मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा शुरू गरेको छ । बैंकले फोन–पेसँगको सहकार्यमा यो सेवा शुरू गरेको हो ।
यो सेवा शुरूभएपश्चात भारतका ग्राहकहरूले भिम र फोन–पेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट सेवा लिन सक्नेछन् ।
मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।
‘यस प्रकारका सेवाले भारतीय पर्यटकलाई नगद बोक्ने झन्झटबाट मुक्त गर्छ,’ उनले भने, ‘नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।’
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्न विशेष छुटको व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता सेवा घरबाटै लिन सकिने बैंकले जनाएको छ ।