
विश्व प्रसिद्ध सेफ्टी रेटिङ एजेन्सी सी-एनक्याप (C-NCAP)ले गरेको टेस्टले हालसालै नेपाल भित्रिएको स्काइवेल ईटी ५ मा गम्भीर सुरक्षा समस्या रहेको देखाएको छ ।
५ मध्ये जम्मा १ स्टार पाएको ईभीमा दुर्घटना भइहाले चालक र यात्रुको सुरक्षा हुने सम्भावना ३८ दशमलव ५ प्रतिशत मात्र रहेको टेस्टले उजागर गरेको हो ।
एक वर्षअघि चीनमा सी-एनक्यापले स्काइवेलको ईटी ५ को सुरक्षा टेस्ट गरेको थियो । सवारी साधनको सेफ्टी रेटिङ गर्ने उक्त एजेन्सीले स्काइवेलको यही भेरिएन्ट छनोट गर्नुको कारण यसमा केही महत्त्वपूर्ण स्वचालित ड्राइभिङ मोडहरू रहेको जनाएको छ ।
स्वचालित ड्राइभिङ मोडले चालक र यात्रुको कति सुरक्षा गर्न सक्छ भनेर गरिएको टेस्टमा अत्यन्त चिन्ताजनक परिणाम आएको एजेन्सीले जनाएको छ ।
टेस्ट गर्ने क्रममा यो गाडीलाई लामो चौडाइ भएको फलामे बारमा ठोक्काइएको थियो ।
फलामे बारमा ठोक्काउँदा यसले २४ मा जम्मा १३ अंक प्राप्त गरेको थियो ।
ठक्करका क्रममा स्काइवेलको आन्तरिक र बाह्य दुवै संरचनामा गम्भीर असर परेको थियो भने यात्रु(डमी)ले पनि क्षति बेहोरेका थिए ।
टेस्टका क्रममा गाडीलाई साइड ठक्करसमेत लगाइएको थियो । जुन पिल्लरमा टक्कर लगाइएको थियो त्यो गाडीको क्याबिनभित्र सम्म पुगेको थियो । जसबाट डमी चालकको सुरक्षामा गम्भीर असर परेको थियो ।
साइड ठक्करमा स्काइवेलले १६ मा शून्य अंक प्राप्त गरेको थियो ।
रेटिङ एजेन्सी सी-एनक्यापको भनाइ उद्धृत गर्दै चीनको एक सञ्चारमाध्यम 'कारन्यूज चाइना'ले भनेको छ, 'यो अवस्था आउनु भनेको चालकको मृत्यु हुनुजस्तै हो । चालकको सुरक्षामा १६ मा शून्य अंक प्राप्त गर्नुले यो ईभी खतरनाक मेसिन हो भन्ने पुष्टि हुन्छ ।'
सडक प्रयोगकर्ताको सुरक्षा टेस्टमा यसले ६१ प्रतिशत अंक प्राप्त गरेको थियो । यो खासै नराम्रो परिणाम नभए पनि अटोमेटिक इमर्जेन्सी ब्रेकिङ(एईबी) र लेन किपिङ एसिस्टेन्स(एलकेए) सिस्टममा गम्भीर समस्या देखिएकाले सडक प्रयोगकर्ताको सुरक्षामा पनि स्काइवेलले हेलचेक्र्याइँ गरिरहेको पुष्टि हुन्छ ।
एईबी र एलकेए सिस्टमको परीक्षणमा स्काइवेलले जम्मा ३० प्रतिशत अंक प्राप्त गरेको छ ।
उक्त रेटिङ एजेन्सीले स्काइवेल ईभी खतरनाक वाहन रहेको जनाएको छ । साथै यसको स्वचालित ड्राइभिङ प्रणालीहरू पुराना रहेको र यसको बडी ठूलो इम्प्याक्ट झेल्न नसक्ने दाबी सी-एनक्यापले गरेको छ ।
सन् २००६ मा चीन अटोमोटिव टेक्नोलोजी एण्ड रिसर्च सेन्टर (CATARC) अन्तर्गत C-NCAP स्थापना गरिएको थियो । अहिले यसले युरो एनक्याप कार्यक्रमसँग मिलेर सवारी साधनहरूको परीक्षण गर्ने गर्छ ।
परीक्षणको नतिजामा गाडीको सुरक्षा शून्यदेखि १०० प्रतिशतसम्मको मापनमा मूल्यांकन गरिन्छ र आएको नतिजालाई स्टार रेटिङमा परिवर्तन गरिन्छ ।
C-NCAP ले गाडीको यात्रु र चालकको सुरक्षा, सडक प्रयोगकर्ताको सुरक्षा र सुरक्षासँग सम्बन्धित विषयमा टेस्ट गर्ने गर्छ ।
कस्तो कम्पनी हो स्काइवेल ?
