
'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) ।
हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा सुमन !!
हामी हरेक वर्ष जननायक बीपीलाई सम्झन्छौं र देशभर स्मृति दिवस मनाउँछौं । यो क्रम वर्षौंदेखि जारी छ र भविष्यमा पनि चलिरहने छ । बीपीलाई सम्झनु कांग्रेसजनको कर्तव्य पनि हो । तर, के केवल स्मरण मात्रले दायित्व पूरा हुन्छ त ? कि उहाँले देखाएको बाटोमा पनि हिँड्नुपर्छ ? आज यसै विषयमा थोरै चर्चा गरौं ।
यता आएर हाम्रो दिमाग बोदो, भुत्ते र लगभग फोहोरको केन्द्र बनेको छ । यसमा रहेको सकारात्मक सोच, ऊर्जा र उर्वरतालाई कुँडा कर्कट अथवा कवाडीले यसरी छोपेको छ कि हामी केही राम्रो सोच्न र गर्न नसक्ने गरी थलिएका छौं । हामी सत्यबाट निकै टाढिएका छौं । दिमागभित्र थुप्रिएको फोहोरका कारण सत्य र असत्य छुट्याउनै नसक्ने भएका छौं । हामीलाई हाम्रो वरिपरिको वातावरण र आफ्नो कर्तव्यबारे थाहा हुन छाडेको छ । मूलतः नेपालको पछिल्लो राजनीतिक परिवर्तनपश्चात हामी कर्तव्यच्युत जस्तो छौं, किनभने हामीभित्र लोभ यति जागेको छ कि जति भएपनि नपुग्ने भएको छ । श्रीमद्भागवतले भनेको छ- 'पापको पिता लोभ हो । ' लोभका कारण अनिगिन्ती पाप र अपराध हुने गरेका छन् । हामीसँग बीपीको शानदार तस्वीर मात्र छ, भावना छैन ।
राजनीतिक परिवर्तनले मात्र देश र जनताको आकांक्षा सम्बोधन हुँदैन भन्ने कुरा समयमै बुझ्न सकेको भए सायद नेपाल र नेपालीले यति साह्रो दुःख पाउनुपर्ने थिएन । यो कुरा बीपीले २००७ सालको क्रान्तिअघि नै दर्शाउनु भएको थियो । तर, हामी त राजनीतिक परिवर्तनलाई नै पर्याप्त ठानेर आवधिक निर्वाचन र सत्ताको नियमित दुश्चक्रमा यसरी रुमल्लिन पुग्यौं कि साढे तीन दशक बितेको पत्तै भएन । अहिले पनि हाम्रो होसको दैलो उघ्रन सकेको छैन । त्यसैले हिजोआज पनि त्यही दुश्चक्रमा मग्न र मस्त छौं । हामी त्यस्तो नशाले लठ्ठिएका छौं कि जिम्मेवारी र गैरजिम्मेवारीको भेद छुट्याउन नसक्ने भएका छौं । नेपालीमा एउटा प्रचलित उखान छ, 'आफ्नै ज्ञानले जान्नू, नत्र अरूले भनेको मान्नू ।' हामी न जान्दछौं, न भनेको मान्दछौं ।
यतिबेला नेपाली राजनीति यही उखानको विपरीत वा प्रतिकूल चलिरहेको छ । हाम्रा राजनीतिक दलहरू आफूलाई हरेक विषयको ज्ञाता वा प्रकाण्ड मान्छन् र सामान्यतया कसैको पनि सल्लाह लिन आवश्यक ठान्दैनन् । अपवादको रूपमा लिइने सल्लाह आफूलाई वैयक्तिक, पारिवारिक र बढीमा गुटगत रूपमा लाभ पुग्ने विषयमा मात्र लिइन्छ र दिनरात नितान्त आफ्नो फाइदाको चिन्तन मात्र गरिन्छ । त्यतिबेला देश, जनता र लोकतन्त्रको सम्झना कसैलाई हुँदैन । यसैको प्रतिफल हाम्रो समाजले भोगिरहेको छ ।
