
सप्तरीको रूपनगर क्याम्पसका छात्र-छात्राहरूलाई 'वडा अध्यक्ष छात्रवृत्ति' वितरण गरिएको छ ।
कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडा अध्यक्ष देवीबहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रुपैयाँबाट रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति प्रदान गरिएको क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले जानकारी दिए ।
कञ्चनरूप-१२ का वडाध्यक्ष देवीबहादुर खत्रीले एक जना जेहेन्दार र पाँच जना विपन्न गरी छ जनालाई जनही १६ हजार ६६६ रूपिञाका दरले छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले क्याम्पसको प्रगतिका लागि आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
'यो छात्रवृत्ति रकमलाई पढाइमा हौसलाका रूपमा लिएर सदुपयोग गर्नु,' उनले भने । विद्यार्थीहरूलाई लगनशील भएर अध्ययनमा लाग्न पनि उनले सुझाव दिए ।
छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्न क्याम्पसले कक्षामा उपस्थिति नियमितता, लिखित परीक्षा, अन्तर्वार्ता, अघिल्लो परीक्षाको प्राप्ताङ्कलगायत विभिन्न मापदण्डको प्रावधान राखेको थियो ।
उक्त 'छात्रवृत्ति कार्यविधि' निर्माण गरेर सोही आधारमा छात्रवृत्तिको निर्णय हुने गरेको क्याम्पस प्रमुख प्राध्यापक गजुरेलले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित, बीबीएस पढाइ हुने रूपनगर क्याम्पसका विद्यार्थीहरूले यस वर्ष देखि ५ (पाँच) वटा छात्रवृत्ति पाउने व्यवस्था भएको प्रमुख गजुरेलले बताए ।
विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्ति यस वर्ष रूपनगर नन्दराज संग्रौला क्याम्पसका २२ जना विद्यार्थीले पाएका छन् भने मधेश प्रदेश सरकारले दिने 'छोरी छात्रवृत्ति' चार जनाले पाएका छन् ।
विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति एक पटक पाउने विद्यार्थीले स्नातक ४ वर्ष सम्म प्रत्येक वर्ष १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसै गरी मधेश प्रदेश सरकारको छात्रवृत्तिको रकम वार्षिक २५ हजार रुपैयाँ छ।