
करिब ३ वर्षपछि नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको छ ।
बिहीबार ४३.०५ अंकले बढेर नेप्से ३०००.८१ बिन्दुमा कायम भएको हो । कारोबार रकमले पुन: नयाँ कीर्तिमानी कायम गरेको छ ।
साताको अन्तिम कारोबारका दिन बजारमा ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर खरिदबिक्री हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ, जुन इतिहासकै सर्वाधिक कारोबार हो ।
यसअघि गत सोमबार ७०.८१ अंकले बढेको बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो । उक्त रेकर्ड आज तोडिएको छ ।
कारोबारमा आएका १४३ कम्पनीहरूमध्ये १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ कम्पनीको शेयर मूल्य घटेको छ । एक कम्पनीको मूल्य यथावत छ ।
यस दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यो साता यस्तो रह्यो कारोबार
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६० को बिन्दुमा कायम भएको थियो, जहाँ ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयरको खरिदबिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ७०.८१ अंकले बढेर बन्द भयो । यस दिन बजारमा २७ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो ।
मंगलवार नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा कायम भएको थियो । यस दिन बजारमा ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयरको खरिदबिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधवार ४३.२९ अंकले बढेको नेप्से परिसूचक २९५७.७५ को बिन्दुमा कायम भएको थियो, जहाँ २३ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको थियो ।
त्यसैगरी साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ को बिन्दुमा कायम भएको छ ।
बजारमा ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयरको खरिदबिक्री हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ, जुन शेयर बजार इतिहासकै सर्वाधिक कारोबार हो ।