर राखियो...

प्रहरीलाई टाउको दुखाइ बन्दै साइबर अपराध, ११ महिनामा फेसबूकका मात्रै १४ हजार उजुरी

काठमाडाैं | जेठ ३१, २०८१

गत साता एक बौद्ध भिक्षुणी गुहार माग्दै नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटी पुगिन् । ह्याकरले आफ्नो फेसबूक ह्याक गरेर ‘स्टोरी’मा नग्न तस्वीर राखिदिएको उनको गुनासो थियो ।

‘मैले यत्तिकै एउटा भिडियो लिंकमा थिचेको थिएँ, केही समयमै मेरो स्टोरीमा धमाधम नग्न तस्वीरहरू आउन थाल्यो,’ ती भिक्षुणीको भनाई उद्धृत गर्दै ब्यूरोका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।


Advertisment

ब्यूरोले उनको उजुरी लिएर भारतको नयाँ दिल्लीस्थित फेसबूक डेस्कमा फरवार्ड गरिदियो । जवाफ आयो– ‘हटाउन मिल्दैन’ भनेर । डेक्सको जवाफ थियो, ‘अत्यन्तै भल्गर र गुप्तांग नै देखिने तस्वीर भएको भए हामी हटाउँथ्यौं । नियम सबैका लागि एउटै भएकाले अहिले यसलाई हटाउन मिल्दैन ।’ 


Advertisment

भिक्षुणी त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । धेरै फेसबूक प्रयोगकर्ताहरू अहिले यस्तो समस्याबाट प्रताडित छन् । ब्यूरोमा यस्तो व्यहोराको उजुरी लिएर दैनिक ८ देखि १० जना पुगेका हुन्छन् । ब्यूरोका अनुसार उच्च ओहोदामा बसेका व्यक्तिहरू समेत ह्याकरबाट पीडित छन् । 

मेटा (अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी) द्वारा सञ्चालित फेसबूक ह्याकिङको समस्या अहिले विश्वव्यापी छ । मंगलबार मात्रै दिल्लीस्थित नेपाल हेर्ने डेस्क कार्यालयबाट आएकी फेसबूककै कर्मचारी अमृता कौशिक नेतृत्वको टोलीसँग ब्यूरोले छलफल गरेको थियो ।

छलफलमा ब्यूरोले भिक्षुणीको उजुरीजस्तै अन्य ह्याकिङका विषय तत्काल सम्बोधन गर्न आग्रह गरेको थियो । जवाफमा कौशिकले प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने बताइन् ।

‘यो समस्या नेपाल मात्रै नभएर भारतलगायत अन्य एसियन मुलुकहरूमा पनि देखिएको छ । समाधान गर्नेतर्फ हामी उन्मुख छौं, तर यसका लागि प्रयोगकर्ता सजग हुनु जरुरी छ,’ कौशिकले भनिन् ।

साइबर ब्यूरोमा यो आर्थिक वर्षको जेठ २८ गतेसम्ममा १७ हजार ६०४ वटा उजुरी आएका छन्, जसमध्ये १४ हजार ४२६ वटा उजुरी फेसबूक/म्यासेन्जरसँग मात्रै सम्बन्धित छन् ।

मेटामार्फत नै सञ्चालनमा रहेको ह्वाट्स एप र इन्स्टाग्राममार्फत भएका साइबर अपराधका उजुरी पनि उत्तिकै छन् । ब्यूरोका अनुसार ह्वाट्सएपसँग सम्बन्धित ८४७ र इन्स्टाग्रामका ९०८ वटा उजुरी परेका छन् । ह्वाट्सएपमा गरेको च्याटकै भरमा लाखौं रुपैयाँ ट्रान्सफर गरिदिने, फेसबूक म्यासेन्जरमा आफ्ना नग्न तस्वीर पठाएर च्याट गर्ने र पछि त्यही तस्वीरलाई लिएर ब्ल्याकमेलिङ गर्ने समस्या बढी देखिएको ब्यूरोले जनाएको छ । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपक अवस्थीले सामाजिक सञ्जालमध्ये फेसबूकका प्रयोगकर्ता बढी भएकाले उजुरी पनि यससँग सम्बन्धित नै बढी रहेको बताए । उनले फेसबूकको प्रोफाइल आफूबाहेक अरूले हेर्न नमिल्ने बनाउन सुझाए । ‘ह्याकरले फेसबूक प्रयोगकर्ताको प्रोफाइल हेरेरै ह्याक गर्न शुरू गर्छ । प्रयोगकर्ताले पनि केही नबुझी लगिन कोड दिने र उत्तेजक तस्वीरमा क्लिक गरिहाल्ने प्रवृत्ति बढेको छ । यसमा प्रयोगकर्ता आफैं संवेदनशील हुनुपर्छ,’ उनले भने ।