स्काइवेल एक विवादास्पद कार कम्पनी हो । स्थापनाको छोटो समयमै यसमाथि चीन र अन्य देशहरूमा विभिन्न आरोप लाग्ने गरेको छ ।
गत वैशाख ७ गते जी मोटर्स प्रालिले यसको नेपालमा आयात शुरू गरेको थियो । यो चीनमा एनईभी ब्राण्डले चिनिन्छ भने यसको शुरूआत बस निर्माता कम्पनी नान्जिङ गोल्डेन ड्रयागन बस र इलेक्ट्रोनिक जायन्ट स्काइवर्थको जोइन्ट भेन्चरबाट भएको थियो ।
पहिलोपटक यसले स्काइवेल ब्राण्डमा ईभी उत्पादन शुरू गरेको थियो। यसको पहिलो उत्पादन स्काइवेल ईटी५ हो भने यो ब्राण्डलाई अचानक स्काइवर्थ अटोमा नामाकरण गरिएको थियो ।
नेपालमा स्काइवेलकै नाममा ईभी निर्यात गरेको यो कम्पनीले उत्पादन गरेका अरू ईभीलाई भने स्काइवर्थ ईभी ६ नाम दिइएको छ ।
विदेशी बजारहरूमा फरक-फरक नामले यसले ईभी बेच्ने गर्छ । जस्तै एसियामा यो कम्पनीले स्काइवेल ईटी ५ नामले ईभी बेच्छ भने जर्मनी र युरोपका अन्य देशमा एलारिस बीईओ नामले गाडी बेच्ने गर्छ । त्यस्तै क्यानडा र अमेरिकामा यो गाडीको नाम इम्पेरियम एसईभी छ ।
कम्पनीको नाम परिवर्तन भइरहनु, फरक-फरक देशमा फरक-फरक नामले गाडी बेचिनुले अन्तर्राष्ट्रिय बजारमा पनि यसको नकारात्मक चर्चा धेरै हुने गरेको छ ।
नेपालमा गत वैशाख ७ गतेदेखि यसको बिक्री शुरू गरिएको थियो । कम्पनीको दाबीअनुसार यसमा ८५ दशमलव ९ किलोवाट आवरको ब्याट्री छ भने १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ ।
भक्तपुरको राधेराधेस्थित स्काइवेल शोरुमको समुद्घाटनसँगै सार्वजनिक गरिएको यो ईभीले ६२० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ । नेपालमा यसको मूल्य १ करोड १५ लाख तोकिएको छ ।
सी-एनक्याप टेष्टमा जम्मा १ स्टार रेटिङ पाएको भए पनि ५ स्टार पाएको दाबी जी मोटर्सका कर्मचारीको छ ।
सेफ्टी रेटिङबारे प्रश्न गर्दा कम्पनीका प्रबन्ध निर्देशक कैलाश गेलालले सुरक्षामा कुनै कमी नरहेको दाबी गरे ।
'५ स्टार प्राप्त गाडी हो, विश्वका ६०/६५ देशमा बिक्री भइरहेको छ,' उनले भने, 'स्काइवेललाई चिनियाँ रेटिङ एजेन्सी सी-एनक्यापले नै फाइभ स्टार दिएको छ ।'
उनले आफूले बिक्री गर्ने ईभीले ५ स्टार पाएको दाबी गरे पनि रेटिङ एजेन्सी सी-एनक्यापको आधिकारिक वेबसाइटमा भने जम्मा १ स्टार पाएको उल्लेख छ ।