नयाँ पुस्ता त कपालमा हात राखेर आफ्नो प्राण प्यारो मातृभूमिलाई आँसुको अन्तिम अर्घ्य चढाउँदै बिदेसिने लहर चलेको छ । हामीलाई थाहा छ, परदेश जानु/आउनु मानव जातिको सनातन प्रवृत्ति हो । तर, हिजोआजको परदेशगमनको प्रवृत्ति नितान्त फरक छ । यसको प्रमुख कारण नेपालमा सुशासनको अभाव नै हो । यसोभन्दा धेरै मानिसको चित्त दुख्न सक्छ, खासगरी सत्तामा पुगेका दल र नेताहरूको ।
गतिलो काम गर्न नसक्नेले आलोचना र विरोध खप्न तयार हुनुपर्छ, साथै आफूलाई सच्याउन पनि । नत्र प्रजातन्त्रवादी वा प्रगतिशील हुँ भन्न पाइँदैन । तर हाम्रा राजनीतिक दलहरू आफ्नो विरोध सुन्न चाहँदैनन् र समाजको ऐनामा आफ्नो अनुहार हेर्न चाहँदैनन् । आफू सर्वगुण सम्पन्न भएको र आफूले कुनै गल्ती नगरेको ठान्छन् । यो सर्वथा गलत हो । राजनीतिक नेतृत्वमा रहनेहरूलाई यस्तो सुविधा हुँदैन । व्यक्ति वा संस्थाबाट गल्ती कमजोरी हुन्छ, त्यसलाई सच्याउँदै पो जानुपर्छ, झन् बिग्रँदै गएको परिदृश्य हाम्रो अगाडि छ ।
एउटा अन्तर्राष्ट्रिय प्रसंगबाट आजको बहसलाई अघि बढाउँदा उपयुक्त हुन्छ । चरम गरिबी र बेरोजगारी, निरक्षरता, लागूपदार्थको ओसारपसार, ट्रेड यूनियनहरूको अनवरत हड्ताल, महंगी, वेश्यावृत्ति, अव्यवस्थित बसोबास जस्ता संकटबाट गुज्रिएको दक्षिण पूर्वएसियाको सानो देश सिंगापुरलाई छोटो समयमै विकसित र समृद्ध बनाएको घटनाका हामी नेपाली समेत प्रत्यक्ष साक्षी छौं ।
ली क्वान यूको कुशल नेतृत्व, स्वाभाविक कार्ययोजना, प्रभावकारी राज्य संयन्त्र र स्पष्ट गन्तव्य त्यहाँको विकासका आधारभूत पक्ष हुन् भन्ने कुरा सिंगापुरको चरम विकासले प्रमाणित गरेर देखाएको छ । व्यापक औद्योगीकरण, बन्दरगाहको निर्माण, विदेशी लगानी आकर्षण र पर्यटन त्यहाँको विकासका आधारशिला हुन् । सन् १९५९ मा बेलायतको अधिनस्थ स्वशासित राज्यमा चुनाव जितेर प्रधानमन्त्री भएपनि प्रारम्भमा लीका कुरा कसैले पत्याएका थिएनन् । तर, उनको नेतृत्व क्षमता, कडा परिश्रम र लगनशील व्यवहारका कारण सिंगापुरे जनता र मित्र राष्ट्रहरू समेत उनीप्रति विस्तारै सकारात्मक हुँदै गए । र, अन्ततः सिंगापुर विश्वको धनी राष्ट्र बन्न पुग्यो ।
यसक्रममा लीले अपनाएको नीति, बनाएका योजना, छनोट गरेको जनशक्ति र गठन गरेको समूह निकै उदाहरणीय छन् । यसै सन्दर्भमा ली क्वान भन्छन्, 'नारा फलाक्नु र परिणाममुखी नेता बन्नु फरक कुरा हो । काम गर्ने मान्छेले ज्यादा बकवास गर्दैन । त्यसैले राज्यको उच्च तहमा अधिक योग्य व्यक्ति चाहिन्छ, अनि मात्र परिणाम दिन सकिन्छ । साथै, पार्टीको आन्तरिक संरचनामा पनि आफूले रुचाएका व्यक्तिलाई मात्र (चाहे ती जस्तासुकै किन नहुन्) स्थान दिने हो भने संगठन सुदृढ र विस्तृत हुन सक्तैन । अर्को कुरा भाषणले मात्र संगठन र देश बन्दैन । एउटा अण्डा दिने कुखुरीले गाउँ थर्काउँछे, तर १०० वटा अण्डा दिने कछुवाको बोली निस्किँदैन । '
