
समृद्धि सबै चाहन्छन् । धनसम्पत्ति, मानसम्मान, पदप्रतिष्ठा मिलोस्, लोकले मानुन्, संसारले चिनुन् भन्ने सबैले चाहेका हुन्छ तर, त्यो चाहेर मात्र हुँदैन । यसका लागि संसारले केही मागेको हुन्छ, केही शर्त राखेको हुन्छ । जसले पूरा गर्न सक्छ ऊ अगाडि पुग्छ, जसले सक्दैन ऊ जहाँको तहीँ रहन्छ । प्रश्न उठ्न सक्छ ती माग वा शर्त भनेका केके हुन् त ? आउनुस् यहाँ यसैको उत्तर खोज्ने प्रयास गरौँ ।
पहिलो शर्त त यही हो कि सोधखोज गर्नु । यो भनेको कहाँ जान खोजिएको हो, के पाउन खोजिएको हो त्यसैको खोजी गर्ने । मानौँ तपाईँलाई पारी जानु छ तर, नदी ठूलो छ, साँघु, पुल वा डुङ्गा आदि छैनन् त्यति बेला के गर्नुहुन्छ ? तारिदिने मानिस वा साधनको खोजी गर्नुहुन्छ यही होइन ? हो, गर्ने त्यही हो तर यसमा यति तल्लीन हुनुस् कि मनभित्रैबाट खोज्नुस् । खोजेको जस्तो मात्र नगर्नुस् । तन, मन लगाएर खोज्नुहोस् । कुनै पनि कुराको द्विविधामा नपर्नुहोस् । एक मात्र उद्देश्य कसरी पारी पुग्ने भन्ने राखेर खोज्नुस् अवश्य कुनै सहयोगी वा साधन भेटिने छन् ।
दोस्रो शर्त भनेको धैर्य हो । यो भनेको विचलित नभई लक्ष्यमा केन्द्रित हुनु हो । मानौँ तपाईंलाई उकालो चढ्नु छ । उकालो लामो पनि छ र ठाडो पनि छ तर यहाँ पनि आत्तिने काम छैन । धैर्यतापूर्वक विस्तारै चढ्न थाल्नुहोस् अवश्य शिखरमा पुग्नुहुनेछ । उकालोको धर्म भनेकै विस्तारै चढ्ने हो । छिटो चढ्न खोज्दा थाकेर चढ्नै नसकिने हुन सक्छ तर, विस्तारै चढ्ने हो भने थकाइ पनि लाग्दैन र शिखरमा पुग्न पनि सकिन्छ ।
‘शनै कन्था शनै पन्था शनै पर्वत लङ्घनम्’ भन्ने त नीति वचन नै छ । तेस्रो शर्त भनेको निरन्तरता हो । बाटो लागेपछि त्यसैमा अडिनु हो, त्यसैलाई निरन्तरता दिनु हो । गाह्रो भयो भनेर बाटो बदल्न थालियो भने कहीँ पनि पुगिन्न, कहीँको पनि भइन्न । काम जुनसुकै होस् । केही पाउनु पनि हुन सक्छ, कहीँ पुग्नु पनि हुन सक्छ तर, हरेक कामले निरन्तरता खोजेको हुन्छ । जसले यसमा ध्यान दिन्छ उसले गन्तव्य भेट्टाउँछ, जो अलमलमा पर्छ ऊ बीचमै अलमलिन्छ ।
चौथो शर्त भनेको सकारात्मकता हो । समृद्धिका लागि सकारात्मक हुन जान्नुपर्छ, सक्नुपर्छ । सकारात्मक हुनु भनेको संसारप्रतिको सकारात्मक पनि हो, आफैँप्रतिको सकारात्मक पनि हो, आफ्नै जीवनप्रतिको सकारात्मक पनि हो र आफ्नै कामप्रतिको सकारात्मक पनि हो । नकारात्मकताले कहीँ पुर्याउन्न । यहाँसम्म कि एक छाक खाना पाउनसमेत गारो पर्ने अवस्था आउन सक्छ । संसारमा नराम्रो मात्र छैन राम्रो पनि छ । जसले राम्रो देखेको हुन्छ उसले राम्रै पाउँछ जसको नराम्रो देख्ने बानी छ उसले नराम्रै पाउँछ ।
पाँचौँ शर्त भनेको दृढ अठोट हो । गर्छु भन्ने अठोट, गर्नैपर्छ भन्ने अठोट, गरेपछि हुन्छ भन्ने अठोट । जसमा यस्तो अठोट हुन्छ उसले गर्छ, गर्न सक्छ । जो हुन्छ कि हुन्न भन्ने द्विविधा पालेर बसेको हुन्छ ऊ शुरूमै पराजित भइसेकेको हुन्छ र केही पनि गर्न सक्दैन ।
छैँटौँ शर्त भनेका आशावादी हुनु हो । समृद्धि चाहनेले आशावादी हुनै पर्छ । आशाको अर्थ यो होइन कि कसैले केही दिन्छ कि भन्ने आशा पालेर बस्ने । तपाईँलाई कसैले केही दिँदैनन्, दिनै सक्दैनन् । दिने भनेको आफैँले हो, आफ्नै कामले हो । त्यसैले आशावादी हुने भनेको तिनैप्रति आशावादी हुनु हो । कहीँ पुर्याउँछ भने पनि यसैले पुर्याउँछ, केही दिन्छ भने पनि यसैले दिन्छ ।
सातौँ शर्त भनेको आत्मविश्वास हो । यो भनेको पनि आफूले आफैँमाथि गर्ने वा गरिने विश्वास हो । यो काम गर्छु, गर्न सक्छु भन्ने विश्वास भए जतिसुकै कठिन काम पनि गर्न सकिन्छ । होइन भने सानै काम पनि सम्पन्न हुन कठिन पर्न सक्छ ।
समृद्धिका यी केही सामान्य शर्त हुन् । यसको अर्थ यति नै हो भन्ने होइन । यस्ता शर्तहरू अनगिन्ती हुन सक्छन्, जुन अवस्थाअनुसार निसर्त हुने गर्छन् । त्यसैले साँच्चै समृद्धि चाहेको भने संसारले मागेको वा राखेको ती शर्त पूरा गर्ने हिम्मत गर्नैपर्छ होइन भने बिच परिन्छ, केही पनि गर्न सकिन्न ।