२० असार २०८३, शनिबार

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, २०८१
बुटवल
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार एमाले संसदीय दलको उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री हुने व्यवस्था यस उपधारामा छ ।

उनी नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

आचार्यले सोमबार नै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनले ५६ जना सांसदको हस्ताक्षर बुझाएका थिए ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै प्रदेशमा पनि समीकरण परिवर्तन भएको हो ।

एमालेबाट संसदीय दलको नेता लीला गिरी मुख्यमन्त्री बन्ने चर्चा भए पनि अन्तिममा पार्टीले आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महराले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त आचार्य लामो समय अर्घाखाँचीमा राजनीति गरेका नेता हुन् । २०७९ सालको चुनावमा उनी अर्घाखाँची १ (१) निर्वाचित बनेका थिए ।

प्रदेशसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७४० मतान्तरले पराजित गर्दै उनी विजयी भएका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्