१४ असार २०८३, आइतबार
सरकारी सेवामा सफलता

निजामतीमा पर्शुरामको छलाङ : खरिदारबाट प्रवेश, अधिकृत भएको १० वर्षपछि ‘नम्बर वान’

साउन १२, २०८१
बुटवल
निजामतीमा पर्शुरामको छलाङ : खरिदारबाट प्रवेश, अधिकृत भएको १० वर्षपछि ‘नम्बर वान’

लोकसेवा आयोगले विसं २०८०–८१ मा सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा खुला प्रतिस्पर्धाका लागि विज्ञापन खुलाएको थियो । जसमा पर्शुराम पोखरेलले एक नम्बरमा नाम निकालेका छन् । 

पर्शुरामले १ हजार ६६५ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै आफूलाई ‘टपर’मा दर्ज गरे । लोकसेवाको परीक्षालाई कठिन मानिन्छ । त्यसमा पनि ‘टपर’ भएर निस्किएपछि परशुरामले अहिले वाहवाही पाइरहेका छन् । ६ जनाको कोटामा एक नम्बरमा सिफारिस भएका उनको नियुक्ति हुन भने बाँकी छ । 

पर्शुराम २०६७ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए । १४ वर्षपछि उनले एक नम्बर उपसचिवमा मारेको छलाङ अनुकरणीय रहेको उनका सहकर्मीहरू बताउँछन् ।

पर्शुरामले सेवा प्रवेशको तीन वर्षपछि २०६९ मा नायव सुब्बा (नासु) र २०७० मा अधिकृत (अफिसर)मा लगातार नाम निकाले । त्यसपछि आफूलाई सेवामा ‘अपग्रेड’ गराउँदै लगेका हुन् । अधिकृत भएको १० वर्षपछि ‘नम्बर वान’मा उपसचिव बन्न सफल भएका उनी कार्यस्थलमा गर्नुपर्ने कामका लागि आफू उत्साहित भएको बताउँछन् ।

पछिल्लो समय गुल्मी स्याङ्जापछि निजामती सेवाका लागि उर्वर भूमिका रूपमा चिनिन थालेको छ । पर्शुराम गुल्मीको रेसुङ्गा नगरपालिका–१४ पराल्मी​​का हुन् । ​

null

कृषिमा आश्रित विपन्न परिवारमा जन्मिएका उनलाई निजामतीको बाह्य वातावरणले तानेको हो । ‘मलाई कसैले पनि निजामती सेवाको बाटो देखाएर यहाँसम्म आएको होइन,’ उनी भन्छन्, ‘मेरो परिवार र नजिकका आफन्त कोही पनि निजामती सेवामा थिएनन् । यद्यपि समाजमा लोकसेवाप्रतिको आकर्षण महसुस गरेँ । त्यहीबाट प्रभावित भएर अहिलेको अवस्थासम्म आइपुगेको हुँ ।’

राजनीतिक र प्रशासनिक क्षेत्रप्रतिको चेतनाले पनि आफूमा निजामती क्षेत्रमा लाग्न रुचि पैदा भएको पर्शुराम बताउँछन् । ‘सार्वजनिक सेवाप्रतिको मोह र उत्साह, राजनीतिक र प्रशासनिक क्षेत्रप्रतिको चेतनाले यो क्षेत्रमा लाग्न रुचि पैदा गर्यो,’ उनी थप्छन् ।

पर्शुराम विद्यालयस्तरीय ‘जनरल नलेज’ (जीके) र सामान्य ज्ञानमा विभिन्न विद्यालयस्तरीय प्रतिस्पर्धामा प्रथम हुन्थे । उनले आधारभूत तह तत्कालीन जनविकास प्राविमा पढेँ । नेपाल राष्ट्रिय मावि, इन्द्रेगौँडाबाट तत्कालीन एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरे । त्यसपछि उनी उच्च शिक्षा अध्ययन गर्न रूपन्देहीको भैरहवा बहुमुखी क्याम्पस पुगे । त्यहाँ उनले मुख्य विषय अंग्रेजी लिएर आईए पढे । नियमित रूपमा प्रवीणता प्रमाणपत्र तह उत्तीण गरेपछि स्नातक तह पढ्न उनी काठमाडौंको रत्नराज्य (आरआर) क्याम्पस पुगे । 

स्नातक उत्तीर्णपछि पर्शुरामले त्यहीबाट २०६७ मा सामाजशास्त्र–मानवशास्त्रमा स्नातकोत्तर गरी पढाइ पूरा गरे । त्यसपछि लगत्तै लोकसेवा पढ्न थाले । नेपालको राजनीति, समाज र संस्कृतिलाई नजिकबाट नियाल्ने रुचि उनमा थियो । जसले उनको ज्ञान र सोचलाई विस्तार गर्‍यो । त्यहीबेला बाहिर हुने लोकसेवाको चर्चाले उनमा अझै रुचि झनै बढ्यो । ‘त्यसपछि मेहनतलाई अझै बढाएँ,’ उनी भन्छन्, ‘किताबी ज्ञानमात्र केन्द्रित नभएर समसामयिक विषयवस्तुमा पनि ज्ञान बढाए । साथीभाइको भेटघाट कम गर्न थालँे । अध्ययनलाई बढाएँ । अनि पढ्न थालेको वर्ष दिनमै नाम निकाल्न सफल भएँ ।’ लोकसेवा दिँदा आफूले अहिलेसम्म कुनै तयारी कक्षा (ट्युसन वा कोचिङ) नपढेको उनी बताउँछन् । 

