
धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत गत असार २ गते प्रस्तुतीकरणका लागि 'संगठित'रूपमा अनुपस्थित भएका ३ जना बुधवार पनि अनुपस्थित भएका छन् ।
हाल नेप्सेको प्रमुख कार्यकारी अधिकृत रहेका कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं 'संगठित'रूपमै दोस्रोपटक पनि अनुपस्थित भएका हुन् ।
सेबोन अध्यक्ष छनोटको सिफारिशका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले ५ मध्ये उपस्थित २ जना (सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र अर्का आवेदक सन्तोषनारायण श्रेष्ठ)को प्रस्तुतीकरण हेरेको छ ।
असार २ गतेको प्रस्तुतीकरणका लागि उपस्थित नभएका कृष्णबहादुर कार्कीले आफू उपत्यकाबाहिर भएकाले उपस्थित हुन नपाएको र बुधबार उपस्थित हुने लोकान्तरसँग बताएका थिए ।
'यो संयोग मात्र हो,' उनले लोकान्तरसँग भनेका थिए, 'म काजले बाहिर गएको थिएँ । प्रस्तुतीकरणका लागि दोस्रोपटक बुधवार तोकिएको छ । बुधवार म जान्छु र आफ्नो प्रस्तुति दिन्छु ।'
तर, कार्कीसहितका आवेदक बुधवार पनि अनुपस्थित भए । अर्थमन्त्रालय स्रोतले 'कर्पोरेट स्वार्थ' बाझिएकाले समग्र प्रक्रिया नै असफल बनाउन संगठित अनुपस्थिति भएको हुन सक्ने बतायो ।
यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्थमन्त्री वर्षमान पुनको नै स्वार्थ बाझिएको स्रोतको दाबी छ । 'अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूकै स्वार्थ बाझिएकोजस्तो देखिन्छ । प्रधानमन्त्रीले चाहेको आवेदक छानिन सक्ने भएपछि मन्त्रीज्यू नै समग्र प्रक्रियालाई असफल पार्न लाग्नुभएको हो कि ?' मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो ।
महान्यायाधिवक्ता कार्यालयसँग छलफल गरेर प्रस्तुतीकरणमा अनुपस्थित स्वतः अयोग्य हुने गरी उपस्थितमध्येबाट मात्र नाम सिफारिस गराउने मनस्थिति प्रधानमन्त्री रहेको स्रोतको दाबी छ ।
ऐनमा समितिले योग्यता पुगेका तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । ऐनको उक्त प्रावधानका कारण ५ महिनादेखि खाली रहेको सेबोन अध्यक्ष नियुक्तिमा जटिलता उत्पन्न भएको हो ।
अध्यक्षको नाम सिफारिस गर्दा समिति आफैंले कार्यविधि बनाउन सक्ने व्यवस्था छ ।
'अब त्यो कार्यविधि परिवर्तन गरेर भएपनि अहिले अध्यक्ष छनोटमा देखिएको जटिलता हल गर्नेतिर पनि छलफल गरिरहेका छौं,' मन्त्रालय स्रोतले भन्यो ।
अध्यक्ष छनोटको प्रक्रियालाई लिएर प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि पटक-पटक छलफल भइसकेको छ ।
दुवै शीर्ष नेताले अर्थमन्त्री वर्षमान पुनलाई बोलाएर 'ब्रिफिङ' समेत लिइसकेको स्रोतको दाबी छ ।