०७ असार २०८३, आइतबार

तनहुँमा डेङ्गु सङ्क्रमितको संख्या १ हजार नाघ्यो

भदौ १, २०८१
तनहुँ
तनहुँमा डेङ्गु सङ्क्रमितको संख्या १ हजार नाघ्यो

तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै यहाँ एक सय आठजनामा सङ्क्रमण देखिएको र कुल सङ्क्रमितमध्ये आठ सय १३ जना आँबुखैरेनी गाउँपालिकामा रहेका जानकारी दिए ।

यस्तै व्यास नगरपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा एक सय २०, भिमाद नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा सात र बन्दीपुर गाउँपालिकामा ५१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको उनले बताए ।​

डेङ्गु सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको छ ।

आँबुखैरेनी गाउँपालिका–३ का विभिन्न टोलमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजी गरी नष्ट गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले डेङ्गु सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

यहाँ आँबुखैरेनी अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने निर्णय गरेकाले समयमै स्वास्थ्य परीक्षण गराउन पनि उनले आग्रह गरे ।

'गरिब तथा आर्थिक रूपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता, सहाराविहीन अशक्त एवं अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा ब्यहोरिने निर्णय भएको छ,' अध्यक्ष चुमानले भने ।

कमेन्ट गर्नुहोस्