लोकसेवामा नाम निकालेपछि पनि पर्शुरामले ज्ञानको दायरा फराकिलो गर्ने कामलाई कायमै राखे । स्वअध्ययन गरी राजनीति शास्त्र र जनप्रशासनमा पनि स्नातकोत्तर गरे । उनले आफूलाई तीन विषयको ‘डिग्री होल्डर’ बनाउँदै ज्ञान अध्ययनको दायरा फराकिलो बनाएका हुन् । यसअघि उनले समाजशास्त्र–मानवशास्त्रमा स्नातकोत्तर गरेका थिए । एसएलसीपछि गाउँमा तीन महिना बोर्डिङ स्कूल पढाएको, स्नातक तह पढ्दै काम गर्दै गरेको र केही समय मिडियामा काम गरेको अनुभव पनि उपसचिव पर्शुरामसँग छ । 

पर्शुरामका तीन दिदीबहिनी छन् । बुवा टोपलाल र आमा दिल्लीकुमारीले चार सन्तानलाई दुःख गरेर पढाए । छोराको प्रगति देखेर अहिले टोपलाल र दिल्लीकुमारीको खुसीको सीमा छैन । 

null

नेपाली समाज, संस्कृति र शासन प्रणाली कस्तो बनाउने भन्नेमा निजामती कर्मचारीको अहम भूमिका हुन्छ । त्यसमा उपसचिव पद नीति निर्माण तहमा प्रत्यक्ष संलग्नता, निर्णय प्रक्रिया र निर्माणमा बसेर काम गर्ने भएकोले आफ्नो क्षमता व्यवसायिकता र दक्षता प्रयोग गर्ने अधिकार राख्दछ । राजनीति र प्रशासनमा सीमा रेखा कोरेर दुवैलाई स्वच्छ र पारदर्शी बनाउनुपर्ने बनाउनुपर्ने पर्शुरामको सुझाव छ । ‘अहिले राजनीति र प्रशासनप्रति विश्वास गर्न नसक्ने कर्मचारी व्यावसायिकताबाट विचलन हुनसक्ने हुँदा समग्र सेवाप्रति नै गलत दृष्टि उत्पन्न हुँदै गएको छ,’ पर्शुराम भन्छन्, ‘त्यसैले निष्पक्ष, पारदर्शी र उत्तरदायी कर्मचारी तन्त्रको विकास गर्नु अहिलेको आवश्यकता हो ।’ 

निजामती कर्मचारीले ‘ग्रासरुट’मा रहेका जनतालाई सरकारसँग प्रतिनिधित्व गराउने पुलको काम गर्छ । त्यसैले यसको दायित्व सेवा प्रवाहमा अझै बढी हुँदै गएको कर्मचारीहरू बताउँछन् । आफ्नो सेवाको उच्च तहमा पुग्ने अभिलाषा र चाहना  स्वभाविकै रहेको पर्शुराम बताउँछन् । त्यसलाई मध्यनगर गर्दै उनी उच्च पद (मुख्यसचिव) मा पुग्ने लक्ष्य राख्छन् । ‘त्यसका लागि काम, समय र कार्यसम्पादन सही हुनुपर्छ,’ उनी भन्छन्, ‘सो क्षेत्रमा पुग्नसमेत विगतको कार्य अनुभवले भावी कार्यदिशा कोर्न सजिलो हुन्छ ।’ 

निजामती प्रशासनलाई दक्ष र स्वचालित बनाउन सरकार लागिपर्नु पर्ने पर्शुराम बताउँछन् । ‘प्रशासन राज्य प्रणाली बलियो बनाउने खम्बा हो । निजामती राष्ट्र निर्माणको सेतु हो । देश विकासको आधार र परिवर्तनका लागि कर्मचारी नागरिकको सेवामा खुला रूपमा सर्मपित हुनुपर्छ,’ उनी भन्छन् । 

पर्शुराम लोकसेवामा लाग्न चाहनेलाई आत्मविश्वासलाई वृद्धि गराउँदै परीक्षामा उत्रन सुझाव दिन्छन् । ‘लोकसेवाको तयारी गर्नेले नियमित अध्ययन, लेखाइको अभ्यास र नाम निलेकासँग छलफल गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘पढाइका आवश्यक सामग्रीमा विशेष ध्यान, सरकारी विभिन्न प्रतिवेदनको अध्ययन, सबै चरणका परीक्षा सन्तुलनका साथ प्रस्तुत गर्ने र पत्रपत्रिकाको पनि नियमित अध्ययन गर्नुपर्छ ।’ साथै उनी सन्तुलित लेखाइ र तत्थपरक विश्लेषण, विषयवस्तुको सही छनोट र आफैंप्रतिको आत्मविश्वासलाई वृद्धि गराउँदै लैजान आयोग तयारी गर्नेलाई पर्शुरामको सुझाव दिन्छन् ।

लोकसेवाका पढाइ आफैँमा कठिन र चुनौतीपूर्ण भएपनि आत्मविश्वास, लगनशीलता, नियमित अध्ययन र अभ्यासले सफलता प्राप्त गर्न सकिने पर्शुरामको निष्कर्ष छ ।

salt training

कमेन्ट गर्नुहोस्