
नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारू चयन भएका छन् ।
नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
संघको २० औं वार्षिक साधारणसभाले आगामी ३ वर्षको लागि मारूलाई अध्यक्षमा चयन गरेको हो ।
अध्यक्षमा निर्वाचित भएपछि मारूले नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालिन तथा अल्पकालीन समस्याहरूको समाधान खोजिने बताए । गुणस्तरीय उत्पादन, बजार व्यवस्थापनजस्ता विषयका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने उनको भनाइ थियो ।
साथै, सम्पूर्ण सिमेन्ट उद्योगीहरूलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुन ढुङ्गा उत्खनन्, वन, विद्युत्, बैंकिङ तथा स्थानीय समस्यालगायत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अघि बढ्ने योजना रहेको उनले बताए ।
संघको २० औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा मारू, निमित्त अध्यक्ष ध्रुव थापा, उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिव राजाराम खड्का र कोषाध्यक्षमा अरुण कर्ण रहेका छन् ।