भौगोलिक अवस्थिति फरक भए पनि विकास रणनीति, कार्ययोजना, कडा परिश्रम, इमानदारी, लगनशीलता र नेतृत्वका सन्दर्भमा देशैपिच्छे फरक मापदण्ड हुँदैन । तर, हामीले अरू देशले गरेको तरक्कीबाट सिक्न खोजेनौं, यो निकै ठूलो विडम्बना हो । र, अब पनि सुधारको कुनै लक्षण देखिँदैन । देश अन्धाधुन्ध चलिरहेको छ । राजनीतिक दलसँग देश विकासको कार्यसूची, खाका र स्पष्ट लक्ष्य देखिँदैन । तर, यहाँ एक त सत्य बोल्ने व्यक्तिहरू निकै कम छन्, त्यसमाथि सत्य बोल्ने र काम गर्ने व्यक्तिले भीम मल्लको नियति झेल्नुपर्छ ।
हाम्रो सन्दर्भमा कमजोरी कहाँ छ वा कहाँबाट शुरु भयो भन्ने विषयमा एउटा पौराणिक प्रसंगको चर्चा गर्नु उपयुक्त हुनेछ । महाभारतको लडाइँ जितेपछि पाण्डवहरू स्वर्गतर्फ प्रस्थान गरे । उनीहरूसँग युधिष्ठिरको प्रिय कुकुर पनि थियो । एक त कुकुर असाध्य निष्ठावान जनावर हो, त्यसमाथि यूधिष्ठिरको कुकुर अझ निष्ठावान थियो । बाटो विकट थियो, यात्रामा धेरै कठिनाइ थिए । एकपछि अर्का भाइहरू गल्दै र ढल्दै गए । उनीहरू स्वर्ग पुग्न सकेनन् । अन्तिममा यूधिष्ठिर र उनको कुकुर मात्र स्वर्गको मूल ढोकामा पुगे । द्वारपालले ढोका खोलेर भन्यो, 'धर्मराज स्वर्गमा तपाईंलाई स्वागत छ, तर कुकुरलाई निषेध छ । ' धर्मराजले तत्काल प्रतिवाद गरे, 'द्वारपाल मलाई यस कुकुरले ठूल्ठूला विपत्तिहरूमा साथ दिएको छ, त्यसैले यसलाई नलिई त म भित्र पस्न सक्तिनँ । '
अन्त्यमा कुकुरले पनि स्वर्गभित्र प्रवेश पायो । यस्तो प्राचीन, ऐतिहासिक परम्परा र महान सभ्यताबाट हामी दीक्षित हुँदै र त्यसलाई आत्मसात गर्दै आएका हौं । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन हामीलाई साथ दिने असंख्य योद्धा र साथीहरू थिए र छन् । अप्ठ्यारो, संकट र दुःखमा साथ दिने साथीहरूलाई सत्तामा पुगेपछि हामीले सझ्यौं त ? जाबो कुकुरलाई पनि धर्मराजले उसको निष्ठा सम्झेर सँगै लान खोजे र अन्ततः स्वर्ग पुर्याइछाडे । हामी त यति कृतघ्न भयौं कि सत्ताको स्वर्गमा आफू पुगेपछि दुःखको साथीलाई चटक्कै बिर्स्यौं । सुखको स्वर्ग पुर्याउने साथीलाई कुकुर जति पनि महत्त्व पनि दिएनौं । हामीलाई त नयाँ कमाराहरू चाहियो र सधैंभरी गुणगान गाउने भजनमण्डली चाहियो । देशभित्र रहेका अरू योग्य मान्छे सम्झिने र खोज्ने कुरा त परै जाओस्, बीपीले योजना कुरा २०३६ सालको जनमत संग्रहका दौरान टुँडिखेल सम्बोधनमा नै औंल्याउनु भएको थियो । आजको दुरावस्था यसैको परिणाम हो ।
