क्षेत्रीय द्वन्द्वका कारण मध्यपूर्व थप अस्थीरताको भुमरीमा फसेको छ । जुलाईको अन्त्यतिर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका भ्रमण गरेका थिए ।
अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै उनले लेबनानी शिया समूह हिजबुल्लाहमाथि पूर्ण सैन्य कारबाही गर्ने तयारी गरेको संकेत गरे ।
त्यतिबेलै देखि मध्यपूर्वमा थप मानवीय संकट आउनसक्ने अनुमान गरिएको थियो ।
इजरायली प्रधानमन्त्री नेतन्याहू स्वदेश नफर्किँदै जुलाई २७ मा इजरायलको कब्जामा रहेको गोलान हाइट्सस्थित मजदल शाम्सको एक फुटबल मैदानमा रकेट खस्यो ।
उक्त रकेट आक्रमणमा परी १२ बालबालिकाको मृत्यु भयो भने अन्य ६० जना घाइते भए । यो घटनापछि नेतन्याहू इजरायल फर्किए ।
इजरायलले उक्त रकेट हिजबूल्लाहले प्रहार गरेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिरोध गर्ने बतायो । हिजबुल्लाहले भने आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएको थियो ।
लेबनानी अधिकारीहरूले उक्त रकेट इजरायलकै हो भनेर दाबी गरे । रकेट आक्रमणलाई इरानले इजरायलकै योजना (सजाइएको नाटक) भएको आरोप लगायो ।
घटनाहरू योजनाबद्धजस्तो देखिएपनि कसले आक्रमण गर्यो भन्ने पुष्टि गर्न लगभग असम्भव थियो ।
इजरायली डिफेन्स फोर्सले जुलाई ३० को साँझ लेबनानको राजधानी बेरुतको बाहिरी इलाकामा आक्रमण शुरू गर्यो । उक्त आक्रमणमा हिजबुल्लाहका सैन्य नेता फुअद शुकरको मृत्यु भयो ।
शुकरकै नेतृत्वमा मजदल शाम्समा आक्रमण गरेको आरोप इजरायलले लगाएको थियो ।
बेरुतको बाहिरी इलाकामा इजरायलले गरेको आक्रमणमा ७५ भन्दा बढी मानिसहरू घाइते भए । १० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यही वर्षको शुरूआतमा इजरायली आक्रमणमा परेर हमासको राजनीतिक ब्यूरोका उपप्रमुख सालेह अल-अरौरीको मृत्यु भएको थियो ।
अहिले हिजबुल्लाहका महासचिव हसन नसरल्लाहका प्रमुख शुकरको मृत्युले त्यस क्षेत्रमा थप तनाव बढाएको छ । इजरायल-लेबनानबीच पूर्ण युद्ध हुन्छ भनेर अनुमान खासै गरिएको छैन, तर तनाव बढ्दो स्थितिमा छ ।
हनियेहको हत्या
जुलाई ३१ को रातमा इरानको राजधानी तेहरानमा हमासको राजनीतिक ब्यूरोका प्रमुख इस्माइल हनियेहको हत्या भएको खबरले सबै आश्चर्यमा परे ।
हनियेह नवनिर्वाचित राष्ट्रपति मसउद पेसेश्कियनको शपथ समारोहमा उपस्थित भएका थिए र त्यहाँ उनले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग भेट गरेका थिए ।
भोलिपल्ट हमास अधिकारीहरूले हनियेह तेहरानमा इजरायली आक्रमणमा मारिएको पुष्टि गरे ।
यो घटनाले एउटा निर्णायक मोड सिर्जना गर्यो किनकि हनियेह इजरायल-हमास युद्धमा अमेरिका, इजरायल, इजिप्ट, कतार र हमासबीचको युद्धविराम वार्ताका एक प्रमुख वार्ताकार थिए ।
उनको मृत्यु भएको घटनाले परिस्थिति थप जटिल बनाएको छ । पछिल्लो समय इजरायलमाथि भारी मिसाइल आक्रमण गरेको भए पनि इरान क्षेत्रीय युद्धमा सामेल हुन अनिच्छुक हुँदै आएको छ ।
धेरै देशहरूले हनियेहमाथि गरिएको आक्रमणको निन्दा गरे । इरानी सर्वोच्च नेता खामेनी र राष्ट्रपति पेसेश्कियनले यसलाई 'आपराधिक र आतंकवादी शासन' भन्दै इजरायलमाथि शाब्दिक वर्षा गरे ।
रुसले पनि हनियेहको हत्याको निन्दा गर्दै यसलाई गाजामा युद्धविराम वार्तालाई नकारात्मक रूपमा असर गर्ने कृत्य भनी बयान दियो ।
