![तराईबाट एक घण्टामै काठमाडौं [फोटो र भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/fast_track_main_HhfSEjplCy.jpg)
नयाँ–नयाँ प्रविधिको प्रयोग, धरहराजत्रै अग्ला पुलका फाउन्डेसन, अत्याधुनिक अनि प्रविधियुक्त सुरुङमार्ग । चार लेनको भव्य सडक संरचना । नेपालमै पहिलोपटक ८१ मिटर अग्लो फाउन्डेसनसहितका पुलहरू निर्माण हुँदैछन् । यी पुल कतै भीरमा, त कतै खोलाका बीचमा छन् । यो दृश्य निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को हो ।
यस्तो भव्य संरचनाको जगमा बन्दैछ, काठमाडौं–तराई द्रुतमार्ग । निर्माण सकिएपछि मध्यतराईबाट ४ जिल्ला छिचोल्दै संघीय राजधानीको यात्रा एक घण्टामै सम्भव हुनेछ ।

दुई खर्ब ११ अर्ब ९३ करोडको लगानीमा बनिरहेको यस राष्ट्रिय गौरवको आयोजना निर्माणको नेतृत्व नेपाली सेनाले गरेको छ । पेटी ठेकेदारका रूपमा विभिन्न खण्डमा विदेशी कम्पनीहरू पनि कार्यरत छन् ।

नेपालको रणनीतिक महत्त्वको काठमाडौं–तराई द्रुतमार्गको परिमार्जित लम्बाइ ७०.९७७ किलोमिटर छ । चौडाइ भने पहाडी भूभागमा २५ मिटर र तराईको भागमा २७ मिटरको हुनेछ ।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्मको यस सडकमा ६ स्थानमा कुल १०.३०९ किमी लामो सुरुङ बन्नेछ । १२.८८५ किलोमिटरमा साना तथा ठूलागरी ८९ वटा पुल बन्दैछन् ।

एसियाली विकास बैंक (एडीबी) ले सन् २००८ मा अध्ययन गरेपछि २०७० सालमा सेनाको सहयोगमा द्रुतमार्गको ट्रयाक खोलिएका थियो । २१ वैशाख ०७१ मा सरकारले यस द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई सुम्पिएको थियो ।

द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर भने १ भदौ ०७६ मा स्वीकृत भयो । सो मितिबाट साढे ४ वर्ष अर्थात् ०८१ मंसिरसम्ममा निर्माण सक्ने गरी समय तोकिएको थियो । तर, कोरोनाको समयमा काम रोकिएको कारण देखाएपछि सेनाले थप म्याद पायो ।

२०८३ चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी म्याद थप भएको छ । सेनाले ०८३ चैतसम्म निर्माण सम्पन्न हुने आधार, लागतको मूल्यांकन तथा डीपीआर संशोधन नहुने प्रतिबद्धता जनाएको रक्षा मन्त्रालयले जनाएको छ ।
द्रुतमार्गमा बन्दै गरेका ६ वटा सुरुङ मार्गमध्ये मकवानपुरको लेनडाँडा र धेद्रेस्थित सुरुङमार्गको दुवैतर्फ ‘ब्रेक थ्रू’ भइसकेको छ । सोमवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको धेद्रेमा काठमाडौंबाट निजगढतर्फ जाने सुरुङ ‘ब्रेक थ्रू गरेका छन् ।
नेपाली सेनाले समग्र आयोजनालाई विभिन्न १३ क्लस्टरमा छुट्याएर काम अघि बढाएको थियो । प्याकेज ८ र ९ लाई ‘क’ र ‘ख’ खण्ड छुट्याएर कुल १३ प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।
प्याकेज नम्बर ११ मा पर्ने ललितपुरको खोकनामा भने जग्गा अधिग्रहण नै हुन सकेको छैन । त्यस क्षेत्रमा बस्तीलाई ठूलो असर गर्ने भन्दै स्थानीय अझै पनि विरोधमा छन् । उनीहरूले तोकिएभन्दा बढी मुआब्जा मागेका छन् । खोकनामा मात्रै करिब ४ सय रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ ।
खोकनाबाहेक आयोजनाको १३ प्याकेजमध्ये १२ वटा प्याकेजमा विभिन्न चरणमा काम भइरहेको छ । खोकनाले आयोजनाको ६.५ किलोमिटर समेट्छ ।

उक्त क्षेत्रमा द्रुतमार्गको शुरू बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहणलाई लिएर विवाद जारी छ, जसकारण खोकना क्षेत्रमा आयोजनाको खरिद प्रक्रियाबारे टुंगो छैन । सरकारले खोकना क्षेत्रको समस्याहरूलाई छिट्टै टुङ्गो लगाइदिने अपेक्षा नेपाली सेनाको छ ।
यता सरकारले पनि द्रुतमार्गमा आइपर्ने सबैखाले समस्या समाधान गर्न प्रतिबद्धता व्यक्त गर्दै आएको छ, तर करिब एक दशकसम्म पनि खोकना विवाद समाधान हुन सकेको छैन ।
एसियाली राजमार्गको मापदण्डअनुसार निर्माण भइरहेको द्रुतमार्गमा यी ६ स्थानमा बन्नेछन् सुरुङमार्गः
देवीचौर: १ किलोमिटर,
सिसौटार: ०.३९ किलोमिटर
चन्द्राम भीर: २.२५ किलोमिटर
महादेव डाँडा: ३.३५५ किलोमिटर
धेद्रे: १.६९१ किलोमिटर
लेनडाँडा: १.६२३ किलोमिटर
कूल लम्बाइ: १०.३०९ किलोमिटर

महादेवडाँडा, धेद्रे र लेनडाँडामा सुरुङ निर्माण जारी छ भने बाँकी तीनवटा अध्ययन तथा डीपीआरको चरणमा रहेको दाबी नेपाली सेनाको छ ।

पछिल्लो परिमार्जित म्यादअनुसार नेपाली सेनाले २०८३ चैत्र मसान्तसम्म काम सक्नुपर्नेछ । प्रधानसेनापति शर्माले सोमबार धेद्रे सुरुङमार्गको ‘ब्रेक थ्रू’ समारोहमा समयसीमाभित्रै निर्माण सम्पन्न गर्ने दोहोर्याएका छन् । तर, हालसम्म आयोजनाको भौतिक प्रगति ३५.३८ प्रतिशत मात्रै छ । यस हिसाबले नेपाली सेनाले तोकिएको समयमै काम सक्नेमा भने आशंका छ ।
हेरौं भिडियोः