२८ जेठ २०८३, बिहीबार

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

भदौ ६, २०८१
कैलाली
जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

कैलालीको चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य हुने गरेका हुन् । 

कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । 

विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताए । उनले भने, 'कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता छ । ठूलो पानी पर्नेवित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।'

गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भए पनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताए । 

चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्