
भगवान्का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्लान् । यद्यपि भगवान्को मूर्ति तथा उनका नाममा मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च नबनेका होइनन् तर ती सबै धर्मका नाममा खोलिएका पसलबाहेक केही होइनन् । मूर्ति पनि बनाउनेका प्रतिबिम्ब मात्र हुन् । किनकि बनाउनेले आफैँ अनुसारको बनाएको हुन्छ, बनाउन लगाउनेले पनि आफैँ अनुसारको बनाउन लगाएको हुन्छ ।
बुद्धमूर्तिकै कुरा गरौँ न । नेपालीले बनाउने छुट्टै हुन्छ, चीनियाँले बनाउने छुट्टै र जापानीले बनाउने छुट्टै । बुद्धलाई देख्ने धेरै थिए । तैपनि उनको मूर्ति त आफू अनुकूल बनिरहेको छ भने देख्दैनदेखेको भगवान्को मूर्ति कस्तो होला ? आफैँ अनुसारको मन्दिर बनायो, मूर्ति बनायो भगवान्को नाम दियो पसल चलायो । साँच्चै भगवान्लाई खोज्ने हो, भगवान्लाई देख्ने हो भने वर्तमानलाई हेर्नुपर्छ वर्तमानमा खोज्नुपर्छ । किनकि भगवान् भनेको यिनै हुन् । न भूततिर हेरेर देख्न सकिन्छ न भविष्यतिर फर्केर पाउन सकिन्छ । उनलाई पाउन वर्तमानलाई नै हेर्नुपर्छ, वर्तमानकै पूजा तथा सम्मान गर्नुपर्छ । आउनुस् केही उदाहरणबाट बुझ्ने प्रयास गरौँ ।
जस्तो हामी दैनिक मन्दिर जान्छौँ । माथा टेक्छौँ, पूजा गर्छौँ, प्रार्थना गर्छौ, रुने, कराउने, गुनासो सबै गर्छौँ । यस्तो किन गर्छौँ थाहा छ ? किनकि हामीलाई केही चाहिएको छ । अभाव पूर्ति गर्नु छ । यसैका निम्ति यी सब गरिरहेका हुन्छौँ तर के त्यसबाट अभाव पूर्ति भएको छ ? अहँ छैन । किन छैन ? किनकि त्यहाँ भगवान् छैनन् । ती भगवान्को नाममा खोलिएका पसल मात्र हुन् । केही पाउन त वर्तमानको पूजा गर्नुपर्छ । केही दिन्छ भने कर्मले दिन्छ, जुन वर्तमानमा हुने गर्छ । अनि भगवान् भनेका त्यही नभएर के होला त ?
होइन हामी केही बन्न खोजिरहेका छौँ । ठूलो मानिस, धनी मानिस, पदप्रतिष्टायुक्त मानिस । त्यसो हो भने पनि कुरा यही हो । समय परिवर्तनशील छ । जुन वर्तमान भएर गुज्रेको हुन्छ । हिजोको केही पनि काम लाग्दैन । नियम, कानून, धर्म, संस्कार, संस्कृति, शास्त्र, सिद्धान्त वर्तमानकै अनुरूप हुनुपर्छ । यदि भूतको खोल ओडेर बस्न थालियो भने पछि परिन्छ । हिजो समय अर्कै थियो, सोही अनुसारको शास्त्र र सिद्धान्त बने । अहिलेको समय अर्कै छ । त्यसैले सबै अहिलेजस्तै हुनुपर्छ, नभए बनाउनुपर्छ । हिजो यस्तो थियो, त्यस्तो थियो, त्यस्तै गर्नुपर्छ भन्न थालियो भने के होला ? आवश्यकता छ अहिलेको साधन वा बाटो पहिलेको समाउन थालियो भने के होला ? हिजो खुँडा, खुकुरी, तरबार, गुलेली आदिको भरमा पनि युद्ध जितिन्थ्यो तर अहिले त्यस्तो छैन । तोप, बारुद, बम, क्षेप्यास्त्र आदि आइसकेका छन् । तैपनि हिजो यस्तै गरिएको थियो भनेर त्यसैमा रमाउन थालियो भने युद्ध जित्न सकिएला ? पक्कै सकिने छैन । युद्ध जित्नका लागि हतियार पनि अहिलेको नै समाउनुपर्छ, जुन वर्तमानले दिएको छ वा वर्तमानले दिन्छ ।
हुन सक्छ हामीलाई ठूलो ज्योतिष बन्ने धोको छ । यति बेला के गर्छौ ? हिजो धूलोट कोरेर वा औँला गनेर ज्योतिष सिकिन्थ्यो, आखर हेरिन्थ्यो । आजको जमाना त्यस्तो छैन । क्यालकुलेटर, कम्प्युटर आइसकेको छ । यस्तो अवस्थामा बाजेले गर्थे भनेर अहिले पनि औँला नै गन्न थालियो भने उद्देश्य पूरा गर्न सकिएला ? अहँ सकिन्न । किनकि त्यो वर्तमानका लागि होइनन् ।
हुन सक्छ हामीलाई कतै पुग्नु छ । हिजो साधन थिएन । पैदलै हिँड्नुपर्ने हुन्थ्यो तर अहिले त्यस्तो छैन । मोटरकार बनेका छन्, हवाइजहाज छन्, पानी जहाज छन्, जसले वर्षौँ लाग्ने काम क्षणमै पूरा गरिदिन्छ तर अहिले पनि हिजो यस्तो गरिन्थ्यो भने त्यस्तै गर्न थालियो भने समयमै गन्तव्यमा पुग्न सकिएला ? यहाँ पनि उत्तर यही आउँछ अहँ पुगिन्न । किनकि त्यो पनि वर्तमानका लागि होइन ।
यसको अर्थ हो ती सबै त्यतिबेलाको उपज हुन्, जति बेला तीबाहेक अरू थिएन र जे छ त्यसैको प्रयोग प्रयोग गरिन्थ्यो । अहिले समय अर्कै आएको छ । अहिलेकै प्रविधिको प्रयोग पनि अहिलेकै गर्नुपर्छ । यही नै आवश्यकता पूरा गर्ने साधन हुन् । किनकि ती वर्तमानका उपज हुन्, भगवान् हुन्, भगवान्का प्रसाद हुन् । होइन भने भगवान् रिसाउँछन्, श्राप दिन्छन् र पछि परिन्छ ।