व्यक्ति वा कुनै पनि संस्था आफैंमा पूर्ण हुँदैन । यसका लागि अरूको साथ वा पृष्ठपोषण चाहिन्छ । दुनियाँका महान र शक्तिशाली व्यक्ति वा संस्थाहरू सामूहिक योग्यताका परिणाम हुन् । व्यक्ति पनि सुयोग्य समूहको साथ/सहयोगको सफल परिणाम हो । यस सत्यलाई कसैले नकार्न सक्तैन । अझ राजनीतिक दल त समग्र समाजको नेता हो । यसले त कदमकदममा सामाजिक स्वीकृति प्राप्त गर्न सक्नुपर्छ । र, सबैलाई उनीहरूको योग्यताबमोजिम राष्ट्र निर्माण र सामाजिक उत्थानमा सरिक गराउँदै लैजानुपर्छ । सबैलाई थाहा छ, सत्तासँग शक्ति र स्रोतको उपलब्धता हुन्छ । त्यसको सञ्चालन र परिचालनका लागि सुव्यवस्थित प्रणाली चाहिन्छ । यसलाई चलाउन योग्य व्यक्तिहरूको समूह चाहिन्छ । स्रोत, अधिकार र शक्ति भएर मात्र पुग्दैन, सीप, इमान र कौशल पनि चाहिन्छ । तर, हाम्रो विडम्बना के छ भने सत्तामा पुगेको व्यक्तिले आफूलाई सर्वज्ञ ठान्छ र कुरा यहीँ बिग्रन्छ । अवसर र साधनले उसलाई एकोहोरो एवं उन्मादी बनाइदिन्छ र उसले आफ्नो जिम्मेवारी एवं कर्तव्य बिर्सन्छ । अर्कोतिर आफूलाई मत दिएर महत्त्वपूर्ण स्थान दिलाउने मतदातालाई उल्लु ठान्दछ । योभन्दा चरम मुर्खता अरू के हुन सक्छ ?
पहिलो कुरा त यो देश सबैको साझा हो, कसैको निजी जमिन्दारी होइन । एउटा निश्चित भूगोलमा बसोबास गर्ने बासिन्दाका लागि नै देश निर्माण वा गठन भएको हो । त्यहाँका सबै बासिन्दा मिलेर नै कानून व्यवस्थाको प्रबन्ध गरेका हुन् । इतिहासको विकासक्रममा धेरै राजनीतिक प्रणालीहरूको प्रयोगपश्चात् अहिले पछिल्लो प्रयोग चलिरहेको छ । अब सँधाका लागि यो नै अन्तिम प्रयोग भन्ने पनि छैन । मानव सभ्यताले यो भन्दा उत्तम प्रणालीहरूको विकास वा प्रतिपादन पनि गर्न सक्छ । त्यसैले यसलाई जडसुत्र मान्नु हुँदैन । तथापि हाललाई हामीसँग यो भन्दा राम्रो विकल्प पनि छैन । तर, यसलाई चलाउने कसरी ? के हामीले यसलाई ठीकसँग चलाइरहेका छौं त ?
हामीजस्तै पिछडिएका देशहरू अहिले कहाँ पुगे ? उनीहरूले गरेको प्रगति देखेर हामीलाई छट्पटी हुँदैन ? जनताले दैनन्दिन भोगेको सास्ती र पीडा देखेर मन पोल्दैन ? हाम्रो ध्यान केमा छ ? आफूले प्राप्त गर्ने पद प्रतिष्ठा नै राजनीतिको साध्य हो र ? अब पनि यस विषयमा सार्थक बहस नगर्ने त ? के अझै बिग्रन पुगेको छैन ? सिमान्तमा बसेका नेपालीहरू आफ्नो कहालीलाग्दो वर्तमान भोग्दैछन् र त्रासदीपूर्ण भविष्य देखिरहेका छन् । सीमापारि बसेका नेपालीहरू कुनै क्षेत्र नसप्रिएको हेरिरहेका छन् । हामी थाहा पाएर पनि थाहा नपाएजस्तो गरिरहेका छौं किनकि हामीलाई हाम्रो क्षुद्र स्वार्थले यसरी थिचेको छ कि हामी अरूको बारेमा सोच्नै नसक्ने भएका छौं । आखिर यस्तो कहिलेसम्म ? जनताको रगत/पसिनामा बाँचेर तिनै जनतालाई बेवास्ता गर्ने अधिकार हामीलाई कसले दियो ?
