
रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर– २०८१’को छात्रवृत्ति कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ ।
छात्रवृत्ति अन्तर्गत २०८० मा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसइईमा उत्तीर्ण भएका मकवानपुर जिल्लाका सम्पूर्ण विद्यार्थीलाई लक्षित गरी एसइई परीक्षामा ३.५ देखि ४ जिपिए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताका लागि योग्य मानिने छ ।
गत वर्ष आयोजना गरिएको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द एअर २०८०’ छात्रवृत्ति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएको कम्पनीले जनाएको छ । ‘पछिल्लो वर्षको छात्रवृति कार्यक्रमको भव्य र सभ्य सफलतापश्चात यस २०८१ सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरी कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृत्ति प्रदान गरिने छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार, दोस्रो हुनेलाई ३ हजार ५०० र तेस्रो हुनेलाई २ हजार ५०० तथा सान्त्वनास्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा १ हजार ५०० रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।
यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेबसाइट वा फेसबूक पेजमा उल्लेखित गरिएको क्युआर कोडमा स्क्यान गरी फारम भर्न सक्नेछन् । आवेदकको फारम बुझाउने अन्तिम मिति २३ असार २०८१ तोकिएको छ ।