ब्यूरोले अपरिचित व्यक्तिलाई फेसबूकमा साथी नबनाउन, वान टाइम पासवर्ड (ओटीपी) नदिन र शंकास्पद लिंकमा गएर नहेर्न सर्वसाधारणलाई सूचित गर्दै आए पनि यो क्रम रोकिएको छैन । बरु बढ्दो छ । उनले भने, ‘टु–फ्याक्टर भेरिफिकेसनसहित फेसबूक, इमेल लगायतको पासवर्ड सुरक्षित र बलियो राख्नुपर्छ । नचिनेका व्यक्तिबाट म्यासेन्जरमा सन्देश नआउने बनाउनुपर्छ ।’

ब्यूरोका अनुसार फेसबूक ह्याकमा पुरुषभन्दा महिला बढी पीडित छन् । उजुरीको आँकडा हेर्दा पनि ८ हजार १६४ वटा उजुरीमा महिला र बालिका पीडित भएको देखिन्छ ।

सरकारी वेबसाइटको फेसबूक पेज ह्याकसम्बन्धी घटनाका उजुरी बेलाबखत ब्यूरोमा आउने गरेका छन् । यो आर्थिक वर्षको जेठ २८ सम्ममा जम्मा १२ वटा वेबसाइट ह्याकिङका उजुरी परेका छन् । 

बैैंकिङ क्षेत्रसँगै अन्य आर्थिक कारोबार गर्ने वित्तीय संस्थाका १९४ वटा उजुरी ब्यूरोमा परेका थिए, त्यसमध्ये अधिकांश बैंककै प्राविधिक समस्यासँग जोडिएको र समाधान भइसकेको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार ई–सेवासँग सम्बन्धित उजुरी ३२३ वटा छन् । खासगरि वालेटमार्फत कारोबार गर्दा ओटीपी शेयर गरेका कारण खाताको रकम ट्रान्सफर भएपछि पैसा कता गयो भन्दै सेवाग्राही प्रहरीमा पुग्ने गरेका छन् । 

बैंकिङ सेक्टरमा हुने ह्याकिङमा कमी

ब्यूरोका अनुसार बैंकको सर्भरभित्रै प्रवेश गरेर ह्याक गर्ने घटना भने अहिले कम भएको छ । यसअघि चिनियाँसहितको ह्याकिङ गिरोहले एटीएम ह्याक गरेर करोडौं रकम झिकी विदेश पुर्‍याएको थियो ।

एउटा ‘क’ वर्गको बैंकको स्वीफ्ट नै ह्याक गरेर ह्याकरले ६ करोड विदेश पठाएका थिए । त्यसमध्ये ४ करोड नेपाल ल्याउन बैंक सफल भएको थियो । नेपाली बैंकको एटीएम ह्याकिङमा बुल्गेरियन र चिनियाँ गिरोह संलग्न भएको विभिन्न घटनाले पुष्टि गरेको छ ।

तर, पछिल्लो समय बैंकले सूचना प्रवधिसँगै सफ्टवेयर सुरक्षामा राम्रो लगानी गरेको ब्यूरोले जनाएको छ । ब्यूरोका एसपी अवस्थी भन्छन्, ‘विगतमा थुप्रै एटीएम ह्याक र बैंकको सर्भरभित्रै प्रवेश गरेर रकम ट्रान्जेक्सन गरेको घटना सार्वजनिक भएपनि पछिल्ला दिनमा यस्ता समस्या देखिएका छैनन् ।’ 