हामीले धेरै टाढा जानु पर्दैन । साँध जोडिएका दुवै मित्रराष्ट्र भारत र चीन हाम्रा लागि काफी छन् । अमेरिका, जापान, बेलायतलगायतका देशहरू हाम्रा शुभचिन्तक हुन् । उनीहरूबाट बेलाबेलामा सहयोग प्राप्त हुँदै आएको छ । यसलाई निरन्तर कायम राख्न र अझ बढाउन प्रयत्न जारी राख्नुपर्छ ।
नेपालीमा एउटा प्रचलित भनाइ छ, 'निर्धाले जोसुकैसँग जोरी खोज्नु हुँदैन ।' देशको हकमा पनि यो भनाइ लागू हुन्छ । भारत केही वर्षभित्र विश्वको तेस्रो महाशक्ति बन्ने दौडमा छ । चीन दोस्रो त छँदैछ । यी दुवै राष्ट्रसँग हामीले सुमधुर सम्बन्ध राख्न सक्नुपर्छ र नेपालको उन्नतिका लागि सहायक बनाउन सक्नुपर्छ ।
हामीहरू एउटा मनोरोगबाट ग्रस्त छौं । आफ्नो (देशको होइन) फाइदाका लागि जोसुकैसँग लम्पसार पर्ने र एउटालाई रिझाउन अर्कालाई गाली गर्ने प्रवृत्ति छ । हामी लम्पसार किन पर्ने र गाली पनि किन गर्ने ? यी दुवै प्रवृत्ति नेपाल र नेपालीको हितमा पटक्कै छैनन् । हामी असंलग्न परराष्ट्र नीतिमा चलेको वर्षौं भयो । हामीले समदूरी र समभावको सम्बन्ध निभाउनुपर्छ । केही भौगोलिक, सांस्कृतिक, सामाजिक र धार्मिक पक्षहरूले द्विपक्षीय सम्बन्धमा १९/२० बनाएकै छ ।
यो विशिष्टतालाई सबैले स्वीकार गरेकै छन् । तसर्थ राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दु बनाएर दुवैको आन्तरिक मामिलामा निरपेक्ष रहँदै तटस्थताको नीति अपनाउनु हाम्रा लागि श्रेयस्कर छ । युरोपको भूपरिवेष्ठित देश स्विट्जरल्यान्डले यही नीति अपनाएर आफ्नो देशलाई विश्वको समृद्ध देश बनाएको हामी सबैलाई थाहा छ । तर हामी भने बिल्कुलै गलत बाटोमा हिँडेर सही गन्तव्य अर्थात् नेपालको हित र समृद्धि खोज्दैछौं । यथास्थितिमा यो सम्भव छैन । त्यसैले हामीले नीतिगत रूपमा तटस्थता, विकासका निम्ति स्वाभाविक योजना, सुयोग्य जनशक्ति, कडा परिश्रम र लगनशील बाटो हिँड्न सक्नुपर्छ । आजसम्म हामीमा यस्तो चेत पलाएको छैन । दुःखको कुरा त न हामीले आफैं गर्न जानेका छौं, न अरूबाट सिक्न खोजेका छौं ।
थोमस जेफर्सनले भनेजस्तो यसपटकको ४२औं बीपी स्मृति दिवसमा हामी जिम्मेवार सदस्यहरूले खाली दिमागले सोचौं– विगतमा के राम्रो गर्यौं र के बिगार्यौं ? र, यही अवसरमा हामी सबैले सुध्रिने संकल्प पनि गरौं र अघि बढौं । अनि मात्र बीपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।