प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बास र लेबनानी समूह हिजबुल्लाहले समवेदना व्यक्त गरे ।
यमनका हुथी नेताले इजरायलमाथि त्यस क्षेत्रको शान्तिलाई कमजोर पार्ने अपराध गरेको आरोप लगाए ।
चीनले त्यहाँ उत्पन्न हुन लागेको थप सम्भावित अस्थिरतामा चिन्ता व्यक्त गर्यो । इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गरिरहेका कतारका प्रधानमन्त्रीले हत्याले वार्ताको सफलतालाई खतरा पुर्याएको बताए ।
टर्कीले पनि यस आक्रमणको निन्दा गर्दै यो क्षेत्रीय स्तरमा द्वन्द्व फैलाउन लक्षित क्रियाकलाप रहेको बतायो । यतिबेला इजरायली सरकारले त्यस क्षेत्रमा रहेका आफ्ना विरोधीविरुद्ध कडा कदम चालिरहेकोमा कुनै शंका छैन ।
यसका दुईवटा कारणहरू छन्, पहिलो इजरायलले सधैं आफ्नो राष्ट्रिय सुरक्षामा ध्यान दिने गर्छ ।
दोस्रो, प्रधानमन्त्री नेतन्याहूविरुद्ध इजरायलमा आन्तरिक राजनीतिक घेराबन्दी भइरहेको अवस्था छ । यसबाट पार पाउने र आफूलाई सत्तामा राखिरहने प्रमुख साधन युद्ध नै हो भनेर नेतन्याहूले बुझेका छन् ।
गत जुलाई १८ मा इजरायली संसद् (केनेसेट)ले प्यालेस्टाइनी राज्य निर्माणको विरोध गर्दै एक प्रस्ताव पारित गर्यो ।
प्रस्तावमा भनिएको छ, 'इजरायलको केनेसेटले जोर्डन नदीको पश्चिममा प्यालेस्टिनी राज्यको स्थापना गर्ने कुरालाई कडा रूपमा विरोध गर्दछ । इजरायली भूमिको केन्द्रमा यस्तो राज्यको निर्माणले इजरायल राज्य र यसका नागरिकहरूको अस्तित्वलाई खतरा पुर्याउने, इजरायली-प्यालेस्टिनी द्वन्द्वलाई निरन्तरता दिने र क्षेत्रलाई अस्थिर पार्नेछ ।'
नेतन्याहूले लिएका नीतिहरूमाथि जनताको असन्तुष्टि बढिरहेका बेला उनले चलाखीपूर्ण ढंगबाट प्यालेस्टाइनी राज्य निर्माणको विरुद्धमा संसदबाट प्रस्ताव पारित गराएका थिए ।
केही समयअघि प्यालेस्टाइनी राज्य स्थापना गर्ने भन्दै चीनको बेइजिङमा इजरायलीविरोधी गुटहरूबीच सम्झौता भएको थियो । उक्त राज्य र त्यसमा बन्ने सरकारमा हमास र विशेष गरी इस्माइल हनियेहले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने डर इजरायललाई थियो ।
हनियेहलाई हटाएर इजरायलले सबै प्यालेस्टिनी समूहहरूलाई उनीहरूले सामना गर्न सक्ने सम्भावित परिणामहरूको बारेमा सन्देश पठाएको चर्चा इजरायली सञ्चारमाध्यमहरूले नै गरिरहेका छन् ।
यद्यपि नेतन्याहूले लेबनानमा कारबाही शुरू गर्न अमेरिकाबाट पूर्ण अनुमति पाएका छैनन् । उनले इरान र हिजबुल्लाहलाई प्रतिशोधात्मक कारबाहीमा उक्साउने र इजरायली आक्रमणलाई न्यायसंगत ठहर्याउन चाहन्छन् ।
हनियेहको हत्याले लेबनानमा स्थितिलाई थप बिगार्न सक्छ । यसको संकेतका रूपमा इजरायलले बेरुतमा गरेको आक्रमण र त्यसमा मारिएका फुअद शुकरलाई लिए पुग्छ ।
यससँगै हिजबुल्लाह र इरानद्वारा इजरायलविरुद्ध संयुक्त सैन्य कारबाही गर्ने सम्भावना पनि बढेको छ ।
यस स्थितिमा अमेरिकाले पनि इजरायललाई रोक्न पहल गर्ने सम्भावनाको अन्त्य हुन्छ र इजरायललाई सैन्य सहायता जारी राख्न अमेरिका बाध्य हुन्छ ।
अमेरिकाले हनियेहको हत्याका लागि आधिकारिक रूपमा इजरायलको निन्दा गरेको छैन, किनकि अमेरिकाले पहिला इजरायली डिफेन्स फोर्सलाई हमास नेताविरुद्ध ध्यान केन्द्रित गर्न सुझाव दिएको थियो ।