प्राविधिक दक्ष कर्मचारीको अभाव 

ब्यूरोमा अहिले जवानदेखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सम्म ३२५ जना कार्यरत छन् ।

प्रहरी मुख्यालयको सञ्चार निर्देशनालय अन्तर्गतका प्राविधिकहरू कार्यरत रहेको ब्यूरोका कर्मचारीले आवश्यक तालिम समेत लिन पाएका छैनन् । 

आन्तरिकरूपमा हुने तालिमबाहेक प्रविधिमार्फत हुने ठूला अपराध अनुसन्धानसम्बन्धी वैदेशिक तालिम लिन नपाउँदा आन्तरिक स्रोतको भरमा उजुरीउपर अनुसन्धान हुँदै आएको छ ।

गृह मन्त्रालयले २०८० असार ७ गते सबै जिल्ला प्रहरी कार्यालयले साइबर अपराधको उजुरी लिने निर्णय गरेको थियो । तर, जिल्लामा आएका अधिकांश उजुरी समेत ब्यूरोमै आएका कारण धेरै ‘लोड’ हुने गरेको एसपी अवस्थी बताउँछन् । 

ब्यूरोले गत वर्ष प्रहरी मुख्यालयलाई पत्राचार गर्दै कम्तीमा ६ सय ५० कर्मचारी पुर्‍याउनुपर्ने भनेको थियो । तर, सरकारले सरकारी कार्यालयको दरबन्दी नबढाउने निर्णय गरेपछि यो विषय अहिले अलपत्र परेको छ । ‘दैनिक ४० भन्दा बढी उजुरी आउँछन्, उजुरी एउटै प्रकृतिका नभएर फरक–फरक पनि हुन्छन्,’ अवस्थीले भने, ‘कर्मचारी अभावका कारण केसहरू पेन्डिङमा छन् ।’

के छ नग्नता र यौन गतिविधिसम्बन्धमा ‘फेसबूक गाइडलाइन’ ?

मेटा कम्पनीमार्फत सञ्चालन हुँदै आएको फेसबूकले नग्नता र यौन गतिविधि शीर्षकको आफ्नो ‘गाइडलाइन’मा भनेको छ, ‘फेसबूकले नग्नता र यौन गतिविधिको प्रदर्शनमा प्रतिबन्ध लगाउँछ किनभने हाम्रो विश्वव्यापी समुदायभित्र केही दर्शकहरू यस प्रकारको सामग्री, विशेषगरि उनीहरूको सांस्कृतिक पृष्ठभूमि वा उमेरका कारणले संवेदनशील हुन सक्छन् ।’ 

उसले मानिसहरूले कहिलेकाहीँ जागरूकता अभियान वा कलात्मक परियोजनाजस्ता उद्देश्यका लागि समेत नग्नता समावेश भएका सामग्री शेयर गर्ने गरेको उल्लेख गर्दै भनेको छ, ‘मानिसहरूलाई निष्पक्षरूपमा व्यवहार गर्न र रिपोर्टहरूलाई छिटो प्रतिक्रिया दिनका लागि हामीसँग नीतिहरू छन्, जुन हाम्रा विश्वव्यापी टोलीले सामग्री समीक्षा गर्दा समानरूपमा र सजिलै लागू गर्न सक्छन् । फलस्वरूप हाम्रा नीतिहरूको कार्यान्वयन कहिलेकाहीँ हामीले चाहेभन्दा कम सूक्ष्म हुन सक्छ र वैध उद्देश्यका लागि शेयर गरिएको सामग्रीलाई प्रतिबन्धित गर्दछ ।’

उसले यस्ता सामग्रीको मूल्याङ्कन गर्न र आफ्ना मापदण्डहरू विचारपूर्वक लागू गर्न काम गरिरहेको पनि उल्लेख गरेको